तत्कालीन निमित्त वन निर्देशक भट्टलाई लेखा समितिबाट ‘क्लिन चिट’ – Nepal Press

तत्कालीन निमित्त वन निर्देशक भट्टलाई लेखा समितिबाट ‘क्लिन चिट’

कैलाली । तत्कालीन सुदूरपश्चिम वन निर्देशनालयका निमित्त निर्देशक कृष्णदत्त भट्टले सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिबाट क्लिन चिट पाएका छन् ।

मङ्गलवार बसेको समितिको बैठकले आर्थिक हिनामिनामा भट्टको कुनै दोष नरहेको ठहर गरेको हो ।

भट्टले पदको दुरुपयोग गर्दै अवैध रकम असुली गरेको र आधा करोड अनुदान रकम दुरुपयोग गरेको भन्दै चार महिना पहिले लेखा समितिमा उजुरी परेको थियो ।

सुदूरपश्चिम प्रदेश वन निर्देशनालय मातहतका कार्यालयहरूबाट घुस बापत रकम असुली गरेको भिडिओ सार्वजनिक भएपछि लेखा समितिमा उजुरी परेको हो ।

उक्त विषयमा भदौ ४ गते लेखा समितिले छानबिन उपसमिति गठन गरेको हो । पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी संयोजक रहने गरी गठन गरिएको उक्त समितिको सदस्यमा कांग्रेसका बेलबहादुर राना मगर, एमालेका वीर बहादुर थापा, नागरिक उन्मुक्तिकी टिका थापा र राप्रपाकी खेमा देवी विष्ट थिए ।

उपसमितिले प्रतिवेदन तयार गरी समितिलाई भदौ २५ गते बुझाएको थियो । त्यसअघि उपसमितिले स्थलगत भ्रमण देखी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई अनुदानको रकमका विषय सम्मको जानकारी लिएको थियो । तत्कालीन निमित्त प्रमुख भट्टलाई बयानको लागि समेत उपसमितिले बोलाएको थियो ।

भदौ ११ गते आज छानबिन उपसमितिले भट्टलाई भौतिक रूपमै उपस्थित गराएर बयान लिएको हो ।

उपसमितिले भट्टलाई ९ प्रश्न दिएको थियो । सुरुमा सन्चो बिसन्चो सोधिएको प्रश्नमा सार्वजनिक भएको अडियो भिडियो बारे जानकारी मागिएको थियो ।

भट्टले भिडियोमा देखिएको व्यक्ति आफू भए पनि त्यसमा बेलोको कुरा आफ्नो नभएको बताएका हुन् ।

‘भिडियोमा देखिएको स्थान मेरो निवास हो, देखिएको व्यक्ति पनि म हुँ’ उनले भनेका थिए, ‘त्यसमा गरिएको संवाद मेरो होइन।’

उनले आफूलाई फसान आफ्नो भिडिओमा अरूले आवाज दिएको बयान संसदीय उपसमितिलाई दिएका हुन् ।

उनीहरूले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय मातहतका कार्यालयहरूबाट घुस बापत रकम असुली गरेको भिडिओ देखाएरै भट्टको बयान लिएका थिए ।

वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको विषयमा पनि भट्टले आफूलाई जानकारी नभएको बताए ।

उनले त्यो आवाज पनि आफ्नो नभएको बयान दिएका थिए । उनले अनुदान रकम दुरुपयोग गरेको विषयमा भने केही रकम अनुदान लगेको तर, आफ्नो नाममा फर्म नभएको बताएका थिए ।

भट्टले भिडियोमा देखिएको स्थान र देखिएको व्यक्ति आफू भएको तर, त्यसमा गरिएको संवाद आफ्नो नभएको उल्लेख गरेपछि छानबिन उप समिति अन्यौलता परेको थियो ।

भदौ २५ गते उनी विरुद्ध थप छानबिनको पत्र पठाउने सुझाव सहित लेखा समितिलाई उपसमितिले प्रतिवेदन बुझाएको थियो तर, लेखा समितिले भने पदको दुरुपयोग गर्दै अवैध रकम असुली गरेको आधार प्रमाण नदेखिएको भन्दै उनी माथि थप कारबाहीको आवश्यकता नभएको ठहर गरेको हो । भट्टले मदिरा पिएको विषयलाई मात्रै समितिले बहसको विषय बनाएको छ ।

मङ्गलवार उच्च पदमा बसेर अमर्यादित हर्कत गरेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सचेत गराउन निर्देशन दिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई गलत विवरण दिएको भन्दै पत्र पठाउने निर्णय गरिएको लेखा समितिका ज्येष्ठ सदस्य विक्रम सिंह धामीले जानकारी दिए । अघिल्लो पटक जानकारी माग्दा मन्त्रालयले यस विषयमा झुटो विवरण दिएको उनको भनाइ थियो ।

‘हामी सबै कोही प्रत्यक्ष बसेर त कोहीसँगमा फोनमा र कोहीसँग भिडियो संवादबाट दुई वटा निर्णय गरेका छौँ’ उनले भने ‘मुख्यमन्त्री कार्यालयलाई र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई पत्र पठाउने विषयमा सबै एकमत भयौँ ।’

छानबिनको क्रममा विभिन्न जिल्लाका डिभिजन वन अधिकृतहरूसँग समेत बयान लिएको र उनीहरूले समेत भट्टलाई रकम नदिएको बताएपछि भट्ट आरोप पुष्टि हुन नसकेको ज्येष्ठ सदस्य धामीको भनाइ थियो ।

मंगलवारको बैठकमा धामी सहित, सन्तोष कुमारी थापा,टिका थापा, मधुदेवी भारती, बेलबहादुर राना,गीता कुमारी चौधरी र अक्कल रावल उपस्थित थिए ।

छानबिन उपसमितिमा रहेका थापा र राना बाहेकका लेखा समितिमा रहेका छानबिन उपसमितिका संयोजक मानबहादुर धामी, वीर बहादुर थापा र खेमा देवी विष्ट मंगलवारको बैठकमा उपस्थित थिएनन् । उनीहरू मध्ये धामीसँग भिडियो मार्फत र अन्य दुई जनसँग फोनमा सम्पर्क गरेर निर्णय गरिएको ज्येष्ठ सदस्य धामीले जानकारी दिए।

उपसमिति संयोजकको विरोध

सार्वजनिक लेखा समितिले मङ्गलवार तत्कालीन सुदूरपश्चिम वन निर्देशनालयका निमित्त निर्देशक कृष्णदत्त भट्टका विषयमा गरिएको निर्णयमा छानबिन उपसमितिका संयोजक मानबहादुर धामीले विरोध जनाएका छन् ।

आफू लेखा समितिको बैठकमा उपस्थित नभएको र थप परामर्श विना समितिले निर्णय गरेको आरोप लगाए । उनले उक्त निर्णयमा आफ्नो सहमति नभएको जनाए ।

‘म काठमाडौँ छु । त्यो बैठकमा पनि थिएन केही निर्णय गर्ने भनेर सुनाउनु भएको थियो । मैले त्यस्तो हुँदैन नगर्नु होला भनेको छु’ उनले भने, ‘अहिले हतारमा त्यस्तो निर्णय गर्न आवश्यक छैन ।’

छानबिन उपसमिति गठन गरेर उक्त उपसमितिको सुझाव समेत समितिले कार्यान्वयन नगरेको भन्दै धामीले रुष्टता व्यक्त गरे । उनले आफूले सिफारिस गरेको र समितिको बैठकले गरेको निर्णय नमिलेकोमा विरोध जनाएको बताए ।

‘हामीले एक प्रकारको सिफारिस गरेका छौँ तर, अनिर्णय अर्कै गर्न लागेको जानकारी पाए ’ उनले भने ‘फेरी बसेर दफावर छलफल गरौला भनेको छु । मैले सिफारिस भन्दा बाहिरको निर्णय मान्दिन पनि भनेको छु ।’

छानबिन उपसमितिले तीन बुँदामा लेखा समितिलाई सुझाव सिफारिस गरेको थियो । भिडिओमा देखिएको व्यक्ति र आवाज आफ्नो नभएको बयानको आधारमा थप परीक्षण र आवश्यक कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाउने, छानबिनको टुङ्गो नलाग्दा सम्म कार्यालय प्रमुखको जिम्मेवारीमा रहन नहुने र गलत विवरण पेस गरेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई पत्र पठाउने उल्लेख थियो ।

पहिलो बुँदाका सुझाव लेखा समितिले उल्लङ्घन गरेको उपसमिति संयोजक धामीको भनाइ छ । उनले यस विषयमा काठमाडौँबाट फर्किएपछि उपसमितिका सदस्यहरूसँग छलफल गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *