प्रचण्ड सरकारको समीक्षा गर्दै कांग्रेस, मन्त्रीहरूको ‘रिपोर्ट कार्ड’मा केन्द्रीय समिति बैठकमा प्रश्नोत्तर
काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समीक्षा गर्ने भएको छ ।
भोलिबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा सरकारको समीक्षाका साथै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुसँग रिपोर्ट कार्ड माग्ने भएको छ ।
आज धुम्वाराहीमा भएको छलफलले भोलिको बैठकको एजेण्डा तय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । देउवाले बैठकको एजेण्डा टुंग्याउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका थिए ।
भोलिको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले एक वर्षसम्म आफूले गरेको कामको प्रगति विवरण बुझाउने उनले बताए ।
प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘भोलि मन्त्रीज्यूहरुले आफ्नो रिपोर्ट बुझाउनुहुन्छ । उहाँहरुको प्रगति विवरण सुनेपछि केन्द्रीय सदस्य साथीहरुले उहाँहरुलाई प्रश्नोत्तर गर्नुहुन्छ ।’
बैठकमा मन्त्रीहरुले दिएको जवाफमा चित्त बुझे राम्रो, नबुझे त्यहीअनुसारको निर्णय बैठकले लेख्ने उनले बताए ।
प्रचण्ड नेतृत्वको सरकारप्रति संस्थापन पक्ष नरम रुपमा प्रस्तुत भए पनि इतर पक्ष कडा रुपले प्रस्तुत हुने तयारीमा छ । इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला यो सरकारको विकल्प खोज्न ढिला गर्न नहुने पक्षमा छन् ।
उनीमात्रै नभइ महामन्त्रीद्वय थापा र शर्मा, अर्का नेता प्रदीप पौडेललगायत अधिकांश नेताहरु सरकारको नेतृत्वप्रति मात्रै नभइ पार्टीबाटै सरकारमा गएका मन्त्रीहरुको कामप्रति सन्तुष्ट छैनन् । त्यसो त अहिले उपप्रधान तथा रक्षा मन्त्रालय लिएर पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेका पूर्णबहादुर खड्कासँग देउवा पनि सन्तुष्ट नभएको बताइन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई हटाउने तयारी गरेका थिए । हिजो आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै काम गर्न नसके मन्त्रीले मात्रै नभइ आफूले पनि ठाउँ ओगटिराख्न नहुने बताएका थिए ।
तर, देउवाले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै गर्ने अडान लिएपछि प्रचण्ड पनि रोकिएको नेताहरु बताउँछन् । यद्यपि, यो केन्द्रीय कमिटीको बैठकले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर गर्ने निर्णय नगर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले प्रष्ट्याए ।
यस्तै, बैठकमा राष्ट्रियसभाको उम्मेदवारको मापदण्ड पनि तयार पार्ने उनले बताए । कांग्रेसमा अहिले शीर्ष नेताहरुले नै राष्ट्रियसभामा जाने आकांक्षा गरेपछि उम्मेदवार छान्न सकस परिरहेको छ । प्रत्यक्षतर्फ चुनाव हारेका कृष्णप्रसाद सिटौलादेखि समानुपातिकमा बसेका गोपालमान श्रेष्ठसहित शीर्ष नेताहरुले राष्ट्रियसभामा जाने आकांक्षा राखेका छन् ।
तर, कांग्रेसमा चुनाव हारेका र समानुपातिकमा बसेकालाई राष्ट्रियसभामा ल्याउन नहुने चर्को आवाज उठेको छ । त्यसबारे भोलि सुरु हुने बैठकले मापदण्ड बनाउन लागेको हो ।
यस्तै बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनादेखि आगामी महासमितिको बैठकलगायतको विषयमा पनि छलफल हुने बताइन्छ । कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि गर्ने निर्णय भएको छ ।