लोकप्रियतावादको चिरफार – Nepal Press

लोकप्रियतावादको चिरफार

लोकप्रियतावाद अर्थात पपुलिजमका सन्दर्भमा धेरै अलमल रहेको देखिन्छ । बौद्धिक मित्रहरूले पनि लोकप्रिय हुनु र लोकप्रियतावादलाई एकै डालोमा राखिरहेका हुन्छन् । नेपाली राजनीतिमा पछिल्लो चरण व्यापक रुपमा पपुलिजमको प्रयोग गर्दै नयाँ अनुहारहरूको उदय भयो । त्यसपश्चात् भने पपुलिजमको बहस अलि बाक्लै रुपले अघि बढेको छ । धेरैलाई लाग्छ, जनतामाझ सकारात्मक छाप पार्न गरिने क्रियाकलाप नै पपुलिजम हो । यस अर्थमा मदन भण्डारीको जबजको प्रतिपादन, मनमोहन अधिकारीका बेला ल्याइएको वृद्ध भत्ता योजना, केपी ओलीको मध्यपहाडी लोकमार्ग यात्रा जस्ता धेरै विषय पपुलिजम नै हो भनेर तर्क गरिएको पाइन्छ । लोकतान्त्रिक प्रणालीमा जनतामाझ लोकप्रिय नभई चुनावमा जीत हासिल गर्न असम्भव प्रायः छ । त्यस अर्थमा त हरेक लोकतान्त्रिक राजनीतिक प्रणाली नै लोकप्रियतावादको अंग हुन आउँछ ।

म व्यतिmको लोकप्रियतालाई पपुलिजमसँग जोड्ने पक्षमा छैन । व्यक्तिले लोकप्रियता कसरी कमायो, लोकप्रियताका आधारमा सत्तामा जाँदा उसका व्यवहार कस्तो रह्यो जस्ता विषयहरूले लोकप्रिय हुनु र लोकप्रियतावादका बीच भिन्नता दर्शाउँछ । लोकप्रियतावादका सन्दर्भमा समाजवाद, साम्यवाद, पूँजीवाद जस्तो सटिक व्याख्या पाउन सकिन्न । किनकि यो कुनै क्रान्तिकारी विचारबाट जन्मेको अवधारणा होइन । पूर्ण रुपले विकसित भएको विचार नभए पनि लोकप्रियतावाद सिद्धान्त नै होइन भन्ने पक्षमा म छैन । लोकप्रियतावाद दक्षिणपन्थी र वामपन्थी दुबैका लोकप्रिय एजेण्डाहरूको मिश्रणमा स्थापित राजनीतिक शक्तिका विरुद्ध प्रयोग गर्छ । केही अपवादलाई छाड्ने हो भने प्रगतिशील शक्तिहरूसँगको वैचारिक लडाइँ लड्न नसक्ने अवस्थामा दक्षिणपन्थी शक्तिहरूले पपुलिजमको प्रयोग गरिरहेका छन् । तसर्थ, राइट विङ पपुलिजमका उदाहरण प्रशस्त पाइने गरेको छ ।

उन्नाइसौं शताब्दीको अन्त्यतिर संयुक्त राज्य अमेरिका ‘द पिपल्स पार्टी’का नाममा आधुनिक युगको पपुलिस्ट राजनीति सुरु भएको मान्यता छ । यो मूलतः लेफ्ट विङ पपुलिजम थियो, जसमा तत्कालीन अवस्थामा संयुक्त राज्य अमेरिकामा देखिएका किसानका समस्यालाई मुद्दाका रुपमा उठाइएको थियो । सन् १८९० पछि भने सो पार्टीको अस्तित्व समाप्त हुँदै गयो । किनकि उसलाई विचारले बाँधेको थिएन । स्पष्ट उद्देश्यको अभावमा सो आन्दोलन दिगो हुन सकेन । प्रथम र दोस्रो विश्व युद्धका बीचमा जर्मनीका एडल्फ हिटलर र इटलीका बेनिटो मुसोलिनीले पपुलिजमको कुन स्तरसम्म प्रयोग गरे भने त्यसले फाँसीजमको जन्म गरायो । ब्राजिलका ३८औं राष्ट्रपति जायर बोल्सोनारो र अमेरिकाका ४५औं राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय पनि पपुलिजमकै जगमा भएको थियो । सत्ता छोड्न नचाहेका यी दुबैले संसद भवन कब्जासम्मको प्रयास गरे । हालैको आमनिर्वाचनबाट निर्वाचित अर्जेन्टिनाका प्रधानमन्त्री जेभिए मिलेइ पनि राइट विङ पपुलिस्टका एक उदाहरण हुन् ।

लोकप्रियतावाद दक्षिणपन्थी र वामपन्थी दुबैका लोकप्रिय एजेण्डाहरूको मिश्रणमा स्थापित राजनीतिक शक्तिका विरुद्ध प्रयोग गर्छ । केही अपवादलाई छाड्ने हो भने प्रगतिशील शक्तिहरूसँगको वैचारिक लडाइँ लड्न नसक्ने अवस्थामा दक्षिणपन्थी शक्तिहरूले पपुलिजमको प्रयोग गरिरहेका छन् ।

दूरदर्शिता र दिगो राजनीतिक चरित्रको अभावमा पपुलिजमबाट उदाएका पात्रहरूको भविष्य लामो हुने गरेको छैन । उनीहरू समाजका तत्कालीन समस्यालाई उजागर गरेर शक्तिमा पुगेका हुन्छन् । तर, त्यसको समाधानको उपाय र अनुभव दुबै उनीहरूसँग हुँदैन । पपुलिजमलाई आधार बनाएर लामो समय शक्तिमा बस्न सफल भएका पात्रका नाम लिँदा हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनको नाम पहिलो नम्बरमा आउँछ । भिक्टर अर्बन सन् २०१० देखि लगातार ४ पटक हंगेरीको प्रधानमन्त्रीमा निर्वाचित भए । सन् १९९८ देखि २००२ सम्मको समयलाई हेर्ने हो भने उनी ५ पटक प्रधानमन्त्री भए । उनी लामो समय टिक्नुको पछाडि उनले ध्वस्त बनाउन सकेको लोकतान्त्रिक प्रणाली हो । उनको नेतृत्वमा प्रेस स्वतन्त्रता नभएको, न्यायालय स्वतन्त्र नरहेको, बहुदलीय लोकतन्त्रलाई नस्वीकारेको जस्ता आरोप लाग्ने गरेको छ । सन् २०१० र २०२० को बीचका हंगेरी प्रेस स्वतन्त्रता इन्डेक्समा ६९ स्थान खस्केको र लोकतान्त्रिक इन्डेक्समा ११ स्थान खस्केको छ । ‘भि डेम इन्डेक्स’ले २०२३ मा हंगेरीलाई इलेक्टोरल देशको श्रेणीमा ९६औं स्थानमा राखेको छ । ‘फ्रिडम हाउस’ले हंगेरीलाई स्वतन्त्र मुलुकबाट आंशिक स्वतन्त्र मुलुकमा घटुवा गरेको छ । अर्थात् पपुलिजमबाट उदाएकाहरु आफ्नो शक्तिमा टिकिराख्न उनीहरूले लोकतान्त्रिक प्रणालीलाई भत्काउने गरेका छन् । कम्युनिष्टहरूको अन्तिम विन्दु साम्यवाद र पूँजीवादीहरूको अन्तिम विन्दु लेसेज फेयर क्यापिटालिजम भने जस्तै पपुलिजमको अन्तिम विन्दु फाँसीजम हो ।

पपुलिजम एक वादका रुपमा विकसित भइरहेकोले यसका केही विश्वव्यापी समान विशेषताहरू देख्न सकिन्छ ।

  • पपुलिस्ट आन्दोलन सामान्यतया करिस्म्याटिक लिडरको नेतृत्वमा अघि बढ्ने गरेको छ ।
  • उनीहरूले सामान्य नागरिकका मुद्दा उठाए जस्तो गर्छन् र तिनी (सम्भ्रान्त) विरुद्ध हामी (सामान्य नागरिक) को भावना सृजना गरिदिन्छन् ।
  • कठिनभन्दा कठिन समस्या पनि सजिलै समाधान गर्न सकिन्छ भन्ने शैलीमा प्रस्तुत हुन्छन् ।
  • स्थापित सरकार र व्यवस्थाविरुद्ध कडा रुपले प्रस्तुत हुन्छन् ।
  • भावनात्मक भाषाको प्रयोग गरी राय निर्माण गर्ने जसलाई अंग्रेजीमा इमोशनल ब्ल्याकमेलिङ भनिन्छ ।
  • सत्ता प्राप्तपश्चात् शक्ति केन्द्रीकृत गरी उग्र राष्ट्रवाद र धर्म संस्कृतिको बचावतिर ध्यान मोड्ने प्रयास गर्ने ।

विश्वव्यापी रुपमा हेर्दा लोकप्रियतावादको उदयलाई योगदान गर्ने प्रमुख केही कारकहरू यस प्रकार छन् : आर्थिक असमानता र असुरक्षा, विश्वव्यापीकरण, संस्कृति र पहिचानमाथिको हमलाको आभाष, बेरोजगारी, स्थापित संस्थाप्रतिको असन्तुष्टि, सामाजिक सञ्जालको उदय ।

समस्या हरेक समाजमा हुन्छ । संसारकै उन्नत मानिएको र धनी देश अमेरिकामा पनि समस्याकै कारण पपुलिजमको उदय भएको हो । रोजगारीका लागि नेपालीहरू विदेश गए भन्ने हाम्रो समस्या हो । रोजगारीका लागि विदेशीहरु हाम्रो देशमा आएर हाम्रो रोजगारी खोसियो भन्ने ती देशका जनताको समस्या भइरहेको हुन्छ । यस्ता तत्काल देखापर्ने समस्यालाई समातेर पपुलिष्ट लिडरहरू शक्ति प्राप्तिमा लाग्छन् ।

प्रथम र दोस्रो विश्व युद्धका बीचमा जर्मनीका एडल्फ हिटलर र इटलीका बेनिटो मुसोलिनीले पपुलिजमको कुन स्तरसम्म प्रयोग गरे भने त्यसले फाँसीजमको जन्म गरायो । ब्राजिलका ३८औं राष्ट्रपति जायर बोल्सोनारो र अमेरिकाका ४५औं राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय पनि पपुलिजमकै जगमा भएको थियो । सत्ता छोड्न नचाहेका यी दुबैले संसद भवन कब्जासम्मको प्रयास गरे ।

नेपालकै सन्दर्भमा हेर्ने हो भने काठमाडौंका मेयर बालेन शाहले आफ्नो महानगरको २५ प्रतिशत विकास बजेट पनि खर्च गर्न सकेका छैनन् । तर, कहिले सिंहदरबार आगो लगाइदिन्छु त कहिले सिंहदरबारमा बस्नेहरूलाई बागमतीमा बगाइदिन्छु जस्ता अभिव्यक्तिले स्थापित संस्थाविरुद्ध विषवमन गरेको देखिन्छ । वर्षौंको सुकुमबासी समस्या आधा घण्टामा डोजर लगाएर समाधान गरिदिन्छुदेखि टुकुचा खोला कानूनी आधारविना खोलेर अलपत्र पार्ने काम सबै कठिन समस्या सजिलै समाधान गर्न सकिन्छ भन्ने राय निर्माण गर्न खोजिएका स्टन्ट हुन् । न इन्फ्रास्ट्रक्चर एम्बुलेन्सले काम गर्न सकेको छ न त चुनावअघि सडक व्यवसायीको समस्याको सजिलो समाधान गर्ने दाबी गरे जसरी भएको छ ।

ललितपुर महानगरका मेयरको बोलीलाई आधार मान्ने हो भने काठमाडौं उपत्यकामा हुने फोहरको करिब ६५ प्रतिशत काठमाडौं महानगरबाट मात्र निक्लिन्छ । यस्तो अवस्थामा फोहर व्यववस्थापनको नेतृत्वदायी भूमिका निर्माण गर्नुपर्ने व्यक्ति अराजक र गैरजिम्मेवार अभिव्यक्तिमा लागिपरेका छन् । पछिल्लो चरणमा त सूर्तीजन्य वस्तु आफ्नो महानगरमा निषेध हुनेछ भनेर अर्को स्टन्ट गर्न भ्याए । अदालतले सो निर्णय कार्यान्वयन गर्न रोक लगाउँछ भन्ने उनलाई या उनका कानूनी सल्लाहकारलाई थाहा नभएको पक्कै होइन । तर, त्यो समयसम्म एउटा स्टन्ट मार्केटमा फैलिहाल्छ नि भन्ने हो । काम गर्ने ठाउँमा पुगेर काम गर्न नसक्नु र त्यसलाई ढाकछोप गर्न अनेक लोकरिझ्याइँका स्टन्ट गर्नु पपुलिष्ट लिडरको विशेषता नै हो ।

यता बालेनको पपुलिजममा बनेको माहोललाई क्यास गर्दै राजनीतिमा उदाएका रवि लामिछाने र उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको व्यवहार पनि फरक छैन । आफ्नो विचार प्रस्ट नपारेर चुनावअघि मात्रै दल खोलेर असन्तुष्टिको भोट आफ्नो पोल्टामा हाल्न सफल भए । चुनावपछि नीति, सिद्धान्त र विचारको प्रस्टताको माग हुन थालेपछि विचारभन्दा पनि हामी डेलिभरी गर्ने, राम्रो काम गर्ने भनेर भ्रम छर्न खोजे । त्यसपश्चात् राजनीतिक रुपले लिनुपर्ने अडानहरू पनि यसो हेर्ने अनि जनताले के सुन्न चाहेका छन्, त्यही भनिदिने प्रवृत्ति देखापरेको छ । रमेश प्रसाईं, मुकुल ढकाललगायतले लेखेको भनिएको दस्तावेज विना छलफल नै यसै हराएर गयो । जान्नेलाई छान्ने भनेर नारा त सजिलै दिए । तर, जब चुनाव भएको एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने वैधानिक व्यवस्थाको कुरा आयो, त्यतिखेर भने नारा नारामै सीमित भयो । जाजरकोटमा भूकम्प जाँदा आफ्नो पार्टीलाई सरकारले ठेक्का दिनुपर्ने आशयको आधिकारिक निर्णय गर्ने तर मैदानमा स्वयंसेवक पनि खटाउन नसक्ने अवस्था एक वर्षभित्र नै देख्न सकिएकै हो ।

पपुलिजमबाट उदाएकाहरु आफ्नो शक्तिमा टिकिराख्न उनीहरूले लोकतान्त्रिक प्रणालीलाई भत्काउने गरेका छन् । कम्युनिष्टहरूको अन्तिम विन्दु साम्यवाद र पूँजीवादीहरूको अन्तिम विन्दु लेसेज फेयर क्यापिटालिजम भने जस्तै पपुलिजमको अन्तिम विन्दु फाँसीजम हो ।

पपुलिजमको दुई प्रमुख नकारात्मक पक्ष रहेका छन् । पहिलो, पपुलिष्ट लिडरहरु सत्तामा पुगेपछि लोकतान्त्रिक संस्थाहरुलाई भत्काएर निरंकुशता हुँदै फाँसीजमसम्म जाने सम्भावना रहन्छ । दोस्रो भनेको पपुलिजमले वैचारिक शून्यताको अवस्था सृजना गरिदिन्छ । यति भनिरहँदा यसका राम्रा पक्ष नै छैन भन्नु पूर्वाग्रही हुन आउँछ । पपुलिष्ट आन्दोलनको सकारात्मक पक्ष भनेको यसले समाजमा रहेका समस्याको उजागर गरिदिन्छ र अल्पसंख्यकका आवाजलाई बल प्रदान गर्छ । नेतृत्वलाई जवाफदेही बन्न र लोकतन्त्रलाई अझ सुढृढ बनाउन दबाब सृजना गर्छ । लोकतान्त्रिक संस्थाहरुलाई बलियो र विश्वासिलो बनाउन आवश्यक रहेको पनि पपुलिष्ट आन्दोलनले दर्शाउँछ । यसका वाबजुद पनि निरंकुशतातिर लम्कने, निश्चित शासन प्रणालीको खाका विनाको पपुलिष्ट आन्दोलनलाई मलजल गर्नु लोकतान्त्रिक चाहनाको पक्षमा हुन सक्दैन ।

अन्तमा, मनमोहन अधिकारीको नेतृत्वमा ल्याइएको वृद्ध भत्ता राज्यको समाजप्रतिको दायित्वअनुरुप हो, जो वामपन्थी आन्दोलनकै अंग हो । अहिले त हामीले सामाजिक सुरक्षा ऐन ल्याएर त्यसलाई अझ अगाडि लगेका छौं । जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद वामपन्थी आन्दोलनको लोकतान्त्रीकरण हो । नेपालको विशेषता बोकेको सिद्धान्त प्रतिपादन गर्दा उनी लोकप्रिय जननेता हुनु स्वाभाविकै रह्यो । अहिलेको नेपाली राजनीतिमा राष्ट्रवादी छवि बनाएका केपी शर्मा वलीले गरेको मध्यपहाडी लोकमार्ग यात्रा मध्यपहाडमा सम्भावना खोज्न हो । रित्तिरहेको गाउँ वरिपरि पूर्वाधार निर्माणपश्चात् आएको परिवर्तन र अब भविष्यमा गर्नुपर्ने कार्यका लागि जनतासँगै बुझ्ने पनि यस यात्राको उद्देश्य रहेको छ । यसपश्चात् बनाइने नीति तथा कार्यक्रमले भावी योजना प्रस्ट गर्ला । यी नेताहरुको यस किसिमको कार्यले जनतामाझ लोकप्रिय हुनु स्वाभाविक हो । तर, उनीहरुसँग आफ्नो निश्चित सिद्धान्त छ र सरकार सञ्चालनको प्रस्ट कार्यदिशा छ । यस अर्थमा यो लोकप्रियतावाद भने होइन ।

facebook.com/aashish.regmi

twitter.com/aashishregmii


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *