जनकपुरधाममा विवाह पञ्चमी रौनकः हजारौं सुरक्षाकर्मी परिचालन गर्ने तयारी, ड्रोनबाट पनि निगरानी


जनकपुरधाम । त्रेतायुगमा भगवान राम र आदर्श नारी सीताबीच भएको विवाहको सम्झनामा जनकपुरधाममा हरेक वर्ष भव्यताका साथ विवाह पञ्चमी महोत्सवको रुपमा मनाइछ । साताव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज तेस्रो दिन धनुष यज्ञ गरिँदैछ ।
आज दिउँसो ४ बजेबाट धनुष यज्ञ सुरु हुने जानकी मन्दिरका सहायक महन्थ रामरोषण दास ‘वैष्णव’ले जानकारी दिए । उनका अनुसार धनुष यज्ञमा राम–सीताको धनुष लीला प्रतिकात्मक रूपमा देखाइने छ । भगवान रामको प्रतिकको रूपमा रहने बालकले धनुष तोड्ने छन् ।
त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाम थियो । यहाँका राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेको शिव धनुषलाई राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन विवाह भएको रामायण ग्रन्थमा उल्लेख छ । त्यसकै सम्झनामा विवाह पञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ मनाउँदै आएको छ ।
विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलोदिन नगर दर्शन र दोस्रो दिन फूलवारी लीला सम्पन्न भइरहेको छ । भगवान राम पहिलो पटक मिथिला आएको सम्झनामा नगर दर्शन र सितालाई फूलवारीमा भेटेको सम्झनामा फूलवारी लीला मनाउने चलन छ ।
चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर र छैटौं दिन अर्थात् पुस १ मा सीता–रामको विवाह मनाउने तयारी गरिएको छ । पुस २ मा रामकलेवा पश्चात विवाह पञ्चमी विधिवत सम्पन्न हुन्छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ३६ व्यञ्जन खुवाएर विदाई गर्नुलाई ‘राम कलेवा’ भनिन्छ ।
पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र श्रद्धालुद्वारा स्वागत गरिन्छ । साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्याइएको मण्डपद्वारा पाँच पटक परिक्रमा गराएर श्रीरामलाई पुष्पहार अर्पण गरिन्छ ।
राम मन्दिरबाट पुगेको मण्डपबाट महन्तले जानकी (सीता) जीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राम मन्दिर फर्कने गर्दछ । त्यसै रात मिथिला परम्परा(अनुसार भगवान् राम र माता सीताको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।
‘नगर दर्शन’सँगै विवाह पञ्चमी सुरु भएकाले जनकपुरधाममा साधुसन्त तथा श्रद्धालु आउने क्रम सुरु भएको छ । आज धनुष यज्ञमा पनि हजारौं श्रद्धालु सहभागी हुनेछन् । विवाहपञ्चमीको मुख्यदिन सीता–राम विवाह समारोहमा लाखौं श्रद्धालु सहभागी हुन्छन् ।
श्रद्धालुको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी परिचालन गर्ने तयारी
विवाह पञ्चमीको मुख्य दिन सीता–राम सांकेतिक विवाह समारोहमा श्रद्धालुको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाले तयारी गरेको छ ।
विवाह पञ्चमीको मुख्यदिन नेपाल प्रहरीका १२ सय, सशस्त्र प्रहरीका साढे ६ सय र सयौं ट्राफिक प्रहरी समेत परिचालन हुनेछन् । यसबाहेक स्वयंमसेवकहरु समेत खटिनेछन् ।
धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले महोत्सवमा अभद्रव्यवहार, चोरी,पाकेटमारी जस्ता अपराधिक घटना हुन नदिन ६ सयको हाराहारीमा बाहिरबाट सुरक्षाकर्मी बोलाएको र साढे ६ सय यहाँका प्रहरी परिचालन हुने जानकारीदिए । सुरक्षाकर्मीसँगै ड्रोन र सिसिटिभी क्यामेराबाट समेत निगरानी गर्ने योजना बनाएको उनले सुनाए ।
उनले नेपालप्रेससँग भने, ‘बजारमा डेढसय जति सिसिटिभी क्यामेरा छदैछ । कतिपय बिग्रेकालाई मर्मत गराउँदैछौं । थप ४२ वटा सिसिटिभी क्यामेरा जडान हुँदैछ ।’ ड्रोनको संख्या अहिले भन्न नसकिने तर अत्यधिक भिडभाड हुने ठाउँहरुमा ड्रोन क्यामेराले निगरानी गर्ने उनको भनाई छ ।
भीडभाडमा विगतमा पाकेटमारीका कैयौं घटना भएका छन् । त्यसैले पाकेटमारी हुन नदिन एक सय बढी सादा पोशाकका प्रहरी परिचालन गर्ने एसपी शर्माको योजना छ । उनी भन्छन्, ‘भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु आउँछन् । त्यसैले सिमा क्षेत्रदेखि जनकपुरधामसँग ठाउँ ठाउँमा चेकजाँच गर्ने व्यवस्था मिलाएका छौं ।’
शौचालय, खानेपानी र आवासको अभाव हुने चिन्ता
विवाह पञ्चमीको मुख्यदिन लाखौं श्रद्धालु जनकपुरधाम आउने भएकाले हरेक वर्ष शौचालय, खानेपानी र आवासको अभाव हुने गर्छ । यसवर्ष बारह् विघा मैदानमा ५० वटा, मणिमण्डपमा १० वटा, कभर्ड हल नजिकै १० वटा र बसपार्कमा पनि १० वटा अस्थायी शौचालय निर्माण गरिएको छ । यद्दपी अभाव हुने देखिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग बाणिज्य संघ, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र विभिन्न संघसंस्थाले शौचालय, खानेपानी र आवासको व्यवस्थापन गर्दै आएको छ । तर जति शौचालय बनाउँदा पनि पर्यात हुँदैन । हरेक वर्ष श्रद्धालुहरु खानेपानी र आवासको पनि समस्या झेल्छन् ।
जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले श्रद्धालुलाई समस्या हुन नदिन आ–आफ्नो शौचालय विवाह पञ्चमीको दिन खुल्ला र निःशुल्क गरिदिन व्यवसायी र स्थानीयबासीसँग अपिल गरेका छन् ।
उनले भने, ‘विवाह पञ्चमीको दिन करिब २ लाख बढी श्रद्धालु आउने गर्छन् । उनीहरुका लागि सरकारी निकाय र संघसंस्थाबाट शौचालय, खानेपानी र आवासको व्यवस्थापन गर्न सम्भव छैन । त्यसैले सामाजिक दायित्व बुझेर श्रद्धालुलाई शौच गर्न, पानी खान र बस्न समस्या हुन नदिन सबैले आ–आफ्नो स्तरबाट सहयोग गर्न नगरबासी र व्यवसायीहरुसँग अपिल गर्दछु ।’