यो सरकारले अर्थतन्त्र सुधार्न सक्दैन, पूँजीगत खर्च लथालिंग भयो: विष्णु पौडेल – Nepal Press

यो सरकारले अर्थतन्त्र सुधार्न सक्दैन, पूँजीगत खर्च लथालिंग भयो: विष्णु पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारले आर्थिक क्षेत्र सुधार गर्न नसक्ने दाबी गरेका छन् । सरकारको अस्तव्यस्तताले मुलुकको पूँजीगत खर्च लथालिङ्ग भएको र राष्ट्रिय गौरवका आयोजना अगाडि बढ्न नसकेको उनको भनाइ थियो ।

रुपन्देही व्यापार संघले आयोजनामा गरेको लुम्बिनी एक्स्पो-२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबार उद्घाटन गर्दै उनले मुलुकमा देखिएको विद्यमान संकटको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

‘सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखापरेको छ । अहिले मुलुकमा संकट निम्तिनुको प्रमुख जिम्मेवार सरकार हो’, उनले भने, ‘राष्ट्रिय संकटको जिम्मेवारी संघीय सरकारले, प्रदेशमा देखिएको संकटको जिम्मेवारी प्रदेश सरकारले र स्थानीय तहमा देखिएका समस्याहरुको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ । सरकारमा पनि बस्ने अनि अरुलाई दोष दिएर जिम्मेवारीबाट उम्किन मिल्दैन ।’

उपाध्यक्ष पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाइप्रति आपत्ति जनाए । विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने उनको भनाइ थियो ।

उनले सरकार पूर्ण रुपमा असफल भएको बताए । ‘बनेको विमाननस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न सक्दैन, सरकार पूर्ण रुपमा असफल भएको छ’, पौडेलले भने ।

उनले बुटवल-नारायणगढ सडक निर्माणमा भैरहेको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै सरकारले सडक निर्माणलाई तदारुकता नदेखाएर तमासा देखाइरहेको आरोप लगाए ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लीला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताए । ‘विकास निर्माणभन्दा पनि कसरी सत्तामा टिकिरहने भन्ने चिन्ता सत्तामा रहेका दलहरुमा छ’, उनले भने ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका निर्मल जीसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीप्रसाद भण्डारी, महासचिव दयानिधि भण्डारीलगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको धारणा राखे ।

लुम्बिनी एक्स्पोको उद्घाटनअघि जनचेतना ¥याली निकालिएको थियो । पुस १८ गतेसम्म चल्ने मेलामा १० विदेशीसहित ६०० स्टल छन् । संघले १० लाख दर्शकले अवलोकन गर्ने र ५० करोडको कारोबार गर्ने लक्ष्य लिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर