सुदूरपश्चिमबाट एक महिनामा लागुऔषधमा संलग्न ६६ पक्राउ
डोटी । सुदूरपश्चिम प्रहरीले एक महिनामा प्रदेशभित्रबाट लागुऔषधको कारोबारमा संलग्न ६६ जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंसिरमा लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा तीन महिला र ६४ जना पुरुषलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरुबाट ३८० ग्राम हेरोइन, १० किलो ६०० ग्राम चरेस र ९१ किलो ५१५ ग्राम गाँजा बरामद भएको कार्यालयले जानकारी दिएको छ ।
यस्तै १४ एम्पुल रेक्सोजेसिक, १४ एम्पुल फेर्नागन, करिब ४५० ग्राम अफिम पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार सो अवधिमा कैलालीको घनगढी, त्रिनगर, टीकापुर, सत्ति, लम्की मालाखेती क्षेत्रबाट दुई महिला र ३१ पुरुष गरी ३३ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट हेरोइन १७ ग्राम ९० मिलिग्राम र चरेस तीन किलोग्राम ७८० ग्राम नियन्त्रणमा लिइएको छ ।
यस्तै कञ्चनपुरको महेन्द्रनगर, गड्डाचौकी, बेलौरी, बेलडाँडी र त्रिभुवन बस्तीबाट एक महिला र २२ पुरुष गरी २३ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिहरुबाट हेरोइन सात ग्राम ७८ मिलिग्राम, चरेस २२ मिलिग्राम, १४ एम्पुल रेक्सोजेसिक, १४ एम्पुल फेर्नागन, करिब ४५० ग्राम अफिम बरामद भएको छ ।
मंसिरमै डडेल्धुरा सदरमुकाम क्षेत्रबाट ३५० ग्राम हेरोइनसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बझाङको दुर्गाथली र खप्तड छान्ना क्षेत्रबाट ६ किलो ६० ग्राम चरेस र ९१ किलो ५१५ ग्राम गाँजासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै डोटीको शिखर नगरपालिका-२ कालागाड क्षेत्रबाट चार ग्राम ४१० मिलिग्राम हेरोइनसहित एक जनालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पक्राउ परेका सबै व्यक्तिका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यस्तै कात्तिकमा सुदूरपश्चिमबाट ६१ पुरुष र तीन महिला गरी ६४ जना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जसमध्ये दुई जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
यस महिनामा प्रहरीले गाँजा २९० ग्राम, चरेस आठ किलो ६१६ ग्राम र हेरोइन ५७ ग्राम १७८ मिलिग्राम बरामद गरेको थियो । यस्तै नाइट्रोभेट ५० क्याप्सुलसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पुसको ८ दिनमा ६ जना पक्राउ
प्रहरीले पुसको पहिलो ८ दिनमा ६ जना लागुऔषधका कारोबारीहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रदेश प्रहरीका अनुसार पुस १ गते कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका- १ बाट दुई ग्राम ४२ मिलिग्राम हेरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
यस्तै पुस ३ गते कैलालीको भजनी नगरपालिका-३ बाट ६ ग्राम ७५ मिलिग्राम हेरोइनसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । सोही दिन कञ्चनपुरको बेदकोट नगरपालिका- ७ बाट हेरोइन र चरेससहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ५ गते कैलालीको गोदावरी नगरपालिका- १ बाट ५७० मिलिग्राम हेरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । ७ गते कञ्चनपुरको भीमदत्त नगरपालिका- १८ बाट एक ग्राम २१ मिलिग्राम हेरोइन र प्रेगावालिन ६ ट्याव्लेटसहित १ जना पक्राउ परेका छन् ।
लागुैषधको कारोबार नियन्त्रण गर्न सुदूरपश्चिम प्रहरीले लागुऔषधविरुद्धको अभियान तीव्र बनाएको छ । प्रहरीले विद्यालय र क्याम्पसहरुमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।