राष्ट्रियसभा निर्वाचनमा गठबन्धन भत्काउन असफल रहे ८ सीटमा खुम्चिनेछ एमाले, थाल्यो दलसँग संवाद
प्रत्येक क्लस्टरमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनको लागि अन्य दलहरुसँग संवाद थालेको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन भत्काउन नसके एक सीट पनि जित्न नसक्ने देखिएपछि अन्य दलसँग संवाद थालेको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एक्लै जित्ने अवस्था नभएपछि सबै दलहरुसँग संवादको चरणमा रहेको बताए ।
उनले भने, ‘हामी निर्वाचनको लागि दलहरुसँग संवादको चरणमा छौं । एक्लै जित्नसक्ने अंकगणित छैन । दलहरुबीच कुरा नमिले एक्लै लडेर आफ्नो मतको रक्षा गर्छौं ।’
एमालेले अहिले गठबन्धन भत्काउन कांग्रेसदेखि जसपासम्मलाई राष्ट्रियसभा निर्वाचनको लागि प्रस्ताव गरेको चर्चा छ । एमालेले कांग्रेसलाई राष्ट्रपतिबाट मनोनीत हुनेसहित रिक्त २० मा १३ दिएर बाँकी ७ सीट आफूले लिन तयार रहेको प्रस्ताव गरेको थियो । तर, त्यो प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सकारात्मक जवाफ दिएनन् ।
त्यसो त राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग पनि सहकार्यको सम्भावना रहेको बताइएको छ ।
दलहरुबीच संवादलाई जारी गर्दै एमालेले प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम १८ गतेभित्र सिफारिस गर्न सर्कुलर गरेको उनले बताए ।
प्रदेश कमिटीबाट क्लस्टरअनुसार सिफारिस भएर आएको केन्द्रले बैठक बसेर उम्मेदवार टुंगाउने उनले बताए ।
एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, मनोनीत विमला पौड्यालसहित भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया र रामचन्द्र राईको पदावधि सकिँदैछ ।
यो निर्वाचनमा गठबन्धन भत्काएर एक सीट पनि जित्न नसके राष्ट्रियसभामा एमाले ८ सीटमा खुम्चिनेछ । सत्ता गठबन्धन दलहरुबीच आफ्नो रिक्त भएको पद जोगाउँदै एमालेको ९ पदमा भागबन्डा गर्ने सहमति भइसकेको छ । यद्यपि, संख्या टुंग्याउन सकेका छैनन् ।
आगामी माघ ११ गते १९ पदका लागि हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता हुँदैछ ।