पूर्णबहादुरको सपना- परमादेशको २ दिनअघि किसुनजीले सभापतिजी र मलाई सिंहदबार लगेर भित्र जानुस् भन्नुभयो (भिडिओ) – Nepal Press

पूर्णबहादुरको सपना- परमादेशको २ दिनअघि किसुनजीले सभापतिजी र मलाई सिंहदबार लगेर भित्र जानुस् भन्नुभयो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालिन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतबाट फैसला आउनुअघि आफूले सपनामा किसनजीलाई देखेको थिए ।

देउवालाई प्रधानमन्त्री बनाउन अदालतको परमादेश आउनुअघि आफू र सभापतिलाई सिंहदबार पुर्याएर किसुनजी फर्किएको भन्दै सपनाको फेरिहस्त सुनाए ।

त्यसबारे उनले भने, ‘अदालतले फैसला गर्नुभन्दा दुई दिनअगाडि एक्कासी किसुनजी सपनामा प्रकट हुनुभयो। जुन जीपमा उहाँ चड्नुहुन्थ्यो । अहिले त्यो जीप आश्रममा छ । त्यही जीपमा उहाँ चढेर आज म जहाँ बस्छु, त्यहाँ अपर्झट आइपुग्नु भयो । मलाई बोलाउनु भयो । पछाडि बस बन्नुभयो । त्यसपछि सिँधै गाडी लिएर बुढानीकण्ठमास्थिति सभापति (देउवा) कहाँ पुग्नुभयो ।’

र, उहाँले ‘शेरबहादुरजी, शेरबहादुरजी आउनुहोस् तल’ भन्नु भयो । सभापतिजी आउनु भयो। त्यही गाडीमा छेउको सिटमा राख्नुभयो । सिधै त्यो गाडी ल्याएर सिंहदरबारमा पुर्याएर आफू ओर्लनुभयो । सभापतिजी तपाईं अगाडि जानुहोस् शेरबहादुरजी भन्नुभयो । मलाई पछाडि बस्नुहोस् भन्नुभयो । तपाईँहरू भित्र जानुहोस् म हिँडे भनेर बिदाइ गरेर जानुभयो । त्यसको दुई दिनपछि अदालतले परमादेश दियो । हाम्रो सभापति मुलुकको प्रधानमन्त्री हुनुभयो ।

उनले पञ्चायतको विरुद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नको लागि नेता भट्टराईले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गरेको भन्दै नेता भट्टराईको संघर्ष विशेष रहेको बताए ।

उनले भने, ‘नेता श्रद्धेय किसुनजी जसले पञ्चायतको बिरुद्धको आन्दोलनलाई पनि, लोकतन्त्रको पुनःस्थापनाका लागि पनि नेपाली माटोमै बसेर जननायक बिपी कोईराला लगायतका नेताहरु प्रवासमा जानुभयो, त्यहाँबाट पनि संघर्ष गर्नुभयो त्यो एउटा पाटो पनि किसुनजीको विशेष छ । उहाँले नेपाल नछोडिकन नेपालभित्रै बसेर, नेपालकै माटोमा बसेर संघर्ष गर्नुपर्छ र यहीँ भित्रैबाट पञ्चायतलाई परास्त गर्नुपर्छ भन्ने अर्को धारको नेतृत्व गर्दै यहीँ बसेर हामी भन्दाअघिका नेताहरुलाई अगुवाई गर्दै हिँड्नुभयो ।’

स्व. नेता बीपी कोइराला लगायतका नेताहरु पञ्चायतबिरुद्धको आन्दोलनका लागि प्रवासमा गएपनि नेता भट्टराईले स्वदेशमै रहेर आन्दोलन गर्नु विशेष रहेको बताए ।

उनले थपे, ‘हामीले पार्टी र सरकार सञ्चालनमा उहाँले देखाएका बाटोहरु, उहाँको निष्ठाको कुरा गर्छौं, जीवन जगतको कुरा गर्छौं, त्यसमा कति प्रतिशत उहाँको बाटोमा हिँडाउन सकेका छौँ । त्यसमा हामीले स्मरण गर्दै, भएका कमजोरी सच्याउने, गल्ती नगर्ने र हुन दिने छैनौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर