कृषि मन्त्रीलाई सांसद चौधरीको पत्र- उखुको समर्थन मूल्य तोकियोस्, किसानका समस्याप्रति सरकार गम्भीर बनोस् – Nepal Press

कृषि मन्त्रीलाई सांसद चौधरीको पत्र- उखुको समर्थन मूल्य तोकियोस्, किसानका समस्याप्रति सरकार गम्भीर बनोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् ।

सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उखु उत्पादकमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका हुन् ।

‘नवलपरासी (सु.प.) जिल्लाको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसानहरू उखु खेतीतर्फ साह्रै उत्साहित देखिन्छन् । किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो,’ सांसद चौधरीले भने, ‘चालु आर्थिक वर्ष २०८०/८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ। तर हालसम्म पनि मूल्य नतोकिदिँदा यस क्षेत्रका किसानहरू अन्योल र मर्कामा परेका छन् ।’

उनले उखुको समर्थन मूल्य तोक्न ढिलाइ हुँदा उद्योगहरूले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको सरकारलाई अवगत गराएका छन् । साथै कतिपय किसानले सरकारले मूल्य नतोक्दा सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै सांसद चौधरीले कृषि मन्त्री बेदुराम भुसालको लिखित ध्यानाकर्षण गराएका हुन् ।

उनले समर्थन मूल्यसँगै किसानलाई सरकारले उपलब्ध गराउने अनुदान बापतको रकम पनि समयमै भुक्तानी गराउन पनि मन्त्रीसँग माग गरेका छन् ।

सांसद चौधरीकै पहलमा यस पटक नवलपरासीका उखु किसानले सरकारले दिने अनुदान बापतको रकम पाइसकेका छन् । कतिपय जिल्लामा किसानले अघिल्लो वर्षकै रकम नपाएर आन्दोलनरत छन् ।

सरकारले अघिल्लो वर्ष उखुको न्यूनतम मूल्य प्रति मेट्रिक टन ६१० रुपैयाँ तोकेको थियो । जसमा उखु उद्योगले ५४० रुपैयाँ र सरकारले अनुदानबापतको ७० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर