बालकृष्ण खाणको रिहाइले देशमा सुखद सन्देश प्रवाह गरेको छ : भीष्म आङ्देम्बे
रुपन्देही । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको रिहाइले एउटा सुखद सन्देश प्रभाव गरेको बताएका छन् । उनले न्यायालयले मुलुकका धेरै जटिल विषयवस्तुलाई पनि एउटा सही र न्यायिक निष्कर्षमा पुर्याउँछ भन्ने प्रमाणित गरेको बताए ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री आङ्देम्बेले यस्तो बताएका हुन् ।
उनले भने, ‘यो खुसी बाँड्न र यहाँहरुलाई बधाई दिन पाउँदा खुसी लागेको छ । मुलुकले हेर्ने पर्सनालिटी थोरै हुन्छन्, विस्तारै घट्दै गएको बेलामा आज न्यायालयले जुन ढंगबाट विकृत सोच र मानसिकतालाई किनारा लगाएर नयाँ ढंगबाट जनताले हेर्नुपर्छ भन्ने कुरा स्थापित गरेको छ, यसले खुसी छाएको छ ।’ उनले नयाँ उत्साह र सोचका साथ अगाडि बढ्ने बताए ।
सहमहामन्त्री आङ्देम्बेले हिजो २३ सिटमा खुम्चिदा र अहिले तीनै तहमा सशक्त र बलियो कांग्रेस हुँदा पनि निराशाका गीत गाइएको बताए । उनले भने, ‘कांग्रेसका कार्यकर्तामा निराशा बाँडेका छौं । नेताहरुले यस्तो गर्नुहुँदैन । व्यक्ति नराम्रो हुन सक्छ । तर, कांग्रेस र कांग्रेसले लिएको विचार सगरमाथा पनि उचो छ ।’ प्रक्रियाका बारेमा छलफल र बहस गर्न सकिने उनको भनाइ छ ।
वर्तमान र विगत कांग्रेस एक्लैले मात्र सोचेर सही ट्रयाकमा आउँछ भन्ने कल्पना गर्न नहुने उनले बताए । अहिलेको परिस्थितिमा घोषणापत्रमा लेखिएका प्रतिवद्धता पूरा गर्न पनि सरकारमा जानैपर्ने उनले बताए । सहमहामन्त्री आङ्देम्बेले भने, ‘कि त नेमकिपा जस्तो सरकारमा जाँदैनौं, सीमित क्षेत्रमा बस्छौं भन्नुपर्यो, होइन भने सरकारमा जानुपर्छ ।’
संसदीय दलका नेता फेर्ने कुरा चलिरहेको छ नि भन्ने जिज्ञासामा उनले संसदीय दलको आफ्नो प्रक्रिया रहेकोले बाहिर सडकमा बोलेर नहुने बताए । कांग्रेस केन्द्रीय कार्यसमितिमा युवाहरुको बलियो उपस्थिति रहेको उनले दावी गरे । कांग्रेस लोकतान्त्रिक प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएको उनको भनाइ छ ।
उनले गुट–उपगुट भन्दा विचार समूह भन्नुपर्ने र एक–अर्काका विचारलाई निषेध गर्न नहुने उनले बताए । राज्यले विदेशिएकालाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको विषय पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उठ्ने उनले बताए ।