चितवनबाट ४ क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ (भिडिओ)
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले करिब ४ क्विन्टल गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले गएराति भारतीय नम्बर प्लेटको खाली ट्रकबाट २८ वटा पोकामा प्याक गरी भारत लैजान लागेको ३९६ किलोग्राम गाँजा बरामद गरेको हो ।
वीरगञ्ज नाका हुँदै भित्रिएको जेएच ०२डब्लु ९६३१ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकबाट गाँजा बरामद गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
एसपी कार्कीका अनुसार उक्त ट्रक भारतबाट खाली आइ मकवानपुरको मनहरी जंगल क्षेत्रमा केहीबेर हराएको थियो । सोही समयमा मकवानपुरको पहाडी भेगबाट झारिएको गाँजा लोड गरिएको अनुमान प्रहरीको छ ।
उक्त ट्रकको अगाडि क्याबिनमाथिको भागमा फल्स बटन बनाइ १५ र १० किलोका प्याकेट अनुसन्धानको क्रममा पाइएको एसपी कार्कीले बताए ।
उनका अनुसार ट्रक चालकले खाली आएको थाहा नपाओस् भन्नको लागि चितवनको दासढुङ्गासम्म पुगी फेरि फर्किएको थियो । फर्किने क्रममा प्रहरीले भरतपुर १ आँपटारीबाट ट्रक नियन्त्रणमा लिएको हो ।
चितवन प्रहरीले भारतको उत्तर प्रदेशअन्तर्गत सम्बल जिल्ला बैजई थाना पूरा गाउँ घर भएका ४५ वर्षका गाडी चालक अनिल गिरी र सम्बल जिल्लाकै केलादेवी थाना अपावती कुतवपुर घर भएका ३७ वर्षका राजपाल सिंह र गाँजा लोड गरिएको ट्रकसमेतलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी कार्कीले जानकारी दिए ।