पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता सुरू – Nepal Press

पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता सुरू

रुपन्देही । पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा कार्यक्रम बिहीबारदेखि बुटवलमा सुरू भएको छ ।

संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्हारक्याल लामाले खेलाडीलाई स्केटबोर्ड प्रदान गरेर कार्यक्रमको उद्घाटन गरे ।

डा. लामाले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष भएको बताउँदै खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारात्मक भूमिका खेलेको जनाए ।

बालबालिका र किशोर किशोरी खेलकुदमा सहभागी हुँदा शारीरिक र मानसिक विकासमा थप सहयोग पुग्ने हुँदा यस्ता खेलकुद कार्यक्रमहरू आयोजना गर्नुपर्ने धारणा उनले राखेका हुन् ।

खेलाडीहरूलाई लुम्बिनी दर्शनको निम्ति आग्रहसमेत गर्दै लामाले स्केट खेलाडीहरूको रोचक फोटोहरू प्रदर्शनको अवलोकन गरे ।

कार्यक्रममा सङ्घका अध्यक्ष अच्युत खनाल, स्केट एड नेपालका अध्यक्ष जागृत पहाडी, लुम्बिनी प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव जयप्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री लगायत खेलाडीहरूले अवलोकन गरेका थिए ।

नेपाल स्केट बोर्ड, स्केट बोर्डिङ सङ्घ तथा स्केट एन्ड नेपालको संयुक्त आयोजना बुटवलमा आयोजना भएको उक्त प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यानमार र थाइल्यान्डबाट नौ टोलीको सहभागिता रहेको आयोजकले बताएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल हुनेछन् । छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधि होडमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ भने दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुङ्गो लगाइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *