बुटवलमा आजदेखि लुम्बिनीको एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला
रूपन्देही । बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला लाग्ने भएको छ ।
रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका पुसको १८ गतेसम्म लुम्बिनी एक्स्पो २०८० सञ्चालन हुनेछ ।
एक्स्पोको बिहीबार आज दिउँसो पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा १०विदेशीसहित ६ सय स्टल रहेका छन् ।
जसमा होटल तथा रेष्टुरेन्टका –२३, उनी, गार्मेन्ट तथा तयारी पोशाकका–१४१, अन्तर्राष्ट्रिय–१०, कृषि–४३, ब्याग÷जुत्ताचप्पल–६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी–७८, श्रृंगार, उपहार तथा खेलौना–५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान–५३, बैंक/वित्तीय संस्था एवं शैक्षिक संस्था–१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस–६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स–१६, आइसक्रिम तथा वेकरीज–१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस–८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको घिमिरेले बताए ।
मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरू एवं स्थलहरूको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने आयोजकले बताएका छन् ।
कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता छाएका बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ ।
त्यस्तै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहने छ । त्यसैगरी डान्स आइडियल, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गराइने आयोजकले बताए ।