८ हजार दूध उत्पादक किसानले भुक्तानी पाएनन्, प्रदेश सरकारसँग भुक्तानी उठाइदिन गुहार – Nepal Press

८ हजार दूध उत्पादक किसानले भुक्तानी पाएनन्, प्रदेश सरकारसँग भुक्तानी उठाइदिन गुहार

विराटनगर । विराटनगर स्थित दूग्ध वितरण आयोजनाले किसानसँग किनेको दूधको भुक्तानी नदिँदा किसानहरू समस्यामा परेका छन् ।

दूग्ध सामाग्री र दूधबाट उत्पादन भएका सामाग्री बिक्री नभएको बाहानमा बनाएर विराटनगर स्थित दूग्ध वितरण आयोजनाले किसानको दूधको भुक्तानी रोकपछि किसानहरू समस्यामा परेका हुन् ।

दूग्ध वितरण आयोजनाले कोशी प्रदेशका इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दूध सङ्कलन गर्दै आएको छ । सयौँ सहकारी तथा सङ्कलन केन्द्रसँग डिडिसीले खरिद गरेको दूधको ५ महिनादेखि गर्न सकेको छैन ।

आयोजनाले दूधको भुक्तानी नदिँदा सहकारीले समेत किसानलाई पैसा नदिँदा समस्या भएको इलामका गाई पालक किसान ठाकुर अधिकारीले बताए ।

दूधको भुक्तानी दिलाउन माग राख्दै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउन इलाबाट विराटनगर आएका किसान अधिकारीले उत्पादन भएको दूध बिक्रीबाट चलिरहेको परिवार नै समस्यामा परेको बताए । दूधको मूल्य नपाएपछि गाई बेच्नुपर्ने अवस्था आएको भन्दै उनले साउनयताको पैसा नपाएको बताए ।

इलामको रोङ गाउँपालिका–१ का खगेन्द्र कट्टेलले दूध समस्याको दीर्घकालीन समाधान खोज्न नसके कृषिकर्मीमा रमाई रहेका परिवारको बिचल्ली भएको बताए । उनले भने, ५ महिनादेखि दूधको मूल्य पाएका छैनौ यस्तो अवस्था कति दिन सहेर बस्ने ?

दूग्ध वितरण आयोजनाले प्रदेशका ८ हजार भन्दा बढी किसानको २५ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छैन ।

उत्पादन भएका दूध जन्य सामाग्रीको विक्री वितरण नभएको भन्दै आयोजनाले रकम भुक्तानी रोकेको हो ।
किसानबाट खरिद गरेको दूधको भुक्तानी नभएपछि सोमबार इलामको तीनघरे दूग्ध चिस्यान अन्तर्गतका सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र इलाम नगरपालिकाका किसान विराटनगर आएका थिए ।

उनीहरूले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, कृषि मन्त्रालयका सचिव डा।लेखराज दाहाल, दूग्ध वितरण आयोजना विराटनगरका प्रमुख परमेश्वर चौधरीसँगको किसानहरूले दूधको मूल्य तत्काल पाउने व्यवस्था मिलाउन माग गरे ।

विराटनगरस्थित दूग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले करिब ८ हजार किसानले उत्पादन गरेको दूध खरिद गर्दै आएको बताएका छन् । आयोजनाले कोशी प्रदेशका ८ वटा चिस्यान केन्द्रमा ४ सय दूग्ध विकास सहकारीमार्फत दूध सङ्कलन गरी खरिद गर्ने गरेको छ ।

प्रमुख चौधरीले बजारमा खपत घट्दा वैकल्पिक बजार व्यवस्थापन गर्न नसकेको र किसानको भुक्तानीमा पनि समस्या भएको बताए ।

उनले संस्थान अन्तर्गत हेटौँडा, विराटनगर र काठमाण्डौंका गोदाम पाउडर, बटर र घ्यूले भरिएको बताए ।

उनले भने, अहिले ७०० मेट्रिक टन पाउडर, १२ मेट्रिक टन घ्यू र ९५ मेट्रिक टन बटर स्टक छ ।

आयोजनाको पाउडर प्लान्टले दैनिक २८ हजार लिटर दूध प्रशोधन गर्दै आएको छ । तर, उत्पादन भएको वस्तु राख्ने गोदाममै थन्किएको भन्दै दूध प्रशोधनबाट बनेका वस्तु राख्ने गोदाम सुरक्षित नभएका कारण दूध खरिद समेत घटाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर