अघिल्ला दुई लटमा छुटेका डीएसपीबीच बढुवा हुन हानथाप, एसपी बढुवा अड्कियो – Nepal Press

अघिल्ला दुई लटमा छुटेका डीएसपीबीच बढुवा हुन हानथाप, एसपी बढुवा अड्कियो

शक्तिकेन्द्रले रोकेको आकाङ्क्षीको गुनासो

काठमाडौं। प्रहरी उपरीक्षक (एसपी)मा सात दरबन्दी रिक्त भएको झन्डै एक महिना हुन लाग्दा पनि गृह मन्त्रालयले पदपूर्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

ज्येष्ठताका आधारमा १२ जना नायब उपरीक्षक (डीएसपी) एसपीका आकांक्षी देखिएका छन्। तर उनीहरूभन्दा पछि डिएसपीमा बढुवा भएकाहरूले पनि बढुवा हुन दबाब दिइरहेका छन् ।

२०७२ साउनमा डीएसपी बनेकाहरू प्रदीपकुमार क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार, निरन्जनदत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, एक नारायण कोइराला, अनन्तराज शर्मा र विनोद घिमिरे अहिले सिनियर डीएसपीका रूपमा रहेका छन् ।

उनीहरूभन्दा पछि डीएसपी बनेका सुमित खड्का, तपन दाहाल, शरद थापा क्षेत्रीलगायतले पनि यही लटमा एसपी बन्ने आकांक्षा देखाइरहेको स्रोत बताउँछ। तीनै जना माओवादी केन्द्रका नेता निकट मानिन्छन् ।

एउटै विज्ञापनबाट जागिर थालेकाले आफूहरू पनि भर्नाको हकदार भएको उनीहरूको जिकिर छ ।

सिनियर डीएसपीका रूपमा रहेका १२ जनामध्ये पनि राजन र सन्तोष एमाले अध्यक्ष केपी शर्मा ओलीका पूर्व पीएसओ हुन् । यस्तै विनोद वर्तमान प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डका पूर्व पीएसओ रहेका छन् ।

उनीहरूको भर्ना ब्याचबाट तेस्रो लटमा एसपी बढुवा हुन लागेको हो। २०६१ सालमा प्रहरी निरीक्षकमा ८४ जनाको भर्ना लिइएको थियो । सोही विज्ञापनमा १३ लाई वैकल्पिक सूचीमा पनि राखिएको थियो। उक्त सालको भर्ना ब्याचबाट पहिलो लटमा २०७१ फागुनमा ३८ जना डीएसपी बनेका थिए। तीमध्ये ६ जना अहिले प्रहरी सेवामा छैनन ।

२०७२ साउनमा थप १५ जना डीएसपीमा बढुवा भएका थिए। बाँकी छुटेकाहरू ठुलो संख्यामा सोही वर्षको अन्त्यतिर डीएसपीमा बढुवा भएका थिए । २०६१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट पहिलो लटमा २०७९ असारमा एसपी बनेका थिए ।

त्यति बेला उक्त ब्याचबाट १६ जना एसपी बनेका थिए। पहिलो नम्बरमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ कोमल शाहले बाजी मारेका थिए । गत जेठमा दोस्रो लटमा २१ जना एसपीमा बढुवा भएकामा प्रदीपकुमार क्षेत्री, अंगुर जिसीहरुसँगै डीएसपी बनेका राजन भुजेल, नरेन्द्र चन्द र गोविन्दराज काफ्ले पनि उक्त लटमा एसपी बन्न सफल भएका थिए ।

‘पछिल्लो समय सरकारले ज्येष्ठतालाई बढी महत्त्व दिएर बढुवा गरिरहेको भए पनि शक्ति केन्द्रको आडमा अहिले रोक्ने काम भइरहेको छ’, एसपीका आकांक्षी एक डीएसपीले भने ।

नेपाल प्रहरीको डीएसपीबाट एसपी बढुवाका लागि रहने सिफारिस समितिमा अध्यक्ष प्रहरी महानिरीक्षक (आईजीपी) तथा सदस्यहरू गृह मन्त्रालयले तोकेको एक जना सहसचिव र आईजीपीले तोकेको एक जना एआईजी वा डीआईजी रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर