विमानस्थलको सीसीटीभी फुटेज २१ दिनमात्रै स्टोरेज भएको विषयमा क्यानको प्रष्टीकरण- बजेट पुगेन – Nepal Press

विमानस्थलको सीसीटीभी फुटेज २१ दिनमात्रै स्टोरेज भएको विषयमा क्यानको प्रष्टीकरण- बजेट पुगेन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सीसीटिभिको स्टोरेज २१ दिन मात्र हुनुमा बजेट अभाव भएको कारण देखाएको छ ।

महाप्रबन्धक प्रताप बाबु तिवारीले विज्ञप्ति जारी गर्दै सीसीटिभी स्टोरेज तीन महिनाको बनाउन बजेट माग गरिएको तर तत्कालीन समयमा कोभिड १९ का कारण अन्य प्राथमिक क्षेत्रमा खर्च गर्नुपरेको र जसका कारण बजेट प्राप्त नभएकाे उल्लेख गरेका छन् ।

‘विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सीसीटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड १९ का कारण बजेट अभाव भई अरु प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नुपर्ने भएकोले बजेट उपलब्ध हुन सकेन’, विज्ञप्तिमा भनिएको छ ।

यद्यपी असोज २७, २०८० बाट भने विमानस्थलका विभिन्न क्षेत्रमा गरी जडित ५०० वटा सीसीटिभीको स्टोरेज तीन महिना बनाउन लागिएको र यसै वर्षभित्र त्यो सम्पन्न हुने महाप्रबन्धक तिवारीले उनले उल्लेख गरेका छन् ।

विमानस्थलको सीसीटिभीको स्टोरेज क्षमता २१ दिनमात्रै भनेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उड्डयन कार्यालयले अहिलेसम्म केही सीसीटिभीको स्टोरेज २१ दिन, केहीको ६१ दिन भइसकेको र अन्यको पनि क्रमशः बढाइँदै लगिने जनाएको छ ।

‘१६ ‘टिबी’ क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरुमा केही समय लागेको हो । सबै सि सि टिभिको स्टोरेज २१ दिन मात्र भएको भनी प्रतिवेदन र समाचारमा आएको विषयमा त्यस समयमा क्षमता विस्तारको कार्य सुरु गरेको नै तीन महिना नभएकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमताको भइसकेको छ भने बाँकीको पनि क्रमश बढ्ने क्रममा छ’, विज्ञप्तिमा उल्लेख छ ।

गत आर्थिक वर्षमा व्यवस्था भई टेन्डर प्रक्रिया अन्तर्गत खरिद गरी गत असोज २७ मा रेकर्ड स्टोरेज विस्तारको लागि नागरिक उड्डययन, भन्सार कार्यालय, नेपाल प्रहरी, अध्यागमन कार्यालय प्रमुखको उपस्थितिमा संयुक्त बैठक बसी निर्णय गरी जानकारी समेत गराई तीन महिना स्टोरेज क्षमता भएको प्रविधिको जडान कार्य अघि बढाइएको कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस्: त्रिभुवन विमानस्थललाई प्रश्न: ३ महिना सुरक्षित राख्नुपर्ने सीसीटीभी फुटेज किन २१ दिनमात्रै ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर