भारतबाट आएका दुई जनामा कोरोना संक्रमण, भेरिएन्ट पत्ता लगाउन स्वाब काठमाडौं पठाइँदै
कैलाली । कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निरन्तर कोरोना परीक्षण भइरहेको नाकामा करिब ६ महिनापछि संक्रमण पुष्टि भएको त्रिनगरमा स्थापना गरिएको हेल्थ डेस्क प्रमुख गणेश साउदले जानकारी दिए ।
उनका अनुसार मंगलबार र बुधवार एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार बेंलोरबाट आएकी महिला तथा बुधबार चेन्नईबाट आएका पुरुषमा संक्रमण पुष्टि भएको हो । मंगलबार संक्रमण पुष्टि भएकी कञ्चनपुर आईबीआरडीकी एक महिला हुन् भने बुधबार कोरोना पुष्टि भएका धनगढी- ११ का पुरुष हुन् । अहिले उनीहरू दुवैको स्वास्थ्य सामान्य छ ।
पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएपछि नेपालमा पनि त्यो भित्रिन सक्ने खतरा बढेको छ । विश्व स्वास्थ्य संगठनले मंगलवाबार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।
समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई सजिलै जित्नसक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ ।
दुई संक्रमितहरुमा कुन भेटियन्ट हो भन्ने विषयमा थप परीक्षण गरिने भएको छ । बुधबारमात्रै स्वाब प्रदेश प्रयोगशालामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ ।
‘कुन भेरियन्ट हो भन्नेबारे थप परीक्षणपछि मात्रै थाहा हुने छ’, उनले भने, ‘त्यसको लागि काठमाडौं पठाउन प्रदेश प्रयोगशालामा स्वाब दिएका छौं ।’
पछिल्लो समय सीमा नाकामा दैनिक २० जनाभन्दा बढीको कोरोना परीक्षण भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएकाहरूको मात्रै परीक्षण हुने गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मीनबहादुर धामीले भारतबाट आएकामा संक्रमण पुष्टि भएसँगै थप सचेतना अपनाउनुपर्ने अवस्था आएको बताए ।
उनका अनुसार अहिले कैलालीको धनगढीस्थित त्रिनगर र टीकापुरस्थित खर्कौला नाकामा नियमित परीक्षण भइरहेको छ ।