बुटवलका व्यापारी राजेन्द्र ध्वजुविरुद्ध ३ करोड ३१ लाख राजश्व ठगीको मुद्दा दायर
रुपन्देही । बुटवलका पुराना व्यापारी राजेन्द्रप्रसाद ध्वजुविरुद्ध राजस्व अनुसन्धान कार्यालय बुटवलले ३ करोड ३१ लाखभन्दा बढी राजश्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । ध्वजुले बुटवल उपमहानगरपालिका–५, अमरपथमा सञ्चालन गरेको सपना साडी सेन्टर रहेको छ ।
साडी पसल र त्यसका सञ्चालक ध्वजुविरुद्ध राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरिेएको हो । राजस्व कार्यालय बुटवलले स्थायी लेखा नम्बर ३००२०३४८० रहेको सपना साडी सेन्टरका प्रोपाइटर राजेन्द्र प्रसाद ध्वजुविरुद्ध ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ रुपैयाँ बिगो तथा त्यसको शत प्रतिशत जरिवाना माग गरी उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो ।
गत वर्षको फागुन २ गते राजस्व अनुसन्धान कार्यालय, बुटवलले विशेष सूचनाका आधारमा उक्त पसल तथा गोदाममा छापा मारेर पसलको मालवस्तुको मौज्दात विवरण, खरिद बिक्री खाता, स्टक बुक, बिलका अर्धकट्टी नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
कार्यालयले पसल तथा गोदाममा केही मालवस्तु अधिक मात्रामा देखिएकोमा सञ्चालकले खरिद स्रोत देखाउन नसकेको र केही मालवस्तु खरिदभन्दा बिक्री बढी गरेको देखिएको भन्दै अनुसन्धान थालेको थियो ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ ९प्रथम संशोधन० दफा २३ ९१० बमोजिम बिगो असुल उपर गरी शत प्रतिशत जरिवाना मागदाबी सहित कार्यालयले मुद्दा दायर गरेको छ । साडी सेन्टरका सञ्चालक राजेन्द्र प्रसाद ध्वजु भने कार्यालयले छापा मारेदेखि नै राजस्वको सम्पर्कमा नआएको राजस्व कार्यालयले जनाएको छ ।
यो सूचना बाहिर आएपछि उनी पत्रकारसँग पनि सम्पर्कमा रहेका छैनन् । रोटरी क्लबको नेपाल डिष्ट्रिकको अध्यक्ष तथा बुटवलको दीपबोर्डिङ लगायत थुप्रै सामाजिक संस्थाको अध्यक्ष तथा सफल व्यवपारीको नाम कमाएका ध्वजुविरुद्ध यस्तो मुद्दा दर्ता भएपछि यहाँका अन्य व्यवसायी आश्चर्यमा परेका छन् ।