काष्ठमण्डप परिसरमा गमलाको फूलले सजाइँदै – Nepal Press

काष्ठमण्डप परिसरमा गमलाको फूलले सजाइँदै

काठमाडौं । वसन्तपुरमा रहेको काष्ठमण्डप क्षेत्रमा सौन्दर्यात्मक कार्यक्रम थालनी गरिएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयबासीहरुको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेको छ ।

२९ औँ महानगर दिवसको अवसरमा पारेर फूल राख्न आयोजना गरिएको कार्यक्रममा वडा नंं १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्यहरु, शार्दुलजंग गुल्मका गुल्मपति पूर्ण प्रजापती र स्थानीयबासी सहभागी भएका थिए ।

वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर भने ‘सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक सांस्कृतिक कार्यक्रममा असर परिरहेको छ । यो असर रोक्ने अभिप्रायले काम थालिएको हो ।’

परिसरमा १२ वटा फलामे स्ट्याण्डमा  ४८ वटा फूलसहितका गमला राखिएका छन् । दरबार संरक्षण कार्यक्रमको सहयोगमा शार्दुलजंग गुल्मले यसको व्यवस्थापन गरेको हो । गुल्मपति प्रजापती भन्छन् ‘महानगरपालिकासँग मिलेर स्थानीय सरोकारका क्षेत्रमा काम गर्न पाएका छौँ । हाम्रा लागि यो महत्वपूर्ण काम हो ।’

यो कामलाई बसन्तपुर क्षेत्रभरि विस्तार गर्ने योजनामा काम भइरहेको छ । दरबार संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए । यसपछि मरु क्षेत्रमा फूल राख्ने कार्यक्रम छ,’ उनले जानकारी दिए ।

यसअघि बसन्तपुर जुद्धशालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब १२० वटा फूलसहितका गमला राखिएका छन् । स्थानीय गणपतिलाल श्रेष्ठ भन्छन्, ‘सबैले दायित्व लिन सके रोपिएका फूलहरुले सौन्दर्य दिइरहने छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर