लिखु तामाकोशीमा डिजिटल प्रविधिबाट प्राथमिक स्वास्थ्य सेवाको प्रयोग, सामुदायिक स्वास्थ्यकर्मीलाई तालिम – Nepal Press

लिखु तामाकोशीमा डिजिटल प्रविधिबाट प्राथमिक स्वास्थ्य सेवाको प्रयोग, सामुदायिक स्वास्थ्यकर्मीलाई तालिम

रामेछाप । डिजिटल प्राथमिक स्वास्थ्य सेवा विस्तार परियोजना अन्तर्गत लिखु तामाकोशी गाउँ पालिकाको सातै वडामा रहेका सामुदायिक स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्तर उन्नतिको लागि प्रशिक्षण दिइएको छ ।

विकसित प्रविधि र शैलीहरुलाई अनुकुलन गर्ने उद्देश्यले Neonatal Medical Simulator Device प्रयोग सम्बन्धि प्रशिक्षण दिइएका आयोजकले जनाएको छ ।

मृत जन्म भएका शिशु तथा नवजात मृत्युलाई सिम्युलेटर उपकरणमार्फत कसरी उपचार गराउने भन्ने सम्बन्धमा जापानी इलिकम (ELECOM) कम्पनीद्वारा निर्मित उपकरण प्रयोग गरि जापानी डाक्टर मार्फत प्रशिक्षण दिइएको हो ।

स्वाथ्य मन्त्रालयको संयोकत्वमा स्वास्थ्य विभागमा समेत नेपालमा यस उपकरण प्रयोग सम्बन्धि सेमिनारको आयोजना भइसकेको छ । यहि परियोजना अन्तर्गत रामेछापको लिखु तामाकोशी गाउँ पालिकाको सातै वडाका विद्यालयहरुमा प्राथमिक उपचार सम्बन्धि स्वास्थ्य शिक्षा तालिम संचालन भइरहेको छ ।

हालै वडा नम्बर २ सैपु स्थिति अरुणोदय माध्यमिक विधालयका विधार्थीहरुलाई प्रशिक्षण दिइको थियो । यो स्वास्थ्य शिक्षा कार्यक्रम करिब १८ महिनासम्म संचालन हुने गाउँपालिकाको स्वास्थ्य समन्वय इकाइले जनाएको छ ।

संस्थाका ७ जना सामुदायिक स्वास्थ्यकर्मीहरुको २ दिने आधारभूत तालिम पनि सातै वडामा सम्पन्न भएको भएको छ । मातृ शिशु, गर्भवती महिलाहरुको हेरचाह, दीर्घरोग तथा दिर्घ रोगीहरुको हेरचाहका लागि आवश्यक ज्ञान तथा शरीरको तापक्रम नाप्ने विधिबारे पनि आवश्यक तालिम दिइएको छ ।

यो तालिमबाट रक्तचाप तथा नाडीको दर मापन विधि, श्वासप्रश्वासको दर मापन विधि, जस्ता vital Sign सम्बन्धि अत्यावश्यक र आधारभूत जानकारी स्थानीयस्तरमै प्राप्त भएको वडाध्यक्ष सन्तोष पौडेलले बताए ।

यसका साथै डिजिटल प्रविधिको प्रयोग गरि प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उदेस्य अनुरुप आशा कनेक्ट (ASHAconnect) मोबाइल एप्स सम्बन्धि तालिम समेत सबै सामुदायिक स्वास्थ्यकर्मी कर्मचारीहरुलाइ दिइएको छ ।

उनीहरुलाई एप्स सहितको मोबाइल सेट, रक्तचाप नाप्ने उपकरण, तौल नाप्ने उपकरण, थर्मामिटर जस्ता Vital Sign मापन उपकरण समेत दिइएको परियोजनाले जनाएको छ ।

यो परियोजना, लिखु तामाकोशी गाउँ पालिकासंगको समन्वयमा गणेश उज्जन स्मृति प्रतिस्ठानले NPO ASHA जापानसंगको सहकार्यमा करिब १८ महिना सम्म संचालन गर्ने भएको छ ।

यो अवधि सकिएपछि परियोजनासहित सबै उपकरण र विधीहरु गाउँपालिकालाई हस्तान्तरण गरिने प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठले जानकारी दिइन् ।

द्धन्द्धकालमा माओवादीबाट हत्या गरिएका दाजु गणेश कुमार श्रेष्ठ र भाइ उज्जन कुमार श्रेष्ठ (भुवन) स्मृतिमा ओखलढुंगा पोकलीकी सावित्री श्रेष्ठले सो प्रतिष्ठानमार्फत विद्यालय निर्माणलगायतका सामाजिक कामहरु सन्चालन गरिरहेकी छन् ।

तालिम समापनमा लिखु तामाकोशी गाउँ पालिका अध्यक्ष केशव महत,एनपिओ आशा जापानका अध्यक्ष योशिफुमी निन्, परियोजना प्रबन्धक ताकाको मोरिता, एलेकम कम्पनीका सीइओ कोता हादा सहित १० सदस्य जापानी टोली समेत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर