सहकारी महासंघमा पहिलो पटक इतिहास रच्ने सोचमा ओमदेवी – Nepal Press

सहकारी महासंघमा पहिलो पटक इतिहास रच्ने सोचमा ओमदेवी

काठमाडौं । नेफ्स्कुनको चुनाव सकिएलगत्तै सहकारी अभियानको सबैभन्दा माथिल्लो निकाय राष्ट्रिय सहकारी महासंघमा अध्यक्ष को हुने भन्ने चर्चा चुलिन थालेको छ ।

नेकपा एमालेका सहकारी विभाग प्रमूख खगराज अधिकारीले सहकारीका नेताको सुझावविपरीत बचत तथा ऋण सहकारी केन्द्रीय संघमा तत्कालीन अध्यक्ष परितोष पौडेललाई पुनः अध्यक्षमा उठाउँदा हार व्यहोरेका छन् । पार्टीको लाइन विपरीत नै गएर अधिकारीले आफ्नो अधिकार प्रयोग गरी नेफ्स्कुनमा पौडेललाई अध्यक्षको टिकट दिएका थिए ।

यता महासंघमा भने अहिलेसम्म अध्यक्षको दौडमा वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल मात्र देखिएकी छन् । नेफ्स्कुनको मत परिणामपछि वर्तमान अध्यक्ष मिनराज कँडेलले अध्यक्ष पदमा दोहोर्याउन रुचि नदेखाएपछि अध्यक्षको लाइनमा मल्ल एकमात्र दावेदार हुन् । उनी आफू अध्यक्षको दावेदार रहेको र नेकपा एमालेले पनि आफूमाथि अन्याय नगर्ने बताउँछिन् ।

महासंघका संचालक डिबी बस्नेत यसपाली महासंघमा वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल अध्यक्ष हुने बताउँछन् । उनले भने, ‘यसपालि महासंघमा महिला नेतृत्व आउने र इतिहास रच्ने सम्भावना प्रवल छ ।’
अर्को अध्यक्षको दावेदार को छन् र अरु कोही हुन पर्योनी ? बस्नेतले खुलेर भने, ‘यसपालि संविधानले अंगीकार गरेको हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सहकारी महासंघले व्यवहारमा लागू गर्नेछ ।’

बस्नेत मात्र हैन पछिल्लो समयम अधिकांश संचालक ओमदेवी अध्यक्ष हुनुपर्ने पक्षमा छन् । उनीहरुका अनुसार अहिलेको विकल्प ओमदेवी नै हो । सहकारीहरु समस्यामा हुँदा महासंघले अभिभावकत्व प्रदान गर्न नसकेको गुनासो छ ।

सहकारी क्षेत्रमा राजनीतिक पार्टीको हस्तक्षेप बढी हुने गरेको छ, तर पार्टीले हस्तक्षेप गर्दाको परिणाम नेफ्स्कुनमा देखिएकोले महासंघको चुनावमा सहकारी अभियानका नेताहरुको निर्णयअनुसार नेतृत्व चयन हुनेमा संचालकहरु विश्वस्त छन् ।

‘यसपालि महिलालाई अध्यक्ष बनाएर इतिहास रच्ने अवसर महासंघले पाएको छ’, यो अवसरको सदुपयोग जरुरी छ, महासंघकी एक महिला संचालकले भनिन्, ‘यदि ओमदेवी जीलाई अध्यक्ष नबनाएपनि उहाँलाई नै उम्मेदवार बनाएर हामी अगाडि बढ्ने हो । अब हामी पछाडि हट्नेवाला छैनौ ।’

महसंघका संचालक बस्नेत पनि यसपालि चुनाव नभएर सर्वसम्मतिमा नै ओमदेवीलाई नेतृत्व हस्तान्तरण हुने बताउँछन् । उनले भने, ‘चुनावको आवश्यकता छैन, मल्लजीलाई नै सर्वसम्मत अध्यक्ष बनाउनुको विकल्प पनि त छैन ।’

ओमदेवीसँग अन्तर्राष्ट्रिय सहकारी महासंघको संचालक समितिमा काम गरेको अनुभव छ । उनी अन्तर्राष्ट्रिय सहकारी महासंघको संचालकमा पुग्ने एसियाकै पहिलो महिला हुन् भने नेपालको पहिलो व्यक्ति हुन् । त्यस्तै संविधानसभा सदस्यको रुपमा संविधानमा नै सहकारीलाई अर्थतन्त्रकै एक खव्बाको रुपमा राख्न उनको ठूलो योगदान छ भने सहकारी ऐन र नियमावली बनाउनमा पनि उनको ठूलो हात रहेको छ ।

उनी सहकारी विषयमा नै भारतबाट डिप्लोमा कोर्ष गरेकी पहिलो सहकारी आभियन्ता हुन् । नेपालमा सहकारी अभियानमा उनको २५ वर्षको योगदान रहेको छ भने मल्ल राष्ट्रिय सहकारी महासंघमा २०६६ सालमा सन्चालक सदस्य हुँदै उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको पदमा रहेर जिम्मेवारी निभाई रहेकी छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा हालसम्म वर्तमान उपाध्यक्ष रमेश पोखरेलले मात्र दाबी गरिरहेका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट सुरेन्द्र भण्डारी र नेकपा एमालेबाट खेम पाठकले दाबी गरिरहेका छन् ।

महासंघको पुष २७ गते वार्षिक साधारणसभा र २८ गते चुनाव रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर