बुटवलको चारपाला वन क्षेत्रः पद्मपाणि (मच्छिन्द्रनाथ) र बाबा भुवनेश्वरको तपोस्थल
ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरु यत्रतत्र छरिएको र तिनको संरक्षण तथा सम्बर्द्घनमा बेवास्ता गरिएको बुटवल- १२ स्थित चारपाला सामुदायिक वन क्षेत्रको जोगीडाँडामा प्राप्त ‘पद्मपाणि’को मूर्तिले यसको खोज र संरक्षणमा विशेष जोड दिनुपर्ने सन्देश दिएको छ ।
चारपाला सामुदायिक वन क्षेत्र खुला संग्रहालय हो । यहाँ जति खोज्न सक्यो त्यति सम्पदा भेटिन्छन् । २०६३ साल माघ २३ गतेको कुरा हो, बौराहा खोलामा गिट्टी संकलन गर्ने क्रममा एउटा मूर्ति भेटियो । अग्लो डाँडो वर्षामा पहिरो जाने भएकोले त्यस्तो ठाउँमा ढुंगा गिट्टी ज्यादा भेटिने भएकोले जीविकोपार्जन गर्न ढुंगा संकलन गर्नेका लागि आकर्षण हुने नै भयो । पहिरोले लतपतिएको मूर्ति भेटिएपछि धन्न उनीहरुले फोरेर ट्याक्टरमा हालेनन् । एकदुई जनाले हेरेपछि त्यसलाई अलग गरे ।
यो कुरा एक कान, दुई कान हुँदै स्थानीय रामप्रसाद भट्टराई र माओवादी नेता भक्ति पाण्डेको कानमा पुग्यो । उहाँलगायत स्थानीय समाजसेवीको अगुवाइमा तिनलाई सुरक्षित गर्ने काम भयो । सो मूर्ति अलि चर्केको छ । एकाएक भेटिएपछि भगवान भनेर हल्ला त भयो । तर, तत्क्षण फोरेर ढुंगासँग फाल्न खोज्नुलाई अन्यथा भन्न मिलेन । जे होस्, अन्ततः भगवानको मूर्ति भनेर सुरक्षित गरेको पाइन्छ । सो मूर्ति देखाउँदासाथ पुरातत्व तथा सस्कृतिविद्हरुले अवलोकेतोश्वरको मूर्ति भनेर भनेको अहिले पनि रामप्रसाद भट्टराईलाई स्मरण छ ।
हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्ने मछिन्द्रनाथ र बौद्ध धर्मावलम्बीले पञ्च बुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने ‘पद्मपाणि’ एउटै हुन् । ‘पद्मपाणि’ हठ योगका प्रवर्तक हुन् । बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ ।
नाथ सम्प्रदायका भगवान मानिन्छन् मच्छिन्द्रनाथ
सहकालका देवताका रूपमा मानिने मच्छिन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् । मच्छिन्द्रनाथलाई नाथ सम्प्रदायका प्रमुख देवता भनिए पनि यिनी सबै धर्मावलम्बीद्वारा समान रूपले पूजित एउटै परब्रह्माको रूपमा मानिएका छन् । नवनाथ र चौरासी सिद्धमध्ये एक सिद्ध रहेका मच्छिन्द्रनाथका शिष्य गुरू गोरखनाथ हुन् ।
मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता भन्नुको कारण भने यस्तो छ- करिब १४ सय वर्ष पहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौं, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षाबाट मच्छिन्द्रनाथलाई नेपाल भित्राइएको बताइन्छ ।
पाटनको रातो मच्छिन्द्रनाथ र काठमाडौंको सेतो मच्छिन्द्रनाथ प्रसिद्ध छन् । रातो मच्छिन्द्रनाथमा दोलखा र कीर्तिपुर चोभारको मच्छिन्द्रनाथ पनि पर्छन् ।
पाटन, दोलखा र काठमाडौंका मच्छिन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराई शहर परिक्रमा गराइन्छ । चोभारको रथ यात्रा गराइँदैन । अन्य मच्छिन्द्रनाथको दाँजोमा पाटनको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता र विशिष्टता पाएको छ ।
हिन्दू र बौद्ध धर्मावलम्बीलाई धार्मिक समन्वय गरी समाजमा मिलेर बस्न र शान्ति स्थापना गर्न यो जात्राले ठूलो भूमिका खेलेको छ । बाँच्न सबै प्राणीलाई चाहिने सहकालका देवता भएका हुनाले यी देव सबैका आराध्यदेव भएका छन् ।
नाथ सम्प्रदायका एक सिद्ध योगीका रूपमा रहेका मच्छिन्द्रनाथलाई महिला र पुरुष दुवै देवको रूपमा मानिन्छ । पुरुषलाई गरिने कर्मकाण्ड र महिलालाई गरिने कर्मकाण्ड इही गुफा राख्ने जस्ता कार्य पनि गरिन्छ ।
जोगीडाँडामा भग्नावशेषको थुप्रो
पद्मपाणिको प्रस्तर भेटिएको जोगीडाँडाको आसपासमा सबैभन्दा अग्लो ठाउँ छ, जहाँ दरवार थियो कि भनेर अनुमान लगाउन सकिने अवस्था छ । निश्चित क्षेत्रमा इँटाको जग रहेको अहिले पनि देखिन्छ । त्यसको अलि पर मन्दिर हो कि भनेर अनुमान लगाउने अवस्था देखिन्छ । अर्थात् त्यहाँ भग्नावशेषका रुपमा इँटाका टुक्रा, छानोको रुपमा प्रयोग भएका खपटा, विभिन्न आकारप्रकारका मूर्ति, दरवारमा प्रयोग गरिएका हुनसक्ने ढुंगाका सँगारपाटी आदि छन् ।
स्थानक मुद्रामा अवस्थित सो मूर्तिका दुई हात वरद मुद्रामा देखिन्छ भने बायाँ हातले पद्मपुष्पको नाल समातेको देखाइएको छ । पुष्ठ छाती, छिनेको कम्मर, फुकेको जाँघ आदि स्पष्ट देख्न सकिन्छ । घाँटीमा एक तहको माला, उत्तरीय वस्त्र, कम्मरवन्ध, धोती जस्ता वस्त्रभूषण लगाइएको छ ।
सो ठाउँमा पद्मपाणिको मूर्ति भेटिएपछि तिनलाई अहिले सैनामैना ठूलो कुवामा राखिएको छ । काठमाडौं लगेर जानकारहरुलाई देखाउँदा सो मूर्ति पद्मपाणिको भएको भनिएको छ ।
सैनामैना नगरपालिकाले प्रकाशन गरेको सैनामैना दर्पणमा पनि यसबारे केही व्याख्या गरिएको छ । जसमा भनिएको छ-
निलो कालो पत्थरको यो मूर्ति यस क्षेत्रको नमुनाको रुपमा रहेको छ । यो अवलोकितेश्वरको प्रतिमा स्थानक मुद्रामा रहेको छ । यसको दायाँ हात वरद मुद्रामा रहेको प्रतित हुने गर्छ । किनकि हाल पूर्ण अवस्थामा देखिन्न । बायाँ बाहुले पद्मपुष्पका डाँठ पक्रेको छ । यसको शिरोभागमा अभिताभको आकृति अंकित छ ।
यसबारेमा सुशीलकुमार गौतमले आफ्नो २०६५ सालमा लेखेको शोधपत्रमा दिनेशचन्द्र रेग्मीको सन् २००७ अगस्त २६ मा हिमालय टाइम्स दैनिकमा प्रकाशित ‘हिडन ट्रेजर्स अफ नेपाल्स मधेस’ शीर्षकको लेखको अंशलाई उद्धृत गरेका छन् । जसमा सो मूर्तिको शैली बघोरटप्पाको सूर्य मूर्तिसँग मिल्दोजुल्दो भनी लेखेका छन् । उनको अनुमान छ- ती दुवै सिम्रौनगढको तिरुहुते राजवंशले अपनाएको पालसेन कलाशैलीको विमार हो ।
स्थानीयको भनाइ उद्धृत गर्दै गौतमले त्यसको आकारप्रकारबारे पनि लेखेका छन्- ११५ सेमि लम्बाइ र ७० सेमि चौडाइमा उभिएका, घाँटी र कम्मर केही बंग्याएर उभिएका छन् । शीरमा कलात्मक मुकुट बनाइएको छ । कम्मरबाट तल घुँडासम्म पट्याएको धोती लगाएका छन् । यिनको नाक, कान र घाँटीमा भव्य गहनाको प्रयोग भएको छ । पूरा बनेको फूल (कमल) देवताको बायाँ कानको स्तरमा प्रतित हुन्छ । किनकि यो भाग केही क्षतिग्रस्त छ ।
गौतमले थप भनेका छन्-
मूर्तिको शीरको दायाँबायाँ हात्तीको टाउको र बाँदर कुँदिएका छन् । देवताको नितम्बस्तरदेखि तलतिर दुवैतर्फ नारी र पुरुषका आकृतिहरु छन् । ती आकारमा साना छन् । दायाँपट्टिको नारी मूर्तिको तल रहेको पुरुष मूर्ति नमस्कार मुद्रामा रहेको छ । बायाँपट्टि पनि माथिल्लो भागमा नारी मूर्ति र तल पुरुष मूर्ति बनाइएका छन् । त्यस पुरुष मूर्तिले आफूमाथिको नारी मूर्तिको स्तन स्पर्श गरिरहेको प्रतित हुन्छ ।
सैनामैना दर्पणमा उल्लेख गरिएको विवरणमा यसरी वर्णन गरिएको छ-
पञ्चध्यानी बुद्घमध्ये पश्चिमपट्टि अवस्थित अभिताभको भएकोले उनको आकृति अंकित गरिनु प्रतिमा विज्ञानको प्रविधि हो । पद्मपुष्प फक्रिएको अवस्थामा छ । शीरमुकुट लाम्चो आकारको छ । हृष्टपुष्ट छाती, लचकदार शरीर, हृष्ठपुष्ट बाहु र तिघ्रा यसका मौलिक विशेषता हुन् । यसमा आकर्षक मुकुट लगाइएको छ । कानमा बोझिला कुण्डल, घाटीमा कण्ठहार, कम्मरबन्ध, बैजन्ती माला तथा धोती लगाएका छन् । यसको दायाँपट्टि बुद्घ परिवारका दुई सदस्य स्थानक मुद्रामा रहेका छन् । सम्भवतः यी तारादेवीका मूर्ति हुन् । बायाँपट्टि भने अर्को देवीको आकृति छ । यिनको शारीरिक संरचनाले शक्ति भएको पुष्टि हुने गर्छ ।
यी कलात्मक आकृतिहरु पनि विभिन्न वस्त्र र गरगहनाले सजिसजाउ अवस्थामा देखिन्छन् । यसको शारीरिक संरचना, सादा प्रभामण्डल, पारदर्शी वस्त्र, आंगिक अनुपात मिलेको जस्ता लक्षणको आधारमा यो मूर्ति प्राचीन कला प्रविधि र शैलीमा आधारित देखिन्छ । यसको प्रतिमा लक्षण निष्पन्न योगावली र धर्मकोश संग्रहको विवरणसँग मिल्दो छ । अवलोकितेश्वर वोधिसत्वले पद्मपुष्प ग्रहण गरेको अवस्थामा यसलाई पद्मपाणि अवलोकितेश्वर भनिन्छ ।
चारपाला बाघनाथ बाबाको क्षेत्र
दाङको गोवरडिहा-८ स्थित जङ्गलको बीचमा सिद्ध बाघनाथ बाबाधामको मन्दिर छ । सो मन्दिरको पृष्ठभूमि बाबा भुवनेश्वरनाथ थारुसँग जोडिएको बताइन्छ । विसं. १८७९ मा बाबा भुवनेश्वरनाथले स्थापना गरेको कुटीलाई नै अहिले सिद्ध बाघनाथ बाबाधाम भनेर भनिएको हो । बाघमा सवार भएर गाउँ डुल्ने भएकोले बाघनाथ भनिएको बताइन्छ । उहाँ बाबा बुटवलको चारपाला क्षेत्रबाट आएको भनी गाउँलेलाई बताएको आधारमा लेख्ने, जान्ने र बुझ्ने गरिन्छ ।
त्यतिवेलाको सन्दर्भमा चारपाला क्षेत्र कहाँ थियो भनेर खोजबिन गर्नु उत्तिकै जरुरी देखिन्छ । –पहिचान खोज्दै बाघनाथबाबा (जङ्गलकुटी)
भनिन्छ, बाबा भुवनेश्वरनाथ शिव भगवानका परम भक्त हुनुहुन्थ्यो । नाम भुवनेश्वरनाथ भए पनि उहाँलाई गाउँमा बाबाको नामले जानिन्थ्यो । उहाँ एक कुशल वैद्य हुनुहुन्थ्यो । गाउँका मानिस बिरामी पर्दा, दुःख संकट आइपर्दा तिनै बाबाले जडीबुटी र झारफुकले उपचार गर्नुहुन्थ्यो । गाउँलेहरुलाई सहयोग गर्ने भएपछि उहाँको मान बढ्दै जाँदा देवताको रुपमा मान्न थालेको भनेर भनिएको छ ।
गत वर्ष यसबारेमा अध्येता युवराज कणेंलले सामाजिक सञ्जालमार्फत् भुवनेश्वर को हुन सक्छन् भन्ने प्रश्न गर्दै भनेका थिए- राणाकालको मध्यसम्म स्थानीय प्रशासनिक इकाइलाई ‘पाल’ भनिँदो रैछ । पछि बुटवल ‘चारटप्पा’ भनिने यो क्षेत्र नै बुटवल चारपाला हुनसक्छ । बुटवलबाट गएको मान्छे/सिद्ध पुरुष नै भुवनेश्वर हुन सक्छन् । अंग्रेजको भत्ता खाएर पाल्पा हान्न सघाउन आएका सेनराजका प्रमुख सचिव कनकनिधि तिवारी बुटवलमा अंग्रेजको हार भएपछि सन् १८१४ मा बुटवलबाट वेपत्ता भएका थिए । भारतमा अंग्रेजको र नेपालमा बस्दा गोर्खालीले मार्ने डर भएकोले उनी चुरेको फेद हुँदै देउखुरी पुगेर नाम बदलेर ‘बाबा’ बनेर बसेको हुनसक्छ ।
उनले अर्को सम्भावनातर्फ पनि अनुमान गरेका छन्- सन् १८५७ को भारतीय सिपाही विद्रोह असफल भएपछि थुप्रै विद्रोहीहरु शरणको लागि नेपाल पसेका थिए । तीमध्ये एक प्रभावशाली व्यक्ति पेशवा नाना साहेब थिए । केही प्रभावशाली विद्रोहीहरुलाई जंगबहादुरले शरण दिए पनि नानालाई दिएनन् र सुपुर्दगी पनि गरेनन् । बरु उनलाई नेपालमै लुकेर बस्न सहयोग गरे । उनलाई देउखुरीको जंगलमा कुटी बनाएर बसेको अवस्थामा आफूले भेटेको र पछि ज्वरोले उनको मृत्यु भएको तथा स्थानीयले दाहसंस्कार गरेको कुरा उनकी बहिनीले एउटा पुस्तकमा उल्लेख गरेकी थिइन् । आखिरी बाबा भुवनेश्वर को थिए ? कनकनिधि वा नाना साहेब ? चारपाला कुटी कहाँ थियो ? खोजी गर्ने कि !
अब विषय इतिहासकारतिर सोझिएको छ । अध्येताहरुले पनि खोज गर्न सक्छन् । यी र यस्ता अमूल्य सम्पदा हुन् । यिनको खोजले इतिहासको सम्मान त हुन्छ नै, पर्यटनको विकास पनि हुन्छ । त्यस अर्थमा उपमहानगरपालिकाले पनि अनुसन्धानकर्तालाई अनुरोध गरेर टुंगो लगाउनु आवश्यक देखिन्छ ।
कुराे राम्रो छ । विषयप्रतिकाे माेह छ ।