‘खोया काण्ड’ पछिको खोज पत्रकारिता ! रविलाई सहकारी घोटालामा घिसार्ने ‘१२ भाइ’ तरिका
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एउटा सहकारीको विवादमा मुछेर तेजोवध गर्ने नयाँ प्रयास सुरु भएको छ । पाठकलाई भ्रमित पार्नेगरी केही सञ्चारमाध्यमले संगठित तवरबाटै उनीविरुद्ध प्रहार केन्द्रित गरेका छन् ।
रवि लक्षित पछिल्लो विवाद खासमा ‘खोया काण्ड’ बाट उब्जेको हो । कान्तिपुर दैनिकले रविलाई खोया हान्ने व्यक्ति सूर्यदर्शन सहकारीका पीडित रहेको र रविले भाषणमा सहकारीको प्रसंग निकालेपछि उनले खोयाले प्रहार गरेको कपोलकल्पित समाचार लेखेको थियो । रविले सामाजिक सञ्जालबाट कान्तिपुरको समाचारलाई ठाडो खण्डन गरेका थिए । उनले नियोजित तवरबाट समाचार लेखिएको भन्दै कान्तिपुरमाथि गम्भीर आरोप लगाए ।
कान्तिपुरले दुई दिनपछि झूटो समाचार लेखेको स्वीकार्दै क्षमायाचना गर्यो । तर, यसबाट आफ्नो प्रतिष्ठामा भएको क्षतिलाई न्यूनीकरण गर्ने ध्येयले रविमाथि निशाना साँध्न सुरु गर्यो । देशको नम्बर एक सञ्चारमाध्यम दाबी गर्नेले यसरी एक जना अमूक नेतासँग व्यक्तिगत प्रतिशोध लिन खोज्नु लज्जास्पद हो ।
अन्य केही विरादरीका मिडियाहरु पनि कान्तिपुरसँग सती जाँदै रविको खेदोमा उत्रिनुले विगतको ‘१२ भाइ’ भाष्यलाई पुनः जागृत गरिदिएको छ । यसरी पत्रकारिताको हुर्मत लिइनु हुँदैनथ्यो । तर, नेपालका करिब आधा दर्जन छापा तथा अनलाइन मिडिया कसैलाई ठोक्न र बोक्न यसैगरी संगठित हुने गरेका छन् ।
उनीहरुको नियतमा किन पनि प्रश्न उठ्छ भने जीबी राईको सहकारीका बचतकर्ता पीडित भएको अहिले होइन । उनीहरुले आवाज उठाउन थालेको पनि अहिले होइन । राईलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको नै धेरै भइसक्यो । अहिले अचानक कान्तिपुरलगायत १२ भाइलाई किन संवेदनशीलता जाग्यो ? किनकि उनीहरु रविलाई पाठ सिकाउन आतुर थिए । उनीहरु मिडियाको शक्ति देखाउन आतुर थिए । यदि साँच्चै पीडितप्रति सहानूभुति थियो भने कान्तिपुरले ‘पीडितहरु हार्ट अट्याक भएर अस्पताल भर्ना’ भनेर लेख्नुअघि उनीहरुको तस्वीर र बाइटसमेत राखेर समाचारलाई विश्वसनीय बनाउने प्रयास गर्थ्यो होला । तर, यो भावुकतामा पनि नभएर आवेशमा लेखिएको समाचार हो ।
अब विषयमा जाउँ ।
रवि राजनीतिमा आउनुअघि ग्यालेक्सी टेलिभिजनमा आवद्ध थिए । न्यूज २४ टीभीमा ‘जनतासँग सीधा कुरा’ कार्यक्रम चलाएर कमाएको प्रतिष्ठा र लोकप्रियताको जगमा टेकेर उनले निकै महत्वाकांक्षी ढंगले ‘ग्यालेक्सी टीभी’ सुरुवात गरेका थिए २०७७ साल फागुनमा । यद्यपि, सो टेलिभिजनमा उनले आफ्नो पैसा लगानी गरेका थिएनन् । मुख्य लगानीकर्ता जीबी राई उर्फ गितेन्द्रबाबु राई हुन् ।
प्राप्त जानकारीअनुसार रविले टीभी प्रसारण सुरु हुनुअघि मासिक ४ लाख ५० हजार र टीभी सञ्चालनमा आएपछि मासिक ८ लाख रुपैयाँ तलव प्राप्त गर्ने सम्झौता थियो । उनी टेलिभिजनका म्यानेजिङ डाइरेक्टर थिए । यो भनेको कुनै पनि कम्पनीको दैनन्दिन कामलाई नेतृत्व गर्ने पद हो । त्यसबाहेक राईले रविलाई टेलिभिजनको १५ प्रतिशत शेयर निःशुल्क दिएका थिए । यो भनेको ‘गुडविल शेयर’ हो । टेलिभिजनले नाफा गरेको अवस्थामा त्यसको १५ प्रतिशत रविको भागमा पर्थ्यो । तर, अहिलेसम्म टीभी नाफामा गएको छैन । पछिल्लो अवस्थामा त आर्थिक रुपमा संकटग्रस्त बनेको छ ।
रविले टीभीमा एक वर्षमात्रै काम गरे । राजनीतिमा हाम्फाल्न उनले गत वर्ष असारमा हठात टेलिभिजनबाट राजीनामा दिए । रविको लोकप्रियता हेरेर जीबीले टेलिभिजनमा ठूलो लगानी खन्याएका थिए । सुरुमा राम्रो बिजनेस पनि आएको थियो । तर, एक करोड २० लाख रुपैयाँ मासिक तलबमै खर्च हुन्थ्यो । त्यसैले टीभी नाफामा जान सकिरहेको थिएन । रविले छोडेर हिँडेपछि टेलिभिजन चाँडै धराशायी बन्यो । कर्मचारीले नियमित तलब पाउन छोडे । अहिले टेलिभिजन बन्द हुने अवस्थामा पुगेको छ ।
रविले टेलिभिजन छाड्दा आफ्नो नामको शेयरबापत केही पनि दाबी गरेको देखिएन । सबै शेयर यत्तिकै फिर्ता गरेर हिँडेको उनले आफ्नो अन्तिम टेलिभिजन कार्यक्रममै बताएका थिए । सञ्चालक जीबी राईसँग सौहार्द रुपमै उनी बिदा भएका हुन् । उनले काम गरुञ्जेलको तलब खाइसकेका थिए । त्यसैले टीभी छोडेपछि कुनै लेनदेन बाँकी रहेन ।
ग्यालेक्सीका मालिक जीबी राईको कुरा गर्दा उनी नेटवर्क व्यवसायबाट उदाएका हुन् । विगतमा उनी हर्बो इन्टरनेशनलका एक साझेदार थिए । सरकारले २०६८ सालमा नेटवर्क व्यवसायमा प्रतिवन्ध लगाएपछि राईले आफ्नो लगानी सहकारीमा केन्द्रित गरे । उनको समूहले देशभर सात वटा सहकारी सञ्चालनमा ल्याएको थियो, त्यसमध्ये पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी पहिलो हो ।
टेलिभिजन चलाउन राईले आफ्ना सहकारीहरुबाट ठूलो रकम ऋण निकालेको पाइएको छ । सहकारीले आफ्ना सदस्यबाहेक अरुलाई ऋण दिन मिल्ने कानूनी प्रावधान छैन । यसैले राईले कानून उल्लंघन गरेको देखिन्छ । तर, यसको भागीदार रवि लामिछाने हुन् कि होइनन् भन्ने मूल प्रश्न हो । दोस्रो, रविको नाम उल्लेखित एउटा चिर्कटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सूर्यदर्शन सहकारीमाथि छानबिन गर्न पोखरा महानगरले बनाएको छानबिन समितिको रिपोर्टबाट निकालिएको उक्त चिर्कटोमा सो सहकारीको १ करोड रुपैयाँ रवि लामिछानेको नामबाट फर्छ्योट भएको उल्लेख छ । यही चिर्कटो राखेर कान्तिपुरले यस्तो भ्रम छर्न खोजेको छ कि रविले सहकारीको एक करोड घपला गरेका हुन् ।
सामान्य हिसाबले हेर्दा के देखिन्छ भने जीबी राईले सहकारीबाट निकालेर टीभीमा हालेको एक करोड रुपैयाँको हिसाब मिलाउन रविको नाममा अल्पकालीन कर्जा खडा गरेका थिए । यस्तो कर्जालाई ‘पुलेसो कर्जा’ भन्ने गरिन्छ । कुनै पनि कामका लागि तत्काल पैसा चाहियो, तर आउने ठाउँबाट आउन अलिकति समय लाग्ने भयो भने पछि फरफारक गर्ने गरी यस्तो लोन दिने गरिन्छ । यो अवैध होइन । नेपालमा यो लोन खासै प्रयोगमा पनि छैन । तर, युरोपका देशहरुमा भने ब्रिजिङ लोन धेरै उपयोग हुने गरेको छ । रविले ग्यालेक्सी छोड्नुअघि यो कर्जा राईकै नाममा सारेर रफादफा भइसकेको छ । अर्थात उनी यो कर्जाबाट पनि मुक्त छन् ।
यद्यपि, रविले सार्वजनिक भाषणमा आफूलाई यो विषयमा जानकारी नै नरहेको बताएका छन् । सूर्यदर्शन सहकारीसँग आफ्नो कुनै पनि सम्बन्ध र सरोकार नरहेको र एक करोड रुपैयाँमा कसरी नाम जोडियो भन्नेबारे पनि बेखबर रहेको उनको दाबी छ । रवि निकट स्रोतले आफ्नो नाम कसरी दुरुपयोग भयो भन्नेबारेमा रविले अध्ययन गरिरहेको र आवश्यक परे कानूनी उपचारको खोजी पनि गर्न सक्ने बतायो ।
अब कुरा गरौं सहकारी ठगीको । जीबी राईले सहकारीबाट करोडौं रुपैयाँ निकालेर टीभीमा लगानी गरे । तर, टीभी निरन्तर घाटामा गएपछि उनले सहकारीको रकम फिर्ता गर्न सकेनन् । सहकारीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेन । सबैभन्दा ठूलो रकम निकालिएको सूर्यदर्शनका पीडितहरु आन्दोलित भए । राईविरुद्ध मुद्दा दायर भयो । अदालतले गत भदौमा पक्राउ पुर्जी जारी गर्यो । र, हाल उनी फरार सूचीमा छन् । उनीमाथि बचतकर्ताहरुको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप छ । जीबीका मुख्य सहयोगी कुमार रम्तेल पक्राउ परिसकेका छन् ।
अब अहिले आएर कान्तिपुरले यो प्रकरणमा रविलाई जोडेको छ । ‘खोया काण्ड’ मा लज्जित बन्दै क्षमायाचना गर्नु परेपछि कान्तिपुरले रविविरुद्ध ‘खोज पत्रकारिता’ थालेको बुझ्न कठिन छैन । कान्तिपुरको तर्क छ कि सहकारीबाट टेलिभिजनमा अवैध रुपमा भएको ऋण लगानीको जवाफदेही रवि हुन् किनकि उनी त्यसबेला कम्पनीका ‘म्यानेजिङ डाइरेक्टर’ थिए ।
सहकारीले आफ्ना सदस्यबाहेकलाई ऋण प्रवाह गर्न नपाउने कानून रहेको छ । साथै, कुनै पनि नाफामूलक प्राइभेट वा सरकारी कम्पनी सहकारीको सदस्य बन्न सक्दैनन् । यसले गर्दा जीवी राईको सहकारीबाट टेलिभिजनमा विनाधितो ऋण लगानी हुनु अवैध नै हो । तर, यसमा गल्ती सहकारीको हो कि टेलिभिजनको ? वा दुवैको ?
कुनै पनि वित्तीय संस्थाले कसैलाई मापदण्डविपरीत र विनाधितो ऋण दिएको रहेछ भने त्यसको जोखिम उक्त संस्थाले नै व्यहोर्नुपर्छ । कारबाहीको भागीदार पनि उक्त संस्थाका सम्बन्धित अधिकारी नै हुन्छन् । ऋणीलाई पनि कानूनले नछुने होइन । तर, यो केसमा मुख्य ऋणी पनि जीबी राई नै हुन् । उनले टीभीको सञ्चालक समितिको बैठकबाट निर्णय पनि नगराइकन ऋण ल्याएको बुझिन आएको छ । टीभीका लगानीकर्ताले कहाँबाट पैसा ल्याएका हुन् भन्नेमा रवि नै बेखबर थिए कि ! त्यो जानकारी उनले राख्नैपर्थ्यो कि पर्थेन ?
जहाँसम्म रवि नैतिक जिम्मेवार हुन् कि होइनन् भन्ने प्रश्न छ, स्मरणीय रहोस् कि रविले टेलिभिजन छोडिसकेपछि सहकारीको विवाद सतहमा आएको हो । रवि टीभीको प्रवन्ध निर्देशक रहुञ्जेलसम्म कोही पनि पीडित भयौं भनेर आएका थिएनन् । अथवा त्यतिबेलासम्म कोही ठगिएका पनि थिएनन् । आफू कम्पनीबाटै बाहिर आइसकेपछि भएको स्क्याममा उनलाई कसरी जिम्मेवार ठहर्याउने ?
रविको आलोचना गर्ने अनेक विषय होलान् । उनका सयौं कमजोरी होलान् । नगरेको गल्तीमा जबरजस्ती मुछ्नु ठीक होइन । यसबाट सञ्चारमाध्यमलाई क्षणिक आत्मरति त मिल्ला । तर, दीर्घकालमा घाटा हुने पनि उनीहरुलाई नै हो । जस्तो कि रविले उपचुनाव लड्नुअघि पनि उनीविरुद्ध रविले भन्ने गरेका १२ भाइवाला मिडियाबाट यस्तै आलोचनाको आँधीबेरी सिर्जना गरिएको थियो । तर, त्यसले रविलाई घाटा होइन, फाइदा भयो । पहिलेभन्दा बढी भोट ल्याएर जिते ।
१२ भाइ नामका दलालहरूले यो देश बिगारेका हुन् ।
याे लेख यसै पनि छद्मनामी त छ नै त्याे भन्दा बढी याे लेख संकास्पद छ । कम्मनीकाे शेयर सदस्यले कम्मनीकाे दायित्व बाेक्नु नै पर्छ छद्मनामीलाइ यति त थाहा पनि हुनु पर्ने । अर्काे अबैध लाेन पनि भन्ने फेरी युराेप देखाएर सही हाे भन्ने पुष्टी गर्न खाेज्ने ? उनकै नामा लाेन सेटल हुने अनि रबी चाेखाे हुने ?
रबीले अरूका वारेमा यति पाएकाे भए उसकाे कार्यक्रममा के के मात्रै भनेर सराप्ने थिए ? छद्मभेषिका इष्ट देबता हुन् रबी ??