एमालेको संकल्प यात्रामा दूरदेशबाट एकाकार हुँदा – Nepal Press

एमालेको संकल्प यात्रामा दूरदेशबाट एकाकार हुँदा

म पूर्वी नेपालको पहाडी जिल्ला तेह्रथुममा जन्मे हुर्केको हुँ । एमालेका अध्यक्ष केपी ओली पनि तेह्रथुममै जन्मेका हुन् । समयका छालहरूसँग बग्दै र हुत्तिँदै पहाडबाट मधेशको सुनसरी र पछि भक्तपुर बालकोटमा केपी ओलीकै छिमेकी बन्न आइपुगेको म हाल एउटा अन्तर्राष्ट्रिय गैरराजनैतिक विकासे संस्थामा काम गर्छु, नेपालबाट करिब ६ हजार किलोमिटर टाढाको एउटा टापु देशमा ।

म एमालेको कार्यकर्ता नै त होइन । तर, राजनैतिक चेतनाविहीन मानिस पनि होइन । आफ्ना व्यक्तिगत प्रस्तुतिहरूमा समेत भरसक राजनैतिक आवद्धता नदेखियोस् र त्यसले आफ्नो पेशागत जीवनलाई असर नगरोस् भनेर अक्सर सचेत हुने गर्छु । तर, म एक खाँटी पहाडे नेपाली हुँ र मेरो मनमा पहाडप्रति विशेष स्थान छ, आग्रह छ ।

केही महिनाअघि छ्यास्स समाचारमा एमालेले पुष्पलाल राजमार्गको पश्चिम झुलाघाटदेखि पूर्व चीवा भञ्ज्याङसम्म राजनैतिक यात्रा अभियान चलाउने भन्ने सुन्दा यो एउटा सनातनी तर अलि लामो राजनैतिक कार्यक्रम होला जस्तो लागेको थियो । तर, जसै यो संकल्प यात्रा शुरु भयो, यस यात्राले नेपालको सम्पूर्ण पहाडलाई जुरुक्कै बोकेको देखियो । यात्राको शुरुदेखि नै पहाडले पनि यो यात्रालाई हार्दिकतासाथ अंकमाल गरेको देखियो ।

भलै यो एक राजनैतिक पार्टीले सञ्चालन गरेको अभियान थियो, तैपनि मलाई शुरुदेखि नै यो यात्रा एमालेको मात्रै हो जस्तो लागेन । यो यात्राले राष्ट्रिय आवश्यकतालाई छोएको जस्तो लाग्यो, राष्ट्रकै अभियान जस्तो लाग्यो ।

शुरुको दिनमै बैतडीको गोठलापानीमा जम्मा भएका हजारौं पहाडेसँग म पनि नजानिँदो किसिमले भावनात्मक रुपमा एकाकार भएको अनुभुति गरें । तत्पश्चात हरेक दिनका हरेक सभा, भेला र भेटघाटहरूमा मैले आफूलाई भावनात्मक रुपमा समाहित गरिरहें, यात्रासँगै उद्वेलित भइरहें ।

यसपल्ट एमालेले पहाडको त्यही मर्मलाई ठ्याक्कै समायो र अत्यन्तै महत्व दिएर एउटा महाअभियानका साथ पहाडलाई जगाउन कस्सियो । त्यसलाई नेतृत्व दिन केपी ओली अग्रसर भए । केपी ओलीले साहस देखाए, पहाडले आत्मीयता देखायो । यात्रा स्वयं केपी ओली र एमाले पंक्तिहरूले सोचेभन्दा पनि भव्य, सार्थक र ऐतिहासिक हुनपुग्यो ।

हजारौं किलोमिटर टाढाबाट आखिर किन मलाई यो यात्रामा आफू पनि सँगै छु जस्तो लाग्या होला ? के एमालेप्रतिको सापेक्षिक झुकावले मात्र मलाई यस्तो भएको होला त ?

त्यस्तो लाग्दैन ।

करिब ४० वर्षयता नेपालको पहाड क्रमशः परित्यक्त, महत्वहीन र निरास जस्तो भइराखेको थियो । भौतिक विकासले पहाडलाई विकटताबाट सुगमतातिर डोर्‍याउँदै ल्याए पनि तीव्र बसाइसराइ र युवा जनशक्तिको पलायनले पहाड जीवनहीन जस्तो प्रतीत भइरहेको थियो । यस्तो अवस्थामा पहाडलाई जगाउन, पहाडको आत्मसम्मान फर्काउन केही न केही गर्नैपर्ने भइसकेको थियो ।

यसपल्ट एमालेले पहाडको त्यही मर्मलाई ठ्याक्कै समायो र अत्यन्तै महत्व दिएर एउटा महाअभियानका साथ पहाडलाई जगाउन कस्सियो । त्यसलाई नेतृत्व दिन केपी ओली अग्रसर भए । केपी ओलीले साहस देखाए, पहाडले आत्मीयता देखायो । यात्रा स्वयं केपी ओली र एमाले पंक्तिहरूले सोचेभन्दा पनि भव्य, सार्थक र ऐतिहासिक हुनपुग्यो । र, म जस्तै लाखौं पहाडेको मनमा यो यात्रा पूर्ण रुपमा ‘रेजोनेट’ भयो ।

समकालीन नेपालका राजनीतिज्ञहरूमध्ये केपी ओली धेरै मानेमा फरक छन् । काम गर्ने उनको आफ्नै शैली छ, सोच्ने आफ्नै तरिका छ र जनतासँग संवाद गर्ने उत्कृष्टता पनि उनको एकदम मौलिक छ । उनीसँग एमालेको विशाल संगठन छ, जनताको ठूलो समर्थन छ, यद्यपि उनका कटु आलोचकको संख्या पनि कम छैन । उनको छुट्टै राजनीतिक उचाइ, इतिहास र परिचय छ । केपी ओली सफल असफल जे छन्, त्यति मात्रै पनि एउटा राजनैतिक नेताले आफू करियरको संतृप्तिमा पुगेको अनूभूति गर्न पर्याप्त हुन्छ ।

तर, केपी ओली अझै सन्तुष्ट देखिँदैनन् । सायद केपी ओली अरूको कारणभन्दा पनि आफैंसँग असन्तुष्ट छन् । आफैंले तोकेको आफ्नै क्षमताको ‘बेन्चमार्क’लाई केपी ओलीले सायद अझै छुन बाँकी नै छ ! त्यसैले उनमा एउटा भिन्दै र असीमित हुटहुटी छ कि जस्तो लाग्छ । उनी कालजयी, फरक र दूरदूरसम्म देखिने र सुनिने कार्य गरेर आफ्नो मनको त्यो अतृप्त हुटहुटीलाई मेट्न चाहन्छन् कि !

त्यस्तै हुटहुटीले मात्र मान्छेलाई दुस्साहस गर्न उक्साउँछ । केपी ओलीको यो दुस्साहसी यात्रा योजना उनको त्यही हुटहुटीको उपज हो । सामान्य मान्छेकै लागि पनि १८-२० दिनसम्म निरन्तर विकट पहाडी सडकमा यात्रा गर्ने कुरालाई स्वाभाविक मान्न सकिँदैन । उनको स्वास्थ्य, शारीरिक अवस्था र उमेर हेर्दा केपी ओलीका लागि त्यस्तो यात्रा एउटा दुस्साहस नै मानिनुपर्छ ।

मलाई पहाडसँग भेट गराउन अक्सर भावनाका केही शब्दमात्र उपलब्ध हुन्छन् । तर, केपी ओलीहरूले आफूसँग भएको विशाल दल, कार्यकर्ता र ऊर्जा प्रयोग गरेर यस पल्ट पहाडसँग एउटा सार्थक र ऐतिहासिक भेट गरे र म जस्ता कैयौ पहाडेहरूको मन जिते ।

म केपी ओली जस्तो राजनीतिक प्राणी होइन, सामान्य मानिस हुँ । पेशागत रुपले जे भए पनि, जहाँ गए पनि आफ्नो प्यारो पहाडको सुन्दर तस्वीरलाई मातृभूमिको रुपमा हृदयमा सजाएर राखेको छु मैले । केपी ओलीको जन्मभूमि पनि पहाड नै हो । उनमा पनि पहाडप्रति अतिरिक्त आशक्ति होला नै ! आखिर आफ्नो जन्मभूमि कसले भुल्नसक्छ ? आफ्नो हृदयमा समेटेको पहाडको दुरुह अवस्था देखेर म जस्तो सर्वसाधारण समेत कैयौ पल्ट दुःखी भएको छु । परदेशतिर बसाइ हुँदा मलाई आफ्नो प्रिय पहाडको सम्झनाले अत्याउँछ र लेख्ने गर्छु-

शिखरशीला त्यो मेरो नेपाल, गुराँस थुँगाको
कस्तुरी डुल्ने ती डाँडापाखा, चप्लेटी ढुंगाको
स्मृति मीठो आंतैमा खोपिछोडेर आको छु
मुटुमा रोपी देशको माया गोडेर आको छु ।

थाहा छ मलाई के फुल्छ सधैं तीनजुरे पाखामा
विरह बनी के बग्छ सधैं रसिला आँखामा ।
म टाढा हुन्न ती आँखाबाट ओझेल परेर
फर्केर आउँछु म हैन गा’को बसाइ सरेर ।

म जहाँ जाउँ जन्मेको ठाउँ यादैमा हुनेछ
झुकेर सधैं त्यो प्रिय धर्ती श्रद्धाले छुनेछ ।
फर्केर फेरि धरणीलाई अंगालो हालौला
मझेरीबाट अँधेरो मेट्न दियालो बालौला ।

नदेऊ बिदा, नगर साइत, नठान पराइ
म कहा बसुँ, मारेर माया त्यै घर नआइ ।
म टाढा छैन, यो मुटु त्यही बसेको हुनेछ
जननीलाई सम्झँदा आँसु खसेको हुनेछ ।

हृदय दिने उदार मेरा हितका दौंतरी
ती बाटैभरि पर्खेर बस्ने शीतल चौतारी
गुञ्जन्छ सधैं कानमा तिनले बोलाइरहे झैं
देख्दछु सधैं त्यो जन्मभूमि टोलाइरहे झैं ।

म नदी जस्तै बगेर जान्छु क्षितिज फोडेर,
किनारभरि सुसेली बतास कोसेली छोडेर
चाँडै नै यौटा अनन्त सागर भेटाइ आउनेछु
जगतैलाई सिन्चने तिर्खा मेटाइ आउनेछु ।

केपी ओली र एमालेका तमाम पहाडे पंक्तिहरूलाई पनि पहाडको अवस्थाले मैलाई जस्तै पिरोल्दो हो । मलाई पहाडसँग भेट गराउन अक्सर भावनाका केही शब्दमात्र उपलब्ध हुन्छन् । तर, केपी ओलीहरूले आफूसँग भएको विशाल दल, कार्यकर्ता र ऊर्जा प्रयोग गरेर यस पल्ट पहाडसँग एउटा सार्थक र ऐतिहासिक भेट गरे र म जस्ता कैयौ पहाडेहरूको मन जिते ।

पहाडको मेरो जन्मघर बेचेरै हाम्रो परिवार मधेश बसाइ सरेका हो । तर, त्यो घर, त्यो बारी पहाडमा अझै पनि छँदैछ । एमालेले सञ्चालन गरेको यो यात्राकै असर भनौं, यो यात्राको समापनपश्चात मैले त्यो घर खरिद गर्नुहुने महानुभावलाई खबर पठाएको छु- उचित मूल्यमा म मेरो जन्मघर पुनः खरिद गर्न चाहन्छु । उहाँहरूले पनि सल्लाह गरौंला भन्नुभएको छ ।

एमालेको यो ऐतिहासिक पहाड यात्राको बीचमा आफूलाई उभ्याउन एमालेहरू मात्र आएनन् । हजारौं गैरएमालेहरू पनि यो यात्राका साक्षी बन्न चाहे । पहाडलाई पुनर्जीवन दिने राष्ट्रिय आकांक्षाको गुवो समाएको हुनाले यो यात्राप्रति हजारौं मानिस दल निरपेक्ष रुपमा नै आशावादी हुँदै अपनत्ववोधका साथ सहभागी भएका हुन् । त्यसैले यो अभियानको दलीय आँखाले मात्र मूल्यांकन गर्नु तुच्छ हुन जान्छ ।

यस यात्राका दौरान पहाडी इलाकाहरूमा हजारौंको उपस्थितिमा ऐतिहासिक र ठूला सभाहरू सम्पन्न भए । ती सभाहरूमा भाग लिन तराई मधेशका स्थानहरूबाट समेत हजारौं मान्छे गए । पहिले पहिले यस्ता सभाहरूमा भाग लिन पहाडबाट हजारौं जनता मधेश झर्थे, यसपाला हजारौं जनता मधेशबाट पहाड चढे । पहाडको पुनर्जागरणको लागि यो आफैंमा एक महत्वपूर्ण परिदृश्य भयो, एउटा कल्पनातीत विम्ब जस्तो भयो ।

यस अभियानलाई दलीय अभियान भनेर नजरअन्दाज गर्न नखोजिएको पनि होइन । एकदुई छिटफुट घटनालाई सनसनीखेज बनाएर यस यात्राको ओजलाई तौहिन गर्न नखोजिएको पनि होइन । तर, यो यात्रालाई नजरअन्दाज गर्न चाहनेले पनि नजरअन्दाज गर्न सकेनन् । विवादित बनाउन वा विथोल्न खोज्दा यसले उल्टै अझ बृहत रुप लियो । जनताको चासो र उत्सुकताका अघि आलोचक र विरोधीहरूको पनि केही सीप लागेन । यात्रा सानदार र ऐतिहासिक रुपमा सफल देखियो ।

यस यात्राबाट सिर्जित भाव तरंगले मलाई अझै छाडेको छैन । यात्राको अन्तिम पढावतिर तेह्रथुम बसन्तपुरमा उपस्थित हजारौं मानिसहरूलाई समाजिक सञ्जालमा नियाल्दै गर्दा मैले उहिल्यै त्यही बसन्तपुर बजारमा नूनतेल गरेको सम्झिएँ, त्यही बसन्तपुर हुँदै तराई बसाइ सरेको पनि सम्झिएँ ।

मेरो सम्झना बसन्तपुरबाट भुल्के, लम्बुखोला च्याक्चे र लसुने बजार हुँदै ४ घण्टा पैदलै हिँडेर सोल्मास्थित मेरो जन्म घर पुगेर अडियो । पहाडको मेरो जन्मघर बेचेरै हाम्रो परिवार मधेश बसाइ सरेका हो । तर, त्यो घर, त्यो बारी पहाडमा अझै पनि छँदैछ । एमालेले सञ्चालन गरेको यो यात्राकै असर भनौं, यो यात्राको समापनपश्चात मैले त्यो घर खरिद गर्नुहुने महानुभावलाई खबर पठाएको छु- उचित मूल्यमा म मेरो जन्मघर पुनः खरिद गर्न चाहन्छु । उहाँहरूले पनि सल्लाह गरौंला भन्नुभएको छ ।

आशा छ, मेरो पहाडलाई, मेरो मातृभूमिलाई, मेरो जन्म घरलाई म चाँडै पुनः प्राप्त गर्नेछु । त्यो दिन एमालेले सञ्चालन गरेको यो पहाडी संकल्प यात्रा अझ अर्थपूर्ण हुनेछ- मेरो जीवनमा ।


प्रतिक्रिया

One thought on “एमालेको संकल्प यात्रामा दूरदेशबाट एकाकार हुँदा

  1. मेराे घर दाङ्ग उपत्यका मै भए पनि म पहाड मै जन्मिएकाे हुँ । बर्षकाे ६ महिना ( वैशाख-आश्विन) पहाड जस्लाई हामी काेट भन्ने गर्थ्याै र ६ महिना उपत्यका दाङ्ग(कार्तिक- चैत) गरेर वितायाे । काेट बस्न छाेडेकाे ६० बर्ष भयाे । अहिले पनि त्यहाँ पैदल जानु पर्दछ ।उमेर अनुसार दुई देखि चार घण्टा लाग्छ । मैले वाल्यकाल विताएकाे त्याे ठाउँ प्रतिकाे संझना मात्र हाेइन श्रध्दा पनि छ अहिले पनि । कहिले काहीँ पैदलै पुग्छु तर त्याे ठाउँकाे विकासका लागि भनसुन बाहेक केही गर्न सक्ने अवस्थामा छैन ।
    म पनि संझने गर्छु
    अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण राेचते ।
    जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *