राजमार्ग निर्माणमा दबाब दिन रास्वपाको यात्रा, रविसहितका नेताहरु हिँडेरै नारायणगढबाट बुटवल पुग्ने
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल–नारायणगढ सडक छिटो निर्माणमा दबाव दिन र सरकारको ध्यानाकर्षण गराउन दबाब यात्रा गर्ने भएको छ । नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडक खण्डमा रास्वपाको टोलीले सडकमा हिंडेर यात्रा गर्ने र सर्वसाधारणका गुनासा सुन्ने भएको हो ।
नारायणगढ–बुटवल सडकखण्डको स्तारोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले व्यहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने, सडक आसपासका स्थानीयसँग अन्तरक्रिया गर्नेयात्राको मुख्य लक्ष्य रहेको यात्रा संयोजक तथा रास्वपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमले जनाएका छन् ।
यात्राको सुरुवात पुस ९ गते गैंडाकोटको पुल्चोकबाट हुने उनले जानकारी दिए ।
यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन् । टोलीमा सांसदहरु निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरु सहभागी हुने, सर्वसाधारणलाई पनि यात्रामा सहभागी हुन आह्वान गरिने गौतमले बताए ।
पुस ९ मा हिंडेपनि कति समयमा बुटवल पुगिने भन्नेबारे समय निर्धारण भएको छैन । हिंडेर जाने हो, बाटोमा अन्तरसंवाद गर्दै जाने हो, ९ गते सुरु भएपनि पुगिने समयको निश्चित छैन, उनले नेपाल प्रेससँग भने ।