‘कलर रिभोलुसन’ हुन लागेको सूचना दिएकोमा सर्वियाकी प्रधानमन्त्रीले दिइन् रुसी जासुसलाई धन्यवाद
काठमाडौं । सर्वियाको राजधानीमा हुन लागेको कलर रिभोलुसनको सूचना दिएकोमा सर्वियाकी प्रधानमन्त्रीले रुसी जासुसलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री एना बिर्नामिकले आइतबार राति टीभी पिंकमा बोल्दै रुसी जासुसलाई धन्यवाद दिएकी हुन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार आइतबार राति सर्वियाको राजधानीमा हुलदंगासहितको प्रदर्शनीको तयारी भएको थियो । त्यसबारेमा रुसी जासुसहरुले अग्रीम जानकारी दिएर स्थितिलाई समयमै नियन्त्रणमा लिन सकिएको थियो ।
प्रधानमन्त्री एनाले रुसको नामै लिएर धन्यवाद दिए पनि राष्ट्रपति एलेक्जान्डर भुसिकले भने नाम नलिइकन ‘विदेशी सेवा’का कर्मचारीलाई धन्यवाद दिएका छन् ।
गत हप्ताको संसदीय चुनावपछि चुनावमा धाँधली भएको नाममा सोमबारबाट सर्वियामा प्रदर्शनहरु भएका छन् । प्रदर्शनकारीहरुले सत्ताधारी दल सर्वियाली प्रगतिशील पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।