अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा माता सीताको माइत जनकपुरधामबाट कोसेली पठाउने तयारी – Nepal Press

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा माता सीताको माइत जनकपुरधामबाट कोसेली पठाउने तयारी

जनकपुरधाम । भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामको जानकी मन्दिरले भार (कोसेली) पठाउने तयारी गरेको छ ।

अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो । त्यहाँ ५ सय वर्षको संघर्षपछि विशाल राम मन्दिरको निर्माण भएको छ । मन्दिरमा जनवरी २२ अर्थात् माघ ८ मा प्राण प्रतिष्ठाको आयोजना गरिएको छ । मन्दिरमा आकर्षक र विशाल भगवान् श्रीरामको मूर्ति स्थापना गरिनेछ ।

जनकपुरधाम भगवान् रामको ससुराली अर्थात् माता सीताको माइत छ । मिथिला संस्कृति अनुसार छोरीको नयाँ घर बनेपछि ‘घरबास’को अवसरमा कोसेली पठाइने चलन छ । त्यसैले माता सीताको माइत जनकपुरधामबाट राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउने तयारीमा लागेको जानकी मन्दिरका सहायक महन्त रामरोषण दास ‘वैष्णव’ले जानकारी दिए ।

अयोध्या कोसेली पठाउन सहायक महन्त वैष्णवकै संयोजकत्वमा ११ सय सदस्यीय ‘ुजनकपुरधाम-अयोध्या कोसेली यात्रा समिती’ समेत गठन गरिएको छ । जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दास र जनकपुरधामका मेयर मनोज साहलाई समितिमा संरक्षक बनाइएको छ ।

जनवरी १९ (माघ ५) मा कोसेली यात्रा प्रारम्भ गर्ने र जनवरी २२ (माघ ८) मा अयोध्या पुगेर विधिवत् रूपमा सबै कोसेली राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गर्ने समितिका संयोजक ‘वैष्णव’ले जानकारी दिए । उनका अनुसार कोसेली यात्राका लागि हुलाकी सडक प्रयोग गरिनेछ ।

जनकपुरधामबाट जलेश्वरनाथ, मलंगवा, सिम्रौनगढ, गढीमाइ हुँदै वीरगञ्जमा पहिलो दिन रात्रि विश्राम गर्ने र त्यसको भोलीपल्ट वीरगञ्जको जानकी नगर गेटबाट भारत प्रवेश गरी बेतिया, कुशी नगर, सिद्धार्थ नगर हुँदै अयोध्या पुग्ने समितिका संयोजक वैष्णवले बताए ।

जानकी मन्दिरबाट लत्ताकपडा, आभूषण, भाडा वर्तन, विभिन्न मिठाई तथा पकवान लगायत ‘कोसेली’को रूपमा पठाइनेछ । भगवान् राम-सीताका लागि नगरवासीबाट संकलित कोसेली पनि पठाइने र त्यसका लागि सहयोग गर्न नगरवासीसँग समिति संयोजक तथा जानकी मन्दिरका सहायक महन्त वैष्णवले आग्रह गरेका छन् ।

अयोध्याको राम मन्दिर स्थापना गर्न लागेको भगवान् रामको मूर्ति नेपालकै अमूल्य शालिग्राम पत्थर’बाट भएको हो । म्याग्दीको बेनी नगरपालिका ६ ठूलोपहिरोस्थित कालीगण्डकी नदीबाट शालिग्राम निकालेर एक वर्ष अगाडी अयोध्या पुर्‍याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर