केराबारी गाउँपालिकामा घरघरमै ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच
विराटनगर । मोरङको केराबारी गाउँपालिकामा घरघरमा गएर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गत आर्थिक वर्षदेखि नै सुरू गरिएको ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रमअन्तर्गत स्वास्थ्य अवस्थाको आधारभूत जानकारीदेखि सामान्य औषधि वितरणले उत्साह थपेको उनीहरूको भनाइ छ ।
पालिकाअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वयंसेविकाले आफ्नै घरमा आएर सेवा दिँदा प्रेसर, सुगरलगायतका समस्या भएकालाई राहत मिलेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
अध्यक्ष सुमन मिरिङचिङले गरेको चुनावी प्रतिवद्धताअनुसार ज्येष्ठ नागरिकलाई सकेसम्म घरमै धेरै सेवा-सुविधा दिने कार्यमा पालिकाले कार्यकर्म र बजेट तर्जुमा गरेको बताइएको छ ।