मुजिब उर रहमानलाई व्यवसायिक क्रिकेट खेल्न अफगानिस्तानले गर्याे कडाइ
काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले मुजिब उर रहमानसहित तीन क्रिकेटरलाई आगामी दुई वर्षका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने निर्णय गरेको छ ।
फजाल हक फारुकी र नवीन उल हकमाथि पनि कडाइ गरिएको हो । राष्ट्रिय टोलीलाई कम महत्व दिएर व्यवसायिक क्रिकेटमा ध्यान दिएको उनीहरुमाथि आरोप लागेको छ । व्यवसायिक क्रिकेट प्रतियोगितामा सहभागी हुने कुनै पनि देशको क्रिकेट बोर्डको एनओसी अनिवार्य हुन्छ ।
अफगानिस्तान क्रिकेट बोर्डका अनुसार यी तीनै जना खेलाडीले बोर्डसँगको वार्षिक केन्द्रीय सम्झौता बाहिर आफूहरुलाई राख्न आग्रह गरेका थिए । व्यवसायिक क्रिकेटमा बढी समय दिन उनीहरुले त्यस्तो आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
राष्ट्रिय जिम्मेवारीलाई भुलेर व्यक्तिगत रुचिमा बढी ध्यान दिएको ठहर गर्दै बोर्डले उनीहरुलाई अनुशासन कारबाही गरेको हो । यसअघि यस विषयमा छानबिन गर्न त्यहाँको बोर्डले समिति बनाएको थियो । मुजिब, फारुकी र नवीन तीनै जना इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने खेलाडी हुन् । मुजिब हाल बिग बास लिग क्रिकेट खेलिरहेका छन् ।