६ दशकपछि स्तरोन्नति हुँदै बुटवल पश्चिमको राजमार्ग, समयमै सकिनेमा चिन्ता – Nepal Press

६ दशकपछि स्तरोन्नति हुँदै बुटवल पश्चिमको राजमार्ग, समयमै सकिनेमा चिन्ता

रुपन्देही । निर्माण भएको ६ दशकपछि बुटवल पश्चिमको राजमार्ग स्तरोउन्नति हुने भएको छ । तत्कालीन राजा महेन्द्रको पालामा २०१८ निर्माणको शुभारम्भ गरेको बुटवल–चन्द्रौटा सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो ।

तीन वर्षभित्र काम सम्पन्न हुने गरी ठेक्का लगाउने तयारी भइरहेको बताइएपनि बुटवल–नारायणगढको अस्तव्यस्ताले निर्धारित समयमै काम पूरा हुने आधार नदेखिने यहाँका उपभोक्ताले आशंका गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायण सडक खण्ड बिस्तारको काम निर्धारित समयमा नसकिएर अस्तव्यस्त भएको अवस्थामा बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नतिको काम सुरु हुने भएपछि यो बाटोको प्रयोगकर्ताले तत्काल अझै धेरै सास्ती बेहोर्नुपर्ने चिन्ता सामाजिक सन्जालमा व्यक्त गरेका छन् ।

अहिले बुटवल पूर्वको काम सुस्त गतिमा चलिरहेकाले त्यही अनुपातमा पश्चिमको बाटोमा समय लागे धेरै समस्या पर्ने व्यवसायी पुस्कर घिमिरेले बताएका छन् ।

उक्त सडक बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम थालिने भएको छ । जस अनुसार गोरुसिङ्गे–चन्द्रौटा खण्डमा डीपीआर तयार पार्न कर्मचारीहरू फिल्डमा खटिएका छन् ।

अहिले बुटवल पश्चिमको कामको लागि डीपीआर निर्माणको काम सुरु भएको छ । विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि काम सुरु भएको हो ।

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले ठेक्काको प्रक्रिया पनि चाँडै सुरु हुने जानकारी दिए । उनका अनुसार गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डका लागि एक विदेशी कम्पनीले डीपीआरको काम सुरु गरेको छ ।

परियोजना प्रमुख एसीले सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग छलफल गरिरहेको बताए । हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ ।

उनले विद्युत् कार्यालयसँग छलफल गर्दा पोल सार्न झन्डै ४४ करोड लागत अनुमान गरेको तर त्यस विषयमा अझै टुङ्गोमा नपुगेको प्रस्ट पारे । यस्तै वनसँग रुख नम्बरिङ्गका लागि आग्रह गरिएको छ । अन्तिममा वन विभागको अनुमति प्राप्त गरेपछि रुख कटानको काम सुरु हुनेछ । ती दुई प्रक्रिया पूरा हुना साथ ठेकेदारलाई काम गर्ने बाटो खुल्ने र काम धमाधम चल्ने परियोजना प्रमुख एसी बताउँछन् ।

सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठुला सवारी चलाउनका लागि पनि सहज हुने अपेक्षा गरिएको सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर भीम लामाले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम चलिरहेको छ । चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि उक्त खण्डमा सडक विस्तारको काम जारी राखेको छ ।

सडक स्तरोन्नतिसँगै बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माण गर्ने सडक कार्यालयको तयारीे छ । सडक स्तरोन्नति भइसकेपछि बुटवल बजारलाई पनि थप चलायमान बनाउन मद्दत पुग्ने व्यवसायीको भनाइ छ ।

बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नतिको काम चलिरहेको दुई चरणमा चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि जारी राखेको छ । बुटवल–चन्द्रौटा सडक विस्तार भएपछि बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आंकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माणको काम पनि अगाडि बढाइने भएको छ ।

पुलको लागत एक अर्ब रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ । यसअघि अर्थमन्त्री बनेका विष्णु पौडेलले यो सडक बिस्तार आयोजना र तिनाउको सिग्नेचर पुलका लागि स्रोत सुनिश्चिता गर्दै योजना समेटेको बताउँदे आएका थिए । उनले आफ्नो निर्वाचनको समयमा यी दुवै आयोजनालाई आयो योजनामा समेटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *