प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेका उद्योगलाई धक्का, ताजा वित्तीय अवस्था सार्वजनिक गर्न सुझाव – Nepal Press

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेका उद्योगलाई धक्का, ताजा वित्तीय अवस्था सार्वजनिक गर्न सुझाव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरे बापत अर्बौको बक्यौता रहेको भन्दै धमाधम लाइन काटेपछि उद्योगहरूले अहिले दैनिक करोडौ घाटा व्यहोरिरहेका छन् । विशेष गरी लगानीकर्तासँग अंकित मूल्यमा थप शुल्क लिएर शेयर जारी गरेका कम्पनी करोडौ घाटामा छन् । यता प्रिमियम मूल्यमा शेयर जारी गर्न लागेका उद्योगहरूमा भने अन्यौलता छाएको छ ।

प्रिमियम मूल्यमा शेयर जारी गर्ने अनुमति पाएको सर्वोत्तम सिमेन्ट, शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको जगदम्बा स्टिल्स र रिलायन्स स्पिनिङ उद्योग बन्द गर्नुपर्दा घाटामा छन् । यसको प्रत्यक्ष असर उनीहरूको नेटवर्थमा पर्छ ।

केही दिन अघिमात्र प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति पाएको सर्वोत्तमको शेयर पनि अलमलमा परेको छ । सर्वोत्तले प्रतिकित्ता ३६०.९० रूपैयाँमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल ३६ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ । दैनिक घाटाले कम्पनीको ब्यालेन्ससिटमा हिट गर्ने र यस खालको नोक्सानले लगानीकर्तामा भार पर्ने एक विज्ञले बताए ।

अर्का विज्ञ मुक्ति अर्यालले प्रिमियम मूल्यमा शेयर जारी गर्न लागेका कम्पनीले फेरी अर्को विवरणपत्र सार्वजनिक गरेर कम्पनीको वास्तविक अवस्था लगानीकतासम्म ल्याउनुपर्ने बताउँछन् ।

उनी भन्छन, ‘अहिले आईपीओ जारी गर्न लागेका कम्पनी करोडौ घाटामा छन् सो घाटा हरेक दिन बढ्दो छ, सम्बन्धित कम्पनीले कम्पनीको पछिल्लो वित्तिय अवस्था यस्तो छ भनेर सार्वजनिक गर्नुपर्छ ।’

नियामक (नेपाल धितोपत्र बोर्ड) ले पनि अर्को विवरणपत्र सार्वजनिक गर्न लगाउनुपर्ने उनको तर्क छ ।

यता नियामक नेपाल धितोपत्र बोर्डका अधिकारीहरू भने आईपीओ निष्कासनका लागि स्वीकृत पाएका कम्पनीले तात्विक असर पर्ने विषय खुलाउनुपर्ने बताउँछन् । अनुमति नपाइसकेको हकमा भने फेरि विवरणपत्र माग गर्न सकिने बताएका छन् । यद्यपि यस विषयमा बोर्डमा छलफल भएको छैन । लामो समय बन्द भए यस विषयले पनि प्रवेश पाउने ती अधिकारीले बताए ।

आईपीओ निष्कासनको स्वीकृति पाएको सर्वोत्तमका विष्णु न्यौपानेले भने शेयरको आफ्नै प्रक्रिया भएकाले निष्कासन हुने जनाएका छन् । तर, कम्पनी नै घाटामा गएपछि त्यस्ता कम्पनीको शेयर बढी मूल्य तिरेर किन्नु परे लगानीकर्ताको लगानी कतिको सुरक्षित छ भन्ने प्रश्न उब्जिएको छ ।

यता दैनिक करोडौ घाटा व्यहोरिरहेको जगदम्बाले पनि सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर जारी गर्दैछ । कम्पनीले २ करोड ७० हजार कित्ता ६ अर्ब २१ करोड रुपैयाँमा निष्कासन गर्दैछ । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता २ सय रूपैयाँ प्रिमियम जोडेर २ करोड ७० लाख कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्दैछ । लाइन काटिदिँदा जगदम्बा स्टिलले दैनिक २ करोड ५० लाख रुपैयाँभन्दा बढी घाटा व्यहोर्दै आएको कम्पनीले जनाएको छ ।

यता रिलायन्स स्पिनिङ मिल्स पनि आईपीओ निष्कासनको चरणमा छ । रिलायन्सले बुक बिल्डिङ प्रक्रियाबाट ७ लाख ७० हजार ६ सय ४० कित्ता आइपिओ जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । उद्योगी शशिकान्त अग्रवालका अनुसार उद्योगको मासिक घाटा १० करोड पुग्न सक्ने देखिएको छ । अहिले यो उद्योग पनि बन्द छ ।

विद्युत प्राधिकरणले लाईन काटेपछि अहिले सरकार र उद्योगी व्यवसायीबीच डेडिकेटेड र ट्रंक लाईनको महशुल तिर्नुपर्ने वा नपर्ने भन्नेमा विवाद चर्किएको छ । सरकारी निकाय उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंक लाइन बापतको बक्यौता रकम उठाउन हात धोएर लागेको छ । यता निजी क्षेत्र भने प्रयोग नै नगरेको बिजुलीको शुल्क नतिर्ने अडानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर