फारवेस्ट पशुपति कपः नेपाल प्रहरी र पुनर्वास युनाइटेड विजयी
कैलाली । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश र कञ्चनपुरको पुनर्वास युनाइटेड क्लबले एनआरएनए छैटौं फारवेस्ट पशुपति कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
फारवेस्ट पशुपति युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको तेस्रो दिन जीत हात पार्दै नेपाल प्रहरी सुप प्रदेश र पुनर्वासले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
धनगढी रङ्गशालामा भएको पहिलो खेलमा नेपाल प्रहरीले ब्वाइज युनियन लम्की कैलालीलाई १-० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । प्रहरीको जीतमा एकमात्रै गोल प्रदीप बोगटीले गरे । खेलको ८ मिनेटमै प्रदीपले गरेको गोल नै निर्णायक बन्यो । उनी खेलको म्यान अफ द म्याचसमेत बने । उनले नगद ५ हजारसहित ट्रफी पाएका छन् ।
दोस्रो खेलमा पुनर्वास युनाइटेडले ग्रीन युथ क्लबलाई १-० ले हरायो । पुनर्वासको जीतमा विदेशी खेलाडी काइटेमोन गाइडेनले निर्णायक गोल गरे । उनले पहिलो हाफको २६औं मिनेटमा गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुनर्वासका गोलरक्षक कुम्भ देउवा म्यान अफ द म्याच भए । उनले नगद ५ हजारसहित ट्रफी पाएका छन् ।
प्रतियोगिताअन्तर्गत सोमबार वीएस १५ फुटबल एकेडेमी र सशस्त्र प्रहरी बल ७ नम्बर बाहिनी तथा विदेशी टोली सीएफसी कोलकत्ता र सुदूरपश्चिम ११ स्पोर्टस क्लब प्रतिस्पर्धा गर्नेछन् । पुस १४ गतेसम्म हुने प्रतियोगितामा १५ टीम सहभागी छन् ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष खेम रावतले बताए ।