नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान – Nepal Press

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकका लागि मन्त्रालयले सूचना प्रकाशित गरेको हो ।

सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौँमा दरखास्त दिन सकिने जनाइएको छ ।

सूचना अनुसार दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा स्नातकोत्तर गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि पद रिक्त रहेको थियो । गत मंसिर २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले करिब दुई वर्ष अघि २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो ।

२१ महिना कार्य सम्पादन गरेका थानीले कार्यकाल सकिनु १५ महिना अगावै पदबाट राजीनामा दिएका हुन् । थानी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनलाई अहिले जापानका लागि नेपाली राजदूत वा राष्ट्रियसभा सदस्यको प्रस्ताव भएको चर्चा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर