दीपेन्द्रकी बहिनी राजमतीले देखाइन् दाइको जस्तै छनक- प्रधानमन्त्री कपमा चौका छक्काको वर्षा
काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्रसिंह ऐरीकी बहिनी राजमती ऐरी प्रधानमन्त्री कप टी-२० प्रतियोगितामा चम्केकी छन् । उनले हिजो भएको खेलमा कर्णाली प्रदेशविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै नेपाल एपीएफ क्लवलाई प्लेअफमा पुर्याइन् ।
एपीएफले कर्णालीलाई ९२ रनको विशाल अन्तरले हराएको हो । पहिले ब्याटिङ गरेको एपिएफले १६१ रनको मजबुत स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा कर्णालीले ८ विकेट गुमाएर ६८ रन मात्र जोड्न सक्यो ।
एपीएफबाट ओपनरको भूमिकामा उत्रिएकी राजमतीले ५५ बलमा २ छक्का र ९ चौकासहित ६७ रन बनाइन् । दाई दीपेन्द्रको जस्तै हिटिङ क्षमता देखाएकी उनले बाउन्ड्रीबाटै ४८ रन जोडेकी थिइन् ।
अर्की ओपनर ममता चौधरीले उनलाई बलियो साथ दिइन् । राजमती र ममताबीच पहिलो विकेटका लागि ११७ रनको साझेदारी भएको थियो । ममताले ५५ बलमा ८ चौकासहित ६२ रन बनाइन् ।
राजमती र ममताको जोडी १५.६ ओभरमा टुटेको थियो । राजमती अन्तिम ओभरको चौंथो बलमा आउट भइन् । उनलाई त्रिसना विश्वकर्माले बोल्ड गरेकी थिइन् । राजमतीले बनाएको ६७ रन यो प्रतियोगितामा तेस्रो सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो ।
जारी प्रधानमन्त्री कपमा राजमतीको यो दोस्रो म्याच मात्र हो । यसअघिका चारमध्ये तीनवटा खेलमा उनी प्लेइङ ११ मा अटाएकी थिइनन् । लुम्बिनी प्रदेशविरुद्धको म्याचमा अवसर पाए पनि सफल भइनन् । चौंथो नम्बरमा ब्याटिङ गर्न आएकी उनी दुर्भाग्यपूर्णरुपमा रनआउट भएकी थिइन् ।
कर्णालीविरुद्धको म्याचमा भने एपीएफले आफ्नो रणनीति परिवर्तन गर्दै नयाँ ओपनिङ जोडीका रुपमा ममता र राजमतीलाई उतारेको थियो । यसअघि सिता रानामगर र ज्योती पाण्डेले ओपनिङ गर्दै आएका थिए ।
ओपनिङ जोडी फेर्ने निर्णय सही सावित पनि भयो । तर, आज जारी गण्डकी प्रदेशविरुद्धको खेलमा एपीएफले आश्चर्यजनकरुपमा राजमतीलाई फेरि बाहिर राखेको छ । इन्जुरी वा के कारणले उनलाई नखेलाइएको हो भन्ने खुलेको छैन ।
२१ वर्षीय राजमतीले यसअघि अन्डर १९ टीमबाट नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । अब उनको आँखा राष्ट्रिय टीमतर्फ छ । उनी ब्याचलर अध्ययनरत छिन् ।
दीपेन्द्रसिंह ऐरी र राजमतीका बुबाका दुई श्रीमती छन् । पहिलो श्रीमतीबाट दीपेन्द्रसहित तीन छोरा र एक छोरी छन् । दिपेन्द्र साईंला हुन् । कान्छी श्रीमतीबाट तीन छोरी र एक छोरा छन् ।