काठमाडौंमा लागुऔषध कारोबारीविरूद्ध प्रहरीको ‘घुँडामुनि गोली हान्ने मिसन’ – Nepal Press

काठमाडौंमा लागुऔषध कारोबारीविरूद्ध प्रहरीको ‘घुँडामुनि गोली हान्ने मिसन’

काठमाडौं । उदयपुरको गाईघाटका ४० वर्षीय अविनाश राई महँगो मानिने लागुऔषध एम्फेटामाइनका कारोबारी भएको सूचना नेपाल प्रहरीसँग लामो समयदेखि थियो ।

लागुऔषध ओसारपसार तथा सेवन अपराध हेर्ने प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो-एनसीबीका एक अधिकारी भन्छन्, ‘सूचना मात्र थियो, नियन्त्रणमा लिन लागुऔषध पनि बरामद हुनु पर्ने भएकाले सकिरहेका थिएनौँ।‘

उनै राईलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि केही महिनायता प्रयास गरिरहेको थियो । त्यसका लागि विशेष सूत्रमार्फत प्रहरीले कारोबारका लागि डिल गर्‍यो ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार राई कोलकत्तामा बस्ने नेपाली मूलका एक भारतीयसँग मिलेर खास गरी, ट्रान्सपार्टीमा प्रयोग हुने एम्फेटामाइन नेपालमा ल्याएर विक्री गर्ने गर्छन्। ‘राई आफै कोलकत्ता पुगेर लागुऔषध ल्याउने गर्छन् र काठमाडौंमा विक्री गर्छन्’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारी भन्छन् ।

प्रहरीले तिहारअघि नै डीलअनुसारको लागुऔषध नेपाल पठाएको सूचना प्राप्त गरेको थियो। तर त्यो एम्फेटामाइन प्रहरीले पाएन। ‘प्रति ग्राम १२ हजार रुपैयाँमा खरिद गर्ने गरी एम्फेटामाइनको डिल भएको थियो तर त्यतिबेला प्राप्त हुन सकेन’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका ती अनुसन्धान अधिकारी भन्छन् ।

मङ्गलवार प्रहरीको सोही कार्यालयले राईलाई ललितपुरको झम्सिखेलबाट ४ सय ८५ ग्राम एम्फेटामाइनसहित नियन्त्रणमा लियो, घुँडामुनि गोली हानेर।

प्रहरीको दाबीअनुसार राईले आफूसँग भएको पेस्तोल निकालेर फायर गर्न खोजेपछि उनको दायाँ खुट्टामा एक राउन्ड गोली प्रहार गरिएको थियो । राईले प्रति ग्राम ९ हजारमा खरिद गरेर नेपालमा ल्याएर विक्री गर्ने गरेको अनुसन्धान अधिकारी भन्छन्।

राईले ल्याउने गरेको एम्फेटाइमानको प्रयोगकर्ता काठमाडौंका उच्च घरानाका व्यक्तिहरू भएको प्रहरीको दाबी छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकै टोलीले कात्तिकको दोस्रो साता मात्र काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

मोहमद करिम नाम गरेका ती भारतीय नागरिकको पनि खुट्टामा गोली प्रहार भएको थियो । उनको साथबाट २ सय ग्राम ब्राउन सुगर बरामद भएको थियो । उनी भारतबाट ब्राउन सुगर बोकेर काठमाडौं ल्याएर विक्री गर्ने गरेको प्रहरीको दाबी छ।

त्यतिबेला पनि प्रहरीकै टोलीले कारोबारीलाई नियन्त्रणमा लिन पछाडि बसेर ब्राउन सुगर खरिदको डील गरेको ब्युरो स्रोत बताउँछ।

ब्राउन सुगरको बजार मूल्य प्रति ग्राम १० हजारदेखि २० हजार रुपैयाँसम्म पर्ने प्रहरी अधिकारी बताउँछन्। पछिल्ला यी दुई घटनामा गोली हानिएका दुवै व्यक्ती महँगो मानिने लागुऔषधका ठुला कारोबारी भएको दाबी गरिन्छ। उनीहरू दुवै जना सेवनकर्ता भने होइनन्।

‘लागुऔषधमा सामान्यतया प्रयोगकर्ताहरू नै पछि कारोबारीसम्म बन्ने गरेको देखिन्छ। तर राई र करिम दुवै प्रयोगकर्ता होइनन्। उनीहरू कारोबारी मात्र हुन्’,अनुसन्धान अधिकारी भन्छन्।

काठमाडौँ उपत्यकामा हुने ठुला र जघन्य प्रकृतिका अपराधको अनुसन्धान र नियन्त्रणको जिम्मेवारी पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अपराधमा संलग्न भएको आरोप लागेकालाई गोली हान्न अग्रणी मानिन्छ।

सादा पोसाकमा परिचालन हुने प्रहरीका अन्य युनिटहरू गोली हान्न भरसक तयार नभएको विगतले देखाउँछ।

प्राय गुन्डाहरूलाई गोली हानेर चर्चा कमाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय यतिबेला लगातार लागूऔषध कारोबारीलाई गोली प्रहार गरेर चर्चामा छ।

लागुऔषध हेर्ने विशिष्ट युनिट हुँदाहुँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय आफै सक्रियता देखाउनु पछाडि लागुऔषध नियन्त्रण ब्युरोमा केही समय काम गरेका अनुसन्धान अधिकारीहरू अहिले उसको आफ्नो मातहत भएको स्रोत बताउँछ।

यही अनुसन्धान टोली ब्युरोमा रहँदा गत जेठमा सिनामंगलमा गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको थियो। नेपालमा लागुऔषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिने अभ्यास त्यसअघि थिएन।

‘लागुऔषध प्रयोगकर्ताको अवस्था विकराल छ। त्यसमा पनि महँगो मानिने ब्राउन सुगर, एम्फेटामाइनका कारण युवाहरू नमज्जाले फसेका मात्र छैनन्, उनिहरूको परिवार नै बिग्रिएको छ। अहिलेको अवस्थामा भारतबाटै सिधै काठमाडौं ल्याउने र विभिन्न तह हुँदै काठमाडौं ल्याएर विक्री वितरण गर्ने गिरोह सक्रिय भएको देखिन्छ’, लागुऔषध नियन्त्रण ब्युरोका एक अधिकारी भन्छन्।

फेरि गोली चलाएर चर्चामा आएको तत्कालिन ‘अपराध महाशाखा’

विगतमा अपराध महाशाखाको नामले परिचित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असोजको अन्तिम साता पनि गोली चलाएको थियो। नक्कली डलर कारोबारी र सुन लुट्ने गिरोहका सदस्य भनिएका अमर घलानलाई बौद्धमा गोली हानिएको थियो।

उनको पनि खुट्टामा गोली प्रहार भएको थियो। सामान्यतया आत्मरक्षाका लागि प्रहरीले गोली हान्न सक्ने प्रावधान छ। प्रहरीले गोली प्रहार भएका सबै घटनामा आत्मरक्षाका लागि गोली हानिएको र घाइते व्यक्तीबाट पेस्तोल बरामद भएको बताउने गरेको छ। कतिपय घटनामा प्रहरीले नियन्त्रणमै लिएर गोली हानेको भनेर विवादमा पर्ने पनि गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विगतमा गुन्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ र कुमार घैँटेलाई इनकाउन्टर गरेको थियो। भक्तपुरमा बालक अपहरण र हत्याको आरोप लागेका दुई युवकलाई पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इनकाउन्टर गरेको थियो।

त्यसबाहेक काठमाडौं उपत्यकाभित्र प्रहरीले अपराधमा संलग्नमाथी गोली चलाएका अधिकांश घटनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अग्रसर देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर