राम मन्दिर निर्माण आन्दोलनका अगुवा आडवाणी र जोशीलाई उद्घाटनमा अयोध्या नआउन अपिल


काठमाडौं । अयोध्यामा राम मन्दिर पुनः स्थापना आन्दोलनको नेतृत्व गर्ने सत्तारुढ भाजपाका दुई संस्थापक नेतालाई अर्को महिना हुने राम मन्दिर उद्घाटन समारोहमा नआउन आयोजकले अपिल गरेका छन् ।
भाजपामा नरेन्द्र मोदी र अमित शाहको बोलवाला बढेसँगै किनारामा धकेलिएका वरिष्ठ नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीलाई राम मन्दिर ट्रष्टले उमेर र स्वास्थ्यका कारण उपस्थित नभइदिन आग्रह गरेको हो ।
राम मन्दिर ट्रष्टका महासचिव चम्प रायले मिडियासँग भने– दुवै नेता हाम्रो परिवारका ज्येष्ठ सदस्य हुन् । उनीहरूको उमेर र स्वास्थ्यको मध्यनजर गरेर समारोहमा नआउनका लागि भनिएको छ । दुवै नेताले हाम्रो आग्रह स्वीकार पनि गरेका छन् ।
आगामी जनवरी २२ तारिखको दिन अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदी सो कार्यक्रममा उपस्थित हुनेछन् । अयोध्यामा राम मन्दिर पुनः निर्माणको एजेण्डाबाटै भारतमा भाजपाको उदय भएको थियो ।
यस आन्दोलनको क्रममा धेरैले ज्यान समेत गुमाएका थिए । १२ औँ शताब्दीमा भारतमा बाबरको मुस्लिम शासनका बेला राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको थियो ।
राम मन्दिर निर्माणको आन्दोलनको अगुवाइ गरेका भाजपा नेता आडवाणी अहिले ९६ वर्षका छन् भने अर्का नेता मुरली मनोहर जोशी ९० वर्षका भए । अर्का संस्थापक नेता अटल बिहारी बाजपेयीको निधन भइसकेको छ ।
यो पुस्तापछि भाजपामा नरेन्द्र मोदीको उदय भएको हो । मोदी तेस्रो कार्यकाल भारतको प्रधानमन्त्री बन्ने अभियानमा छन् ।
मन्दिरको प्राण प्रतिष्ठा समारोहमा पूर्व प्रधानमन्त्री एचडी देवेगौडालाई भने निम्ता पठाइएको छ । समारोहमा शंकराचार्य तथा १५० जना साधु सन्तले भाग लिनेछन् ।
कार्यक्रममा तिब्बतका निर्वासित धर्मगुरु दलाई लामा, केरलकी माता अमृतानन्दमई, योग गुरु रामदेवका साथै बलिउड कलाकार अमिताभ बच्च, रजनीकान्त, माधुरी दीक्षितलगायत निम्त्याइएका छन् ।
अयोध्यामा राम मन्दिर पुनः स्थापनाको लागि आडवाणीको नेतृत्वमा सन् १९९० भारतमा वृहत रथयात्रा भएको थियो ।
त्यसमा मुरली मनोहर जोशी,अशोक सिंघल,रामचन्द्र परमहंशलगायत सामेल रहेका थिए । तीमध्ये अब आडवाणी र जोशी मात्र जीवित छन् ।
उनीहरूकै जीवनकालमा राम मन्दिर सपना पूरा भए पनि उद्घाटनका अवसरमा भौतिकरुपमा उपस्थित हुन नपाउने देखिएको छ ।
यद्यपि आडवाणीले भने आफू उपस्थित हुने भनेर जिद्दी गरिरहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।