श्रमजीवी पत्रकारको आन्दोलन घोषणा, प्रदर्शनदेखि बेलुन उडाउनेसम्म – Nepal Press

श्रमजीवी पत्रकारको आन्दोलन घोषणा, प्रदर्शनदेखि बेलुन उडाउनेसम्म

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले विगत पाँच वर्षदेखि वृद्धि नभएको श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिका लागि आन्दोलनको घोषणा गरेको छ।

शुक्रबार बसेको संघको केन्द्रीय कार्यसमिति बैठकले श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिका लागि विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

पारिश्रमिक वृद्धि लगायत नौ बुँदे माग सम्बोधनका लागि मंसिर २५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई शुक्रबारसम्मको समय दिएर अल्टिमेटम पत्र बुझाए पनि माग सम्बोधनका लागि कुनै पहल नभएपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए । उनका अनुसार साताव्यापी आन्दोलनका कार्यक्रम गर्ने निर्णय भएको छ ।

आन्दोलनका कार्यक्रम अन्तरगत पुस १ गते आइतबार सामाजिक सञ्जालमार्फत नौ बुँदे अधिकारपत्रबारे देशभर प्रचारप्रसार गर्ने, माग सम्बोधनका लागि दुई गते दबाब दिने उपत्यकामा हस्ताक्षर गर्ने, तीन गते उपत्यकाबाट संकलित हस्ताक्षर अभियानमा जम्मा भएको हस्ताक्षर मन्त्रालयमा बुझाउने कार्यक्रम रहेको छ ।

यस्तै अध्यक्ष जैसीका अनुसार पुस चार गते नौ बुँदे अधिकार उल्लेखित गरेर कालो ब्यानर बेलुनबाट सिंहदरबार परिसरको आकाशमा उडाउने, पाँच गते सात वटै प्रदेशका मुख्यमन्त्रीमार्फत् संघीय सरकारलाई ध्यानाकर्षण गराउने, ६ गते कालो ब्यानरसहित संघीय राजधानीमा धर्ना दिने र आठ गते प्लेकार्डसहित धर्ना दिने रहेको छ ।

पहिलो चरणको आन्दोलनका कार्यक्रमबाट पनि पारिश्रमिक वृद्धिलगायतका नौ बुँदे माग सम्बोधन नभए दोस्रो चरणमा सशक्त आन्दोलन सुरु गर्ने अध्यक्ष जैसीले चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर