चितवनबाट अपहरणमा परेका व्यक्तिको भारतमा उद्धार, ६ जना भारतीय पक्राउ
काठमाडौं । आफू अपहरणमा परेको भन्दै ६ लाख रुपैयाँ फिरौती पठाउन भनेका व्यक्तिलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।
चितवनका कृष्ण थापा र दीपेन्द्र महतलाई भारतको सितामढीबाट सकुशल उद्धार गरिएको रौतहट प्रहरीले जनाएको छ । पुस ५ गते घरमा महतसँगै निस्किएका थापाले दुई दिनपछि श्रीमतीलाई भिडियो कल गर्दै आफू अपहरणमा परेको बताएका थिए ।
अपहरण मुक्त हुनका लागि अपहरणकारीले ६ लाख रुपैयाँ मागेको उनले बताएका थिए । त्यसपछि पीडितका आफन्त प्रहरीकहाँ पुगेका थिए । भारतीय प्रहरीले मंगलबार अपहृतको उद्धार गरेको हो । उनीहरुलाई रौतहट प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
उनीहरुलाई अपहरण गरेको आरोपमा ६ जना भारतीय पक्राउ परेका छन् । पक्राउ परेका सबै भारतको सितामढीका हुन् । प्रहरीका अनुसार थापा र महत पुस ५ गते रौतहट जाने भन्दै मोटरसाइकलमा निस्किएका थिए । घटनाबारे सितामढी प्रहरीले अनुसन्धान गरिरहेको छ ।