कांग्रेस नेता शर्माले भने- मधेश पिछडा हुवा हैं, पहाड भि कोइ स्विटरजरलैन्ड नही बनी है
‘पहाडको जलमै मधेश सिंचित गर्नुपर्छ, मधेशको अन्नले पहाडको पेट भर्नुपर्छ’
जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेशीले लगाउने धोती अन्तै लगाएको जस्तो मनोविज्ञान बनाइयो भने देश बलियो बन्न नसक्ने बताएका छन् ।
जनकपुरधाममा आजबाट सुरु भएको कांग्रेस मधेश प्रदेशको सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘काठमाडौंमा बसेर कसैले सिक्किम र दार्जिलिङमा लगाएको टोपी चाहिँ पाँचथर र इलामामा लगाए जस्तो लाग्ने तर बारा, पर्सा सिरहा सप्तरीमा लगाउने लगाउने धोती चाहिँ अन्तै लगाएको जस्तो मनोविज्ञान बनाइयो भने देश बलियो बन्दैन ।’
उनले कांग्रेस मधेश र पहाडलाई सँगै गाँसेर अगाडि बढाउन खोजेको दावी गरे । ‘पहाडको जलमै मधेश सिंचित गर्नुपर्छ’, उनले भने, ‘मधेशको अन्नले पहाडको पेट भर्नुपर्छ ।’
मधेशमा भन्दा पहाडको फरक समस्या होला तर पहाड पनि अनेक समस्यामा रहेको भन्दै महामन्त्री शर्माले भने, ‘मधेश पिछडा हुवा हैं । तो पहाड भि कोइ स्विटरजरलैन्ड नही बनी है ।’
‘पहाडमा गएपछि आफूले भन्ने गरेका छौं- पहाडमा उकालो होला, विकट होला, समस्या होला । तर मधेश पनि आफ्नै ढंगको पीडामा छ’, उनले भने, ‘यो दुइटै पीडामा मलहम लगाएर अगाडी बढ्नुपर्छ । यो भन्न सक्ने ताकत कांग्रेससंग मात्र छ ।’
उनले मधेशमा बेरोजगारी, दहेजको निहुँमा हत्या, अनेकन भेदभाव, युवतीलाई एसिड छ्याप्ने जस्ता समस्या रहेको भन्दै अब कांग्रेसले मधेशमा सामाजिक रुपान्तरण गर्न चाहेको बताए । उनले सामाजिक रुपान्तरणका लागि अभियान चलाउन मधेश प्रदेश कमिटीका पदाधिकारी र नेताहरुसंग आग्रह समेत गरे ।
‘कांग्रसले मधेशलाई विश्वासमा लिएर जान खोजेको छ’, उनले भने, ‘सिंगो मधेश मुस्कुराउनुपर्छ । अनुहारमा दागरहित मधेश मुस्कुराउनुपर्छ । यसका लागि सामाजिक रुपान्तरण गर्दै काँग्रेसले मधेशलाई अगाडी ल्याउँछ ।’