अन्य पालिकामा दर्ता भएका सफारी रोक्ने निर्णयबाट इटहरी पछि हट्यो, टाइम कार्डको नयाँ नियम – Nepal Press

अन्य पालिकामा दर्ता भएका सफारी रोक्ने निर्णयबाट इटहरी पछि हट्यो, टाइम कार्डको नयाँ नियम

विराटनगर । अन्य पालिकामा दर्ता भएका सिटी सफारीका कारण पार्किङ व्यवस्थापनमा समस्या भएको भन्दै इटहरी उप महानगर पालिकाले सफारीमा टाइम कार्ड लागू गरेको छ ।

छिमेकी पालिकाहरूबाट इटहरी नगर क्षेत्रभित्र सिटी सफारीहरू माल सामान र यात्रु लिएर प्रवेश गर्न पाए पनि फर्किहाल्नु पर्ने नयाँ व्यवस्था सहितको टाइम कार्ड लागू भएको हो ।

यसका लागि इटहरी प्रवेश गर्ने सबै नाकामा सफारीको इन्ट्री गर्ने र तोकिएको समय भित्र फर्कनु पर्ने व्यवस्था मिलाइएको इटहरी उप महानगर पालिकाले जनाएको छ ।

इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेलले भने, ‘इटहरीमा यात्रु र माल समान लिएर आउन पाइन्छ तर तोकिएको समय सीमा भित्र फर्कनुपर्छ ।’

उनले समय सीमा भित्र नफर्कने सफारीलाई कारबाही गरिने बताए । इटहरीसँग सिमाना जोडिएका सुनसरीको दुहवी, रामधुनी मोरङ्गको सुन्दरहरैचा लगायतका पालिकाहरूमा दर्ता गरी ती पालिकामा सञ्चालन गर्ने अनुमति पाएका सिटी सफारीहरू समेत इटहरीमा सञ्चालन हुँदै आएका छन् ।

सडकमा अत्यधिक सिटी सफारी भएपछि पार्किङमा समस्या हुँदै आएको छ । अन्यत्र दर्ता भई त्यही सञ्चालन गर्ने अनुमति पाएका सफारी समेत उप महानगरमा सञ्चालन भएपछि दुर्घटनाको दर समेत बढ्दै गएको छ ।

पार्किङ व्यवस्थापनमै समस्या भएपछि इटहरी उपमहानगरपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौ १७ गतेदेखि बाहिरका स्थानीय तहमा दर्ता भएकालाई इटहरीमा प्रवेश गर्न नदिने निर्णय भएको थियो ।

उपमहानगर भित्र प्रवेशमै रोक लगाइएपछि सफारी चालकहरूले आन्दोलन गरेका थिए । यात्रु बोकेर आएका र सामान बोकेर आएका सफारीलाई प्रवेश गर्न नदिने उप महानगरको निर्णयका विरुद्ध सर्वसाधारणले समेत विरोध गरेका थिए ।

सीमानाबाट इटहरी क्षेत्रमा सफारीमा चढेर आउन नपाएपछि दोहोरो भाडा तिर्नु परेको सर्वसाधारणले गुनासो गरेका थिए ।

सर्वसाधारणको विरोध र सफारी चालकको आन्दोलन पछि उप महानगरले निर्णयलाई उल्टाउँदै प्रवेशमा रोक लगाउने निर्णयबाट पछि हट्दै टाइम कार्ड लागु गरेको हो । सिटी सफारी सबैभन्दा बढी झापा, मोरङ र सुनसरीका ठूला सहरमा सञ्चालनमा रहेका छन् ।

पछिल्लो समय पूर्वका पहाडी जिल्लामा पनि सिटी सफारी सञ्चालन हुने गरेका छन् । कोशी प्रदेशमा मात्र २० हजार हाराहारी सिटी सफारी रहेको कोशी अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर