धनगढीमा विवादित जग्गा प्लटिङ कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता (भिडिओ) – Nepal Press

धनगढीमा विवादित जग्गा प्लटिङ कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता (भिडिओ)

कैलाली । विवादित बनेको धनगढीको जग्गा प्लटिङ कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता गरिएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एकलौटी गरेर उक्त कार्यविधि राजपत्रमा प्रकाशित गरेको भन्दै बहुसङ्ख्यक कार्यपालिका सदस्यहरूले बुधबार उपमहानगरपालिकामा खारेजीको प्रस्ताव दर्ता गराएका हुन् ।

वडाध्यक्षसहितका कार्यपालिका सदस्यहरूले सामूहिक निर्णय गर्दै उक्त कार्यविधि खारेजीको पक्षमा उभिएका छन् । कार्यपालिका सदस्य चक्र विकले उपमहानगरपालिकाका डिल्ली ओझालाई आफूहरूको निर्णयसहितको प्रस्ताव दर्ता गर्न पत्र दिएका छन् । विकले मेयर हमालले एकलौटी गरेको उनले बताए ।

उपलब्ध कार्यपालिका सदस्यहरूको निर्णयमा भनिएको छ, ‘कार्यविधि सम्बन्धमा कार्यपालिका सदस्यहरूले अध्ययन गरी व्यापक छलफल गरिसके पश्चात् मात्र पास गर्ने भनी बैठक टुङ्गिएकोमा नगरप्रमुख ज्यूको एकल निर्णयबाट स्थानीय राजपत्रमा प्रकाशित भएकोमा उक्त कार्यविधि सम्बन्धमा नगर कार्यपालिका सदस्य ज्यूहरूको पूर्ण असन्तुष्टि रहेको हुँदा उक्त कार्यविधि खारेजीका लागि नगर कार्यपालिकाको सचिवालयमा उक्त प्रस्ताव दर्ता गराउने निर्णय सर्वसम्मत गरियो ।’

‘हामीलाई पूरै अध्ययन गर्नै नदिएर प्रस्ताव पारित गरेर राजपत्रमा समेत छापिसक्नु भएको रहेछ’ विकले भने, ‘हामी त्यसको विरुद्धमा छौँ । उक्त कार्यविधि खारेज हुनुपर्छ ।’

उनले आफूहरूको अधिकार पनि कुण्ठित गरिएको भन्दै मेयरले एजेन्डा विना उक्त कार्यविधि बैठकमा ल्याएको बताए ।

‘हामीलाई त फड्के किनाराको साक्षी बनाउने र विगतबाटै हस्ताक्षर गराएर पङ्गु बनाउने काम भएको छ ’ उनले भने ‘हामीले ५ प्रतिशत पनि अधिकार उपभोग गर्न पाएनौँ ।’

विधायन समितिमार्फत प्रक्रियाबाट ल्याएर कार्यपालिका र नगरसभाबाट पारित गरिनु पर्नेमा उनले जोड दिए ।

अघिल्लो आइतबारको कार्यपालिका बैठकमा यस विषयमा छलफल भएको थियो । सोमबार नै उक्त कार्यविधि राजपत्रमा छापिएको थियो । मङ्गलवार कार्यपालिका सदस्यहरूले विरोध जनाएका थिए । एक सातासम्म पनि मेयरले चासो नदिएको भन्दै मङ्गलवार धनगढीको होटेल डिभोटीमा जम्मा भएर उक्त कार्यविधि खारेज गराउने वडाध्यक्षसहितका कार्यपालिका सदस्यहरूले निर्णय गरेका थिए । सोही निर्णय अनुसार बुधबार प्रस्ताव दर्ता गरिएको हो ।

मेयर हमालले भने यस विषयमा पछि नहट्ने बताइसकेका छन् । हमालले आफू पदबाट राजीनामा दिन तयार हुने तर, निर्णय बाट पछि नहट्ने बताएका हुन् ।

मंगलबार भिडिओ सन्देशमार्फत उनले भने, ‘होटेलमा गएर कार्यपालिकाको निर्णय उल्टाउने प्रवृत्ति आयो यो दु:खद हो यस्तो खालको प्रवृत्तको पछाडि लागिँदैन । बरु मेयरबाट राजीनामा दिन्छु तर, म चाहिँ पछाडि हट्दिनँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर