पहिचानवादीलाई ओलीको प्रश्न- हाम्रो यात्रा गठबन्धनको अयोग्यताविरुद्ध हो, अरु किन तगारो हाल्न आएका ? (भिडिओ) – Nepal Press

पहिचानवादीलाई ओलीको प्रश्न- हाम्रो यात्रा गठबन्धनको अयोग्यताविरुद्ध हो, अरु किन तगारो हाल्न आएका ? (भिडिओ)

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अभियानमा पहिचानवादीहरुले अवरोध गर्ने प्रयास गरेपछि संकल्प यात्रा सत्ता गठबन्धनको अयोग्यताविरुद्ध मात्रै भएका बताएका छन् ।

मध्यपहाडी संकल्प यात्राको क्रममा तेह्रथुममा आयोजित सभालाई सम्बोधन गर्दै गठबन्धनको अयोग्यताविरुद्धको आन्दोलनमा किन तगारो हाल्न आएको भन्दै पहिचानवादीहरूलाई प्रश्न गरे ।

उनले भने, ‘अभियानको क्रममा यतातिर परिस्थिति असहज बनाउँन केही मान्छेहरूले खोजेका छन् । उनीहरूले अरुको विरोध गरेका भन्ने सोचेका होलान् । तर, उनीहरूको आफ्नै विरोध गरिरहेका छन् । उनीहरूले आफ्नो खुट्टामा मात्रै होइन टाउकोमै बञ्चरो हानिरहेका छन् । म उनीहरूलाई भन्न चाहन्छु यो भावनात्मक आवेग र उत्तेजनालाई छाड्नुस् । शान्तिपूर्ण संवादबाट समस्याको समाधान खोज्न सकिन्छ । बाटाको ढुंगामुढा र विरोध प्रदर्शनले समस्या समाधान हुन्छ ? सल्लाका रुख ढालेर बाटो अवरोध गर्ने कुरा नचाहिने हुन् । हामी आफ्नो यात्रामा छौं । यो कसैको विरुद्ध होइन ।’

उनले आफूहरूको अभियान देशको पक्षमा भएको भन्दै विरोधमा उत्रिएका पहिचानवादीहरूलाई पनि बुझ्न आग्रह गरे ।’

उनले कालो झण्डा देखाएर हिंसात्मक र मुठभेडले समस्याको कुनै समाधान ननिस्किने बताए । लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान गनुपर्ने उनको भनाइ छ । उनले एमालेलाई जालझेल गरेर सरकारबाट हटाएको बताए ।

उनले भने, ‘हामी धैर्यता राख्छौं । फेरि पनि जनतामा विश्वास राख्छौं । धैर्यतापूर्ण ढङ्गले हामी अहिलेको गठबन्धनलाई सधैँलाई तोडेर जान्छौं । देशको विकासका लागि वाधक बनेका यसका षड्यन्त्रपूर्णक क्रियाकलापको भण्डाफोर गर्छौँ । जनताको अभिमतबाट संवैधानिक बाटोबाट हामी अगाडि आउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर