कसरी रह्यो भट्टराई थर ?
खस आर्य जाति मध्ये एक भट्टराईको थरको नाम कसरी रहन गयो त भन्ने चासो हुनसक्छ । यही चासोलाई मेटाउन भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय कार्यालय झापा दमक स्थित वशिष्ठ आश्रममा भइरहेको कुलपूजाको अवसर पारेर सोधी खोजी गरी पत्रकार लीलाराज भट्टराईले यो लेख तयार पारेका हुन् । ।
खस आर्यका थरमध्ये नेपालमा बसोबास गर्नेहरूमा सबैभन्दा बढी जनसङ्ख्या छ भनेर भट्टराईले दाबी गर्ने गरेका छन् । नेपालको जनगणनाले थरको तथ्याङ्क ननिकाल्ने भएकाले कुन थरको यकिन जनसङ्ख्या कति छ भन्न गाह्रो छ ।
कुलवंश प्रतिष्ठान, कुल विकास प्रतिष्ठान लगायत गठन गरेर कुलको संस्कृतिको विकासमा भट्टराईहरू संगठित भएर कुल पूजा, पूलश्चरण लगायतका गतिविधिहरूमा सक्रिय देखिन्छन् । छोरी बुहारीसहितको नाम समेटेर व्यवस्थित वंशावली प्रकाशन गरेका कारण वंश नम्बरकै आधारमा साइनो लगाउन सजिलो भएको पाइन्छ ।
वास्तवमा थर तीन किसिमले रहेको पाइन्छ । बसोबास गरेको स्थान, पाएको मानपदवी र बिर्ताका आधारमा नेपालमा बसोबास गर्ने जातजातिको थर राखिएको पाइन्छ । भट्टराईको थर कसरी रह्यो भन्ने बारेमा पनि मतैक्ययता छैन । विभिन्न मतहरू पाइन्छन् । भट्टलाई राईले पालेर भट्टराई भएको भन्ने पनि निक्कै सुनिन्छ । तर, भट्टराई थर उपाधिका आधारमा हो भन्ने मत बलियो देखिन्छ ।
भट्टराईको गोत्र वशिष्ठ हो । अर्थात् भट्टराईहरू महर्षि वशिष्ठका सन्तान हुन् । ब्रह्माका दश भाइ छोरा मध्ये एक हुन्, वशिष्ठ । वशिष्ठका तीन पत्नी थिए अरुन्धती, कपिञ्जली र ऊर्जा । अरुन्धतीका छोरा शक्तिबाट ब्यासको जन्म भएको हो । ब्यासबाट शुकदेवका चार भाइ प्रभु, शम्भु, कृष्ण र गौर भए । यिनै चार भाइमध्ये साइला छोरा कृष्णबाट वशिष्ठ गोत्रीय भट्टराईको विकास भएको पाइन्छ ।
भट्टराई कुल रत्न जगतगुरु बालसन्तका अनुसार ब्रम्हाजीका सुपुत्र वशिष्ठ ऋषि, ऋषिका छोरा शक्ति, शक्तिका छोरा पराशरका छोरा ब्यास, ब्यासका छोरा सुखदेव हुँदै वशिष्ठ गोत्रीय भट्टराई वंशको बिस्तार भएको पाइन्छ ।
प्राध्यापक डा. माधव भट्टराईका अनुसार अठार पुराण र विश्वकै पुरानो ग्रन्थ वेदका रचयिता वेद ब्यास समेत वशिष्ठकै सन्तान हुन् । अनेक ऋषि महर्षि मध्ये महर्षि वशिष्ठको स्थान सर्वश्रेष्ठ रहेको पाइन्छ । उहाँलाई साधना, तपस्या, योग र ज्ञानका भण्डार मानिन्छ । सप्तर्षि मध्येका एक वशिष्ठ भगवान् रामचन्द्रका कुलगुरु हुनुहुन्थ्यो ।
भट्टराई वंशावलीमा उल्लेख भए अनुसार नेपालमा १३०० वर्ष अघिदेखि भट्टको रूपमा भट्टराईको वंश पहिल्याएको पाइन्छ । भट्ट, भट्टराज, भट्टराई हुँदै भट्टराई भएको पाइन्छ । भट्ट भनेको उपाधि हो । पढेलेखेका ज्ञानी ब्राह्मणलाई भट्ट भनिन्थ्यो । राजा रजौटाबाट विद्वान व्यक्तिहरूले भट्ट पद पाउँथे । भट् धातुबाट भट्ट बनेको हो । भट् धातुको अर्थ विद्वान हुन्छ । राईको अर्थ राजा हुन्छ । भट्टहरूको राजा अर्थात् विद्वानको पनि श्रेष्ठ विद्वान भट्टराई भनेर थर रहन गएको अभिमत भट्टराई कुल वंश प्रतिष्ठानले प्रकाशित गरेको वंशावली पुस्तकमा उल्लेख छ ।
अर्को मत अनुसार भट्टराईहरूका पुर्खा प्रकाण्ड विद्वान गर्भ भट्टले जुम्लाको स्वणर्ग्राम राजधानी भएका कल्याण नरेश बलिराज रावलबाट सम्मान सूचक राई उपाधि पाएका थिए । त्यही बेलादेखि विद्वान बोधक थर भट्ट र प्राप्त उपाधि राई जोडेर भट्टराई लेख्न थालेको भनिन्छ ।
दशौं शताब्दीमा जुम्लाको सिँजा आसपासका भट्टराईहरूका प्रमुख पुर्खा ऋषि भट्ट भट्टराईहरूका वंश नम्बर १ हुन् । भट्टराईको गोत्र वशिष्ठ हो । अर्थात् भट्टराईहरू महर्षि वशिष्ठका सन्तान हुन् । वशिष्ठ ऋषिका सन्तान भट्टराईहरू तेह्रौँ शताब्दी अगावै तत्कालीन कर्णाली प्रदेशको खस राज्यमा भट्ट ब्राह्मणका रूपमा रहेको किम्बदन्ती पाइन्छ ।
नेपालको एकीकरणभन्दा धेरै अघिदेखि धर्म, संस्कृति, राष्ट्रियता र सामाजिक सद्भावमा भट्टराईहरू प्रतिबद्ध देखिन्छन् । आधुनिक राष्ट्र निर्माणमा भट्टराई कुलका बलिदाशले पृथ्वीनारायण शाहसँग सहकार्य गरेको पाइन्छ । देशको सबैभन्दा ठूलो कार्यकारी पद प्रधानमन्त्रीदेखि लिएर प्रशासनिक उच्च तहहरूमा भट्टराईले नेतृत्व गरिसकेका छन् ।
हिन्दु धर्म मान्नुभन्दा अघिदेखिको संस्कृति भट्टराईले पालना गर्दै आएका छन् । उभौली, उद्यौली पर्व, वैदिक र तान्त्रिक विधिमा आधारित भएर गरिने कुल पूजा, मस्टो संस्कृति, हिन्दु संस्कृतिभन्दा बाहिर र अघिको मानिन्छ । भट्टराईहरूको मूल धर्मग्रन्थ वेद हो । वेदमा पनि यर्जुवेद अनिवार्य पढ्नु पर्ने मानिन्छ ।
लेखक पत्रकार भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठान सुनसरीका सचिव हुन् । ।
लीलाराज जी!
संस्कृत भाषामा भट्ट, भट्टारक,भट्टिनी आदि शब्दहरूको प्रयोग भएको पाइन्छ। जसको अर्थ स्वामी, विद्वान, पंडित, मालिक, राजा आदि अर्थको लागि प्रयोग भएको पाइन्छ। भने पालि भाषामा राजालाई राई भन्ने गरेको पढ्न पाइन्छ। यी सबै प्रयोगहरू हेर्दा भट्टराई थरको दुरुस्त शब्दार्थ “स्वामीराजा” भन्नु बढी युक्तिसंगत देखें मैले त! यसमा कसैको विमति भए वस्तुनिष्ठ तर्कसंगत प्रतिवाद गर्नुहोला।केवल तर्ककोलागि मात्र तर्क गरेर समय र श्रम मात्र बर्बाद गर्ने धृष्टता नगर्नुहोला।धन्यवाद!
👍️🙏सुनिरहेका भन्दा केही फरक कुरा जान्न पाइयो अझै अरुजानकारी को आशा छ