कांग्रेस मधेशमा चरम विवाद : देउवालाई मञ्चमै शेखर समूहका नेताको ज्ञापन पत्र, प्रदेश सभापतिमाथि गम्भीर आरोप – Nepal Press

कांग्रेस मधेशमा चरम विवाद : देउवालाई मञ्चमै शेखर समूहका नेताको ज्ञापन पत्र, प्रदेश सभापतिमाथि गम्भीर आरोप

जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशले संगठन मजबुत पार्न अपनाउनुपर्ने आवश्यक रणनीतिकै लागि पहिलो पटक सम्मेलन गर्दैछ । आज पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरे ।

तर उद्घाटन समारोह नै विवादित बन्यो । नेता शेखर कोइराला र उनी पक्षधर नेताहरु सम्मेलन बहिष्कार गरे ‌। देउवा निकट नै मानिने प्रभावशाली नेता बिमलेन्द्र निधी पनि मञ्च बहिष्कार गरेर दर्शकदिर्घामै बसे । उनले पनि आसनग्रहणको मर्यादाक्रममै असन्तुष्ट बने ।

अचम्म त के भने निधीकै गृहनगर जनकपुरधाममा प्रदेश सम्मेलन भइरहेको छ । पार्टी उपसभापति समेत भइसकेका निधी गृहनगरमै मञ्चमा बस्न नपाएको भन्दै उनकै शुभचिन्तकहरुले सामाजिक संजालमा टिप्पणी गरेका छन्, ‘निधी गृहनगरमै पार्टीको नेतृत्व पंक्तिबाट पहिलोपटक अपमानित भएका छन् ।’

कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटन सत्रमा आठै जिल्लाबाट नेता कार्यकर्ताहरु सहभागी बनेका थिए । तर एकताको सन्देश दिन आयोजित सम्मेलन नै विभाजनको बिउ रोपेजस्तो भयो ‌। आसन ग्रहणको मर्यादाक्रम विवाद अझै बढ्ने देखियो । किनकी शेखर कोइराला समूहका नेताहरु उद्घाटन सत्र चलिरहेकै बेला प्रदर्शन गर्दै सभापति देउवालाई ज्ञापनपत्र समेत बुझाए ।

कोइराला समूहका नेताहरुले पार्टीका प्रदेश सभापति कृष्ण यादवमाथि ‘एकलौटी रुपमा सञ्चालन गरी संगठन ध्वस्त बनाइरहेको’ आरोप लगाएका छन् ।

ज्ञापनपत्र भनिएको छ, ‘कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवले पार्टीहितका लागि विचार राख्नेलाई बेवास्ता गरी पार्टी संगठन एकलौटी रुपमा सञ्चालन गरी ध्वस्त बनाइरहेको जानकारी गराउन चाहन्छु ।’

प्रदेश सभापति यादव मधेश देशका भौतिक पूर्वाधार विकास मन्त्री सम्हालेका छन् । उनको मन्त्रालयमा पनि व्यापक अनियमितता भइरहेको र त्यसबाट सम्पूर्ण पार्टी पंक्ति बदनाम बनिरहेको आरोप पनि शेखर पक्षका नेताहरुको आरोप छ ।

सभापति देउवालाई बुझाएको ज्ञापनपत्रमा शेखर समूहमा रहेका कांग्रेस मधेश प्रदेशका पूर्व सांसदद्वय रञ्जित कर्ण र नरेशकुमार यादव, महासमिति सदस्य विनोद खनाल लगायतका नेताको हस्ताक्षर छ ।

उनीहरुले पार्टीको १४ औं महाधिवेशनको भावनाअनुसार पार्टीको मधेस प्रदेश कार्य समिति अधि नबढेको र फरक विचार राख्नेलाई प्रदेश सभापति यादवले वेवास्ता गर्नुका साथै अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै आएको आरोप पनि लगाएका छन् ।

प्रदेश सभापति यादवले कसैसँग कुनै राय परामर्श नगरी एकलौटी रुपमा प्रदेश सदस्य र विभागहरुको संयोजकममातमा मनोनयन गरी गुटबन्दीमाई प्रश्रय दिएको, प्रदेश समितिमा संगठनको हितमा बोल्नेलाई पाखा लगाउन बैठकमा नबोलाउने गरेको र बैठकको निर्णय पुस्तिकामा समेत हस्ताक्षर गर्न नदिइरहेको जस्ता हर्कत गरेकाले समस्याको तत्कान समाधान गर्न सभापति देउवासंग शेखर समूहका नेताहरु अनुरोध गरेका छन् ।

सम्मेलनमा पार्टीभित्रको गुटबन्दी छताछुल्ल भएपनि नेताहरु एकताको सन्देश दिन पछि परेनन् । पार्टी सभापति देउवाले भने पार्टीमा अन्तर्घातको रोग देखिएको र त्यस रोगको अन्त्य गर्नुपर्ने बताए । तर अन्तर्घातको रोग किन लागेको र कसरी अन्त्य गर्नेबारे केही बोलेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर