भ्रष्टाचार नियन्त्रणका लागि सचिव, विभागीय प्रमुख र संस्थानलाई अख्तियारको ९४ बुँदे सुझाव (पूर्णपाठ)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सचिव, विभागीय प्रमुख र सार्वजनिक संस्थानहरूलाई विभिन्न सुझाव दिएको छ ।
छुट्टाछुट्टै अन्तरक्रियामा भएको छलफलपछि सचिव तथा विभागीय प्रमुखलाई ४६ र नियमामक निकाय साथै सार्वजनिक संस्थानलाई ४८ बुँदे सुझाव दिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारले विभागीय प्रमुख र सचिवहरूलाई प्रत्येक महिना विभागीय मन्त्री र सचिवले मातहतका निकायबाट भएका कामकारबाहीको समीक्षा गरी कार्यसम्पादनमा सुधार गर्ने र लापरबाही गर्ने पदाधिकारी/कर्मचारीलाई समयमै सचेत गराउने । यो व्यवस्थाको पालना नभएमा हुने सरकारी हानी नोक्सानीउपर वित्तीय उत्तरदायी अधिकारीलाई जिम्मेवार र जवाफदेही हुने भन्दै सचेत बनाएको छ ।
तीन तहका सरकारबीचको काम, कर्तव्य र अधिकारमा देखिएको अस्पष्टता र दोहोरोपना हटाउन अन्तरनिकाय समन्वयसमेत हुने गरी कार्यविभाजनलाई स्पष्ट बनाउने, सार्वजनिक खरिद कार्य गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीले गरेका व्यवस्थाको पूर्णत: पालना गर्ने, स्वार्थ अनुकूल हुनेगरी सार्वजनिक खरिद नियमावली बारम्बार संशोधन गर्ने कार्य बन्द गर्ने । सार्वजनिक खरिदमा ठेक्का सम्झौताबमोजिम काम नभए कारबाही गर्ने, प्रतिस्पर्धालाई निषेध गर्ने गरी एउटै आयोजना टुक्रा टुक्रा पारी एउटै वर्षमा फरक फरक पार्टीमार्फत वा विभिन्न वर्षमा गरी बन्द गर्नेलगायतका छन् ।
त्यस्तै नियामक निकाय र सार्वजनिक संस्थानलाई विनाप्रतिस्पर्धा वा आवश्यकता बेगर परामर्श सेवा सोझै खरिद गरी सार्वजनिक स्रोतको दुरुपयोग गर्ने कार्य बन्द गर्ने, लाभ लगत विश्लेषणसहित सञ्चालन योजना बनाएर मात्र निर्माणजन्य खरिद सम्झौता गर्ने । अनावश्यक रूपमा सामग्री, सफ्ट्वेयर, कच्चा पदार्थ, उपकरणलगायत खरिद नगर्ने, किनेका सवारी साधन तथा यन्त्र उपकरणहरूको नियमित मर्मत सम्भार गर्ने, जिन्सी मालसामनको लिलामीमा कानून पालना नगर्नेलाई कारबाही गर्ने सुझाइएको छ ।
अख्तियारले आफ्नो संस्थाको उत्पादित वस्तु तथा सेवा कर्मचारी र सञ्चालकलाई निशुल्क उपलब्ध गराउने, नाफा घटिरहँदासमेत सेवा सुविधा थप्ने, कर्मचारी र सञ्चालक समितिलाई अनावश्यक सेवा सुविधा बढाउनेजस्ताव कार्य रोक्न भनेको छ । कर्मचारीलाई ट्रेड युनियनको सिफारिसमा जथाभावी ट्रेड युनियन काज र सुविधा नदिन पनि सुझाव दिइएको छ ।