प्रस्तावित न्यायाधीश ढकाललाई प्रश्न : न्यायालय र बारलाई कसरी सन्तुलनमा राख्नुहुन्छ ?
काठमाडौं । संवैधानिक परिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालमाथीको संसदीय सुनुवाइ जारी छ । प्रस्तावित न्यायाधीश ढकालले आफ्नो कार्ययोजना पेश गरे लगत्तै संसदीय सुनुवाइ समितिका सदस्यले प्रश्न राखेका छन् ।
संसदीय सुनुवाईका क्रममा प्रश्न गर्दै समितिका सदस्य एवम नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सर्वोच्च अदालत र नेपाल बार एसोसिएनसविच बेला बेलामा हुने गरेको विवादबारे प्रश्न गरेका छन् ।
उनले प्रस्तावित न्यायाधीश ढकाललाई प्रश्न गर्दै भने, ‘न्यायायलयलाई बारले एउटा दृष्टिकोणबाट हेर्दै आएको छ भने न्यायालयले बार अर्को दृष्टिकोणबाट हेर्दै आएकोछ । कहिले तित्तता र कहिले मित्रता पनि देखिन्छ । तपाईले यसलाई कसरी सन्तुलन गर्नुहुन्छ ?’
माओवादी सांसद शर्माले एउटा पक्षको भूमिकाबाट निष्पकक्षताको बाटोमा जान लागेको अब कसरी सन्तुलन मिलाउनुहुन्छ भन्दै थप प्रश्न पनि गरेका छन् । उनले न्यायालय राजनीतिक क्षेत्रकै फरक भूमिका भए पनि न्यायालय सम्पूर्ण रुपमा राजनीति भन्दा अलग हुन्छ भन्ने मान्यता राख्न नसकिने बताए । तर, न्याय दिने मान्छे भने निष्पक्ष हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका सांसद इश्वरीदेवी न्यौपानेले न्यायपालिकामा राजनीतिक प्रभाव ठूलो परेको भन्दै प्रश्न गरेकी छन् । प्रस्तावित सांसद ढकालको सुनुवाईमा प्रश्न गर्दै उनले भनिन्, ‘न्यायालय राजनीतिक हिसावले एकदमै प्रभावित छ भन्ने सुनिन्छ र बेला बेलामा त्यस्ता केहि कुरा देखिन्छन् पनि यो के हो ?’ कांग्रेस सांसद न्यौपानेले न्याय क्षेत्र एकदमै महंगो र झन्झटिलो भएको पनि गुनासो गरिन् ।
नेकपा (एमाले)का सांसद पदम गिरीले न्यायालयलाई सुशासन कायम गर्न के गर्नुहुन्छ ? र इतिहाससम्म उदाहरणीय काम के गर्नुहुन्छ भन्दै प्रश्न गरे । नेपाली कांग्रेसका सांसद जिवन परियारले वकिललाई अब यस्तो खालको आदेश आउँछ भन्ने पहिले नै थाहा हुने गरेको भन्दै यसलाई निष्पक्ष बनाउन के गर्नुहुन्छ भन्दै प्रस्तावित न्यायाधीश ढकाललाई प्रश्न गरे । उनले जनताले गुनासो गर्न नपाउनेगरी काम गर्नुपर्नेमा पनि जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रहरीले बिना सूचना र पक्राउ पुर्जी पनि नियन्त्रणमा लिएर हिरासतमा राख्ने र यातना दिने तर, त्यहि व्यक्ति पछि निर्दोष सावित हुने गरेको भन्दै यस्ता विषलाई कसरी सम्बोधन गर्ने भन्दै प्रश्न गरे ।
बैठकमा नेकपा (एमाले)का सांसद महेशकुमार बर्तौला, नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझी लगायतले पनि प्रश्न गरेका थिए । सांसदले गरेको प्रश्नमाथी प्रस्तावित न्यायाधीश ढकालले जवाफ दिइरहेका छन् ।