एमालेको आत्मसमीक्षा- पहाडी गाउँ रित्तिए, हामी सत्ताकेन्द्रित भयौं
मध्यपहाडका समस्या केलाउँदै नेता, पार्टी जिम्मेवार र जवाफदेही भएर योजनाबद्धरूपमा जानुपर्ने निष्कर्ष
काठमाडौं । १८ दिने ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ बाट फर्किएको नेकपा एमाले अहिले समीक्षामा व्यस्त छ । यद्यपि, एमालेको एकमुष्ट निष्कर्ष छ- अभियान सफल रह्यो ।
अभियानलाई टुंग्याउँदै चिवाभञ्ज्याङ पुगेर ओलीले मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको बताएका थिए ।
‘यो यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको छ । देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ । राजनीतिप्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको छ’ ओलीको भनाइ थियो ।
अभियानपछि हौसिएका ओलीले एमालेले मात्र चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले तय गरेको जिकिर गर्न समेत भ्याए । तर, अभियानको उपलब्धि र अबको रणनीतिबारे ८ गते दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी छ ।
त्यही अनुसार अहिले अभियानका क्रममा आएको सुझाव, माग र गुनासोलगायतको विषयवस्तुमा अध्ययन गर्न नेताहरू व्यस्त छन् । त्यसबारे छलफल गर्नको लागि बुधबार ओलीले अनैपचारिक सचिवालय बैठक राखेका थिए ।
बैठकले संकल्प यात्रा पूर्णरूपमा सफल भएको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनले भने, ‘अभियानले पूर्णरूपमा राजनीतिक उपलब्धि हासिल गरेको छ । यात्राले मध्यपहाडी लोकमार्गका समस्या पहिचान गरेको छ । जनताको विकासप्रतिको अपेक्षा र चाहनाअलाई एमालेले सरकार हुँदा काम गरेको र प्रतिपक्षमा हुँदा दृढतापूर्वक उठाएर जनताको पक्षमा आवाज बुलन्द गर्नुपर्ने निष्कर्षमा पुगेका छौं ।’
मध्यपहाडी लोकमार्गको रुटमा पर्ने २८ वटा जिल्ला ओझेलमा परेकाले एमालेले त्यही क्षेत्रमा संकल्प यात्रा गरेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बताउँछिन् ।
उनी भन्छिन्, ‘समृद्धिका धेरै बाटाहरू छन् । तर, जनअपेक्षित काम हुन सकेको छैन । त्यहाँ गर्न नसक्ने केही छैन । गाउँघरमा युवाहरू पलायन छ । गाउँघर खाली हुँदैन । बुढापाकामात्रै छन् । तर, सरकारले ध्यान दिन सकेको भए त्यहाँ आवश्यक पूर्वाधारको विकास गर्न सकेको भए यो स्थिति आउँदैनथ्यो ।’
एमालेले पार्टीको कुरामात्रै होइन देश र जनताको पक्षमा कुरा उभिनलाई अभियानले बल पुगेको उनको बुझाइ छ । शाक्यले भनिन्, ‘गणतन्त्र आएको यत्रो लामो समय भइसक्यो हामी सत्ताको खेलमा मात्रै लागिरह्यौं तर जनताको तहबाट हेर्दा त्यहाँ पुगेकै छैनौं ।’
उनले जनताबाट आएको माग र गुनासोसहितको ज्ञापनपत्रलाई लिपिबद्ध बनाउन पार्टीको नेताहरू खटिएको जानकारी दिइन् ।
अभियानमा आएको ज्ञापनपत्रबारे उनी भन्छिन्, ‘बाटो, शिक्षा, स्वास्थ्य, कृषिलयातको क्षेत्रका समस्या आएका छन् । त्यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा जान्छौं । हामीले अभियानको यात्राको उपलब्धि जनतालाई दिन अब योजनाबद्ध ढंगले काम गर्नुपर्छ । प्रतिपक्षमा छौं गर्न नसकेपनि स्थानीय तहमा गर्नसक्छौं । केन्द्रीय सरकारलाई जनताका मागबारे दबाब दिनसक्छौं ।’
उनले एमालेलाई अब तत्कालीन र दिर्घकालीन योजनामा अघि बढ्नुपर्ने दबाब बढेको सुनाउँछिन् ।
उनले भनिन्, ‘एमालेप्रतिको जनताको भावना अभियानको क्रममा देखियो । एमाले नै समृद्धिको आधार हो । यसले नै नेतृत्व गर्नुपर्छ । तर, हामीसँग इच्छाशक्ति र प्रष्ट शक्तिको अभाव देखिएको छ । जनता धैर्यताको साथ पर्खिएका छन् । हामीले यो पहाडी जिल्लाको विकास नगरी देशको समृद्धि गर्न सक्दैनौं । पहाडी जिल्लामा जताततै सम्पत्ति छ । त्यसको सदुपयोग गर्नुपर्छ ।’
संघीयदेखि स्थानीय सत्ताको बागडोर सम्हालेने प्रष्ट नीति बनाएर काम गर्नुपर्नेमा उनको जोड छ । जनतामा देखिएको निराशा अन्त्य गर्नको लागि एमाले जिम्मेवार र जवाफदेही भएर योजनाबद्ध ढंगले परिचालन भएर लाग्नुपर्ने उनले बताइन् ।
आगामी निर्वाचनबाट एमालेको बहुमत ल्याउने भन्नेकुरा फरक पाटो भएको औल्याउँदै अहिले जनताको सुझावअनुसार अघि बढ्नुपर्ने पार्टीको निष्कर्ष रहेको सुझाइन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अभियानले एमालेप्रति जनताको भरोषा बढेको दाबी गरे ।
अभियानबारे नेपाल प्रेससँग गत साता कुराकानी गर्दै उनले भनेका थिए, ‘हामीले जनताको समस्या सुन्ने, त्यहाँका प्रतिनिधिसँग कुरा बुझ्ने काम गरिरहेका छौं । हामीले सोचेभन्दा जनताको समर्थन, साथ, माया र सद्भाव पाएका छौं । साथै जनताको भरोसा पनि ।’
उनले नीति, कार्यक्रम, योजना, अठोट र संकल्पको आधारमा जनता एमालेलाई बहुमत दिन तयार रहेको जिकिर गरे ।
पोखरेल भन्छन्, ‘हामीले गरेको कामको आधारमा जनताका बीचमा छौं। हामी प्रतिस्पर्धाबाट जनताको विश्वास प्राप्त गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन चाहन्छौं । त्यसैले मिसन ०८४ भनेको एउटा महत्वपूर्ण अवसर हो । त्यसैलाई टार्गेट गरेर गएका छौं । यो एमालेको लागि होइन देश र जनताको लागि हो ।’
उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि सफल भएको र समीक्षाको क्रममा रहेको बताए । आज एक कार्यक्रमलाई बोल्दै उनले अभियानको क्रममा पहाडबाट निरन्तर बसाइसरा बढिरहेको देखेको बताए ।
उनले भने, ‘गएको १० वर्षमा ३२ वटा जिल्लाको जनसंख्या घटेको जनगणनाको तथ्यांकले देखाउँछ । निरन्तर पहाडको बस्ती खाली भइरहेका छन् । जनसंख्यालाई पहाडमै रोक्न विकासको मोडल परिवर्तन गर्नुपर्छ ।’
उनले मध्यपहाडी लोकमार्गलाई १८ सय किलोमिटरमा खुलेको ट्याकलाई १० किलोमिटरमा झार्न सके देशको अर्थतन्त्रको लाइफलाइन बन्ने बताए ।
उनले भने, ‘यो बाटोलाई पूर्वदेखि पश्चिमसम्म हजार किलोमिटरमा ल्याउन सक्यौं भने नेपालीको अर्थतन्त्रको लाइफलाइन बन्नसक्छ । शहरहरूको विकास गर्ने सम्भावना ठूलो छ । त्यसैले हामीले त्यो योजना बनाएर अघि बढ्नुपर्छ ।’