निःशुल्क माटो परीक्षणमा किन आउँदैनन् किसान ? – Nepal Press

निःशुल्क माटो परीक्षणमा किन आउँदैनन् किसान ?

रुपन्देही । किसानका लागि माटो परीक्षण अत्यन्तै जरुरी विषय हो । कुन माटोमा कुन खेती लगाएर प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा किसानहरूले जान्न नपाएका कारण लगानी अनुसारको उत्पादन हुन सकेको छैन तर यो विषयमा किसान सचेत अझै हुन सकेका छैनन् ।

स्थानीय सरकारमै कृषिको इकाई पुगे पनि अझै पूर्ण रूपमा किसानहरूलाई त्यसो सचेतना पुग्नै सकेको छैन । अहिले लुम्बिनी प्रदेशको कृषि निर्देशनालयले विभिन्न स्थानमा निःशुल्क माटो शिविर सञ्चालन गरेको हुन्छ तर किसानको सहभागिता अत्यन्तै कम रहेको त्यहाँ रहेका प्राविधिकहरू बताउँछन् ।

बुटवलमा जारी रहेको लुम्बिनी एक्स्पोमा माटो प्रयोगशालामा यसको व्यवस्था गरिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा बाँकेबाट पुस ९ गतेदेखि १३ गतेसम्म निःशुल्क माटो परीक्षण प्रयोगशाला सञ्चालन गरिएको हो ।

किसानबाट संकलन गरिएको माटोको अवस्थाको विषयमा परीक्षण गरी निःशुल्क रूपमा किसानलाई प्रदान गर्ने सेवा राखिए पनि सूचनाको अभाव र किसानकै कम चासोले त्यो प्रभावकारी हुन सकेको छैन । बुधवारसम्म १२६ किसानको मात्रै माटो परीक्षणका लागि आएको प्राविधिकले बताएका छन् ।

किसानले ल्याएको माटोको नमुना परीक्षण गरेर माटोमा अम्लीय अवस्था वा क्षारीय अवस्था वा कुन प्रकारको माटो छ, सुधारको लागि गर्नुपर्ने कामसहित माटो अनुसार वीउविजन लगाउने सल्लाह सुझाव दिने गरी यो व्यवस्था गरिएको कृषि पेभिलियन संयोजक मेघराज पौडेल बताउँछन् । पुस ५ गतेबाट सुरु भएको मेलामा कृषितर्फको लागि छुट्टै पेभिलियनको व्यवस्था गरिएको छ । यहाँ प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको विवरण, त्यहाँबाट उत्पादित विभिन्न पुस्तक तथा सामग्रीहरू, छेवैमा उत्पादित भिडियो डकुमेन्ट्रीसमेत प्रसारण गरिएको छ ।

छेवैमा कृषि विकास निर्देशनालयको स्टल छ । कृषि अधिकृतस्तरका एक जना कर्मचारी र कार्यालय सहयोग गरी २ जना स्टलमा बसेका छन् । किसानले केही कुराको जिज्ञासा राखेमा अधिकृतस्तरका कर्मचारीहरूले विषय बस्तुबारेको ज्ञान प्रदान गर्दछन् भने जुन विषयमा किसानले जिज्ञासा राखेका हुन त्यो कार्यालय, विषय विज्ञको फोन नम्बर समेत उपलब्ध गराउँछन् । किसानलाई यसको सूचना पुराउन सबै स्थानीय तहलाई जिम्मेवारी दिए पनि धेरैले ल्याएकै छैनन् ।

माटो परीक्षणका लागि अहिलेसम्म धेरै रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट आएका छन् । कृषि पेभेलियनमा जिल्लागत रूपमा उत्पादन गरिएका सामग्रीहरूको प्रदर्शनी, कक्ष स्थापना गरिएको छ । यसको सबै चाँजोपाँजो प्रदेशको कृषि मन्त्रालयले गरेको हो । तराईको उत्पादनदेखि पूर्वी रुकुम हिमाली जिल्लासम्मको उत्पादनको प्रदर्शनी राखिएको कृषि विकास निर्देशनालय बुटवलका प्रमुख रामप्रसाद पाण्डे बताउँछन् ।

मेला आयोजक संस्थासँगको सहकार्यमा किसानहरूको लागि जानकारीमूलक, किसानको उत्पादन प्रवर्द्धनको लागि यस्तो प्रकृतिको प्रदर्शन गरिएको उनको भनाई रहेको छ । प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका मातहतका कार्यालयबाट पनि आ–आफ्ना कार्यालयको कार्यगत जानकारी सहितको डेमो समेत प्रदर्शन गरेको छ ।

कुखुरा विकास फार्मबाट उन्नत जातको कुखुराको समेत त्यहाँ प्रदर्शनी गरिएको हो । कृषितर्फ बाली विशेषतर्फ पाल्पाको सुन्तलादेखि गुल्मीको सुन्तला, जुनार, किबीसमेत बिक्रीको लागि राखिएको हो । रुकुमपूर्वको हिमाली जिल्लाबाट त्यहाँ उत्पादित राडीपाखीको बिक्रीसँगै डेमो अहिले दर्शकको आकर्षण बनेको छ ।

प्रदेशमा रहेका संघीय कार्यालय मत्स्य संरक्षण तथा प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासहित प्रदेशको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रवर्द्धनमा देशकै प्रख्यात छपियाको माछाको समेत परिकारसहित विक्रीस्थल छ । एक्स्पोमा कृषि यान्त्रीकरण प्रदर्शनी छ ।

छुट्टै स्थानमा सुपरसिडर, रिपर, लगायतका यन्त्र तथा उपकरणहरूको प्रदर्शन गरिएको छ । अन्य बेलामा उपकरण मात्रै राखिने गरिएकोमा यो पटक भने उपकरणको नाम, काम, लगायतको विशेषता समेत उल्लेख गरी विवरण राखिएकाले धेरैलाई सहज भएको कृषि उपसमितिका सदस्य बाबुराम खनाल बताउँछन् ।

उनले सबै जिल्लाका विशेष उत्पादन तथा त्यो बारे जान्ने प्रविधि तथा माटो निःशुल्क परीक्षणले किसानलाई सहज बनाउने भए पनि अझै धेरै किसान आउन नसकेको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *