रघुजी पन्तको प्रश्न- बाटो बनाउन पनि छिमेकी देशबाट बारुद आएन भनेर कहिलेसम्म रोक्ने ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाली सेनाले विष्फोटक पदार्थ पनि छिमेकी देशको भर पर्नुपर्ने नेपाली सेनाको अवस्था हो भन्दै प्रश्न गरेका हुन् ।
उनले ढुंगा फोड्न पड्काउन, अरुको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तेड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ? भन्दै प्रश्न गरे ।
‘मित्र राष्ट्र भारतबाट बिष्फोटक पदार्थको आयात आपूर्ति हुन नसकेको, मित्र राष्ट्र चीनबाट बिष्फोटक पदार्थको आयात हाल आपूर्ति सुचारु रहेको र यसले एउटा सेन्सेटिभ बनाएको छ । हाम्रो त यही सेना हो, यो सेनाले आफ्नो लागि चाहिने न्युनतम गोलीगट्ठा र बारुद पनि अहिलेसम्म आफूले उत्पादन गर्न सक्दैन ? अहिलेसम्म हाम्रो भौतिक योजना ढुंगा फोड्न पड्काउन, अरुको मुख हेरेर ताक्नुपर्ने हो ?’, उनले भने, ‘त्यो अवस्था हो भने भोलि हामी साँच्चै शान्तिप्रिय देश छौँ जानु नपर्ला । कुनैबेला वारमा जानुपरे कति दिन थेग्छौँ हामीले हाम्रो गोली गट्ठाले । देश आत्मनिर्भर हुनुपर्दैन आफ्नो रक्षामा ? जाबो बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तेड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ?’
सांसद पन्तले कुनैबेला युद्धका लागि तयार हुनपर्ने भए कति दिनसम्म नेपाली सेनाले थेग्छ ? भन्दै प्रश्न गरे ।