सुदूरपश्चिम महोत्सव : जब पल शाहको अंगालोमा डाँको छोड्दै रोए किशोरी – Nepal Press

सुदूरपश्चिम महोत्सव : जब पल शाहको अंगालोमा डाँको छोड्दै रोए किशोरी

१ लाख २० हजार जनाले टिकट काटेर पल शाहको प्रस्तुति हेरेको दाबी

काठमाडौं । अभिनेता पल शाह गत शनिवार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा भाग लिन पुगे । त्यहाँ उनलाई हेर्न लाखौँको संख्यामा दर्शकहरू टिकट काटेर आएको दाबी गरिएको छ ।

गत २२ गते सुरु भएको सुदूरपश्चिम महोत्सवको नवौँ दिन पल शाहसहित चर्चित कलाकारहरू गएका थिए ।

सार्वजनिक बिदा पनि भएकाले सो दिन अहिलेसम्मकै सबैभन्दा ठूलो भिड लाग्यो । आयोजकका अनुसार त्यस दिन एक लाख २० हजारले टिकट नै काटेर महोत्सवमा भाग लिए ।

आम दर्शकलाई १०० रुपैयाँको टिकट राखिएको थियो भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुट थियो । शनिवार आएकामध्ये अधिकांश विद्यार्थीहरू नै भएको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए । ५० रुपैयाँका दरले हिसाब गर्दा पनि एकै दिन ६० लाखभन्दा बढी संकलन भएको छ ।

प्रमोद खरेल, अस्मिता अधिकारी, शान्ति श्री परियार, अनु चौधरीजस्ता थुप्रै नाम चलेका कलाकारहरू उपस्थित महोत्सवमा मुख्य आकर्षण चाहिँ पल शाह नै भए । दर्शकमा उनको गज्जब क्रेज देखियो । पल स्टेजमा आउँदा दर्शकले व्यापक हुटिङ गरेका थिए ।

पलले दर्शकलाई केही बेर सम्बोधन गरे भने तीन वटा गीतमा डान्स पनि देखाए । करिब आधा घण्टा उनले दर्शकलाई ईंगेज गरेका थिए । प्रस्तुति सकिएपछि उनी केही बेर स्टेजमै उभिए ।

त्यस क्रममा फ्यानहरू स्टेज उक्लिएर पलसँग फोटो भिडियो खिचेका थिए । तीमध्ये दुई किशोरीहरूको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पल शाहलाई भेट्दा ती किशोरीहरूले आफूलाई सम्हाल्न सकेनन् । उनीहरू डाँको छोडेर रोएका थिए । पलले आफ्नो अंगालोमा लिएर उनीहरूलाई थुम्थुम्याए । भिडियोमा उनीहरूको आवाज नसुनिएकाले किन रोएका हुन् भन्ने बुझ्न सकिएको छैन ।

यसैबीच, पल शाहको हराएको भनिएको ब्रासलेट अझै भेटिएको छैन । कुँवरले ब्रासलेटको विषयमा पलले खासै चासो नदिएको बताए ।

‘उहाँका लागि एउटा ब्रासलेटभन्दा दर्शकको माया नै ठूलो हो,’ कुँवरले भने, ‘यो विषयलाई मिडियाले किन यति महत्त्व दिइरहेका छन् मैले बुझेको छैन ।’


प्रतिक्रिया

One thought on “सुदूरपश्चिम महोत्सव : जब पल शाहको अंगालोमा डाँको छोड्दै रोए किशोरी

  1. बोको खोजेर कराएका होलान पठेक्रीहरु । ब्याडे बोको न भेटे

Leave a Reply

Your email address will not be published. Required fields are marked *